स्थलगत निरिक्षण गरी खाद्य सामाग्री हस्तान्तरण

दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको टोलि बाढी पहिरो पीडित ऋषिङ गाउँपालिका वडा नं. ८ भैसीकिली पुगेर स्थलगत निरिक्षण गरी खाद्य सामाग्री हस्तान्तरण गरेको छ । साथसाथै सो अवसरमा नगद समेत हस्तान्तरण गरियो । पीडितलाई राहत स्वरुप लगाउने कपडा समेत उपलब्ध गराइएको छ । यस अघि नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाले कोटदरबार उपशाखा मार्फत पीडितलाई पाँच सेट ननफुड आईडम राहत यथासमयमा पु¥याएको थियो ।
असार २८ गते आईतबार राती परेको अविरल बर्षाले सो स्थानमा पहिरो आएको थियो । मेसिन लगाएर घर माथिबाट खनिएको मोटर बाटो नै भैसिकिली बासिन्दाका लागि विपत्ती बनेर आएको स्थानीयको बुझाई रहेको छ ।
बुधबार काठमाण्डौबाट आएका शहीदपुत्र भरतकृष्ण श्रेष्ठले टोलीलाई भैसिकिली पु¥याउनु भएको थियो । श्रेष्ठले पीडित परिवारलाई तेल, चिनी, आलू, मसला, कपडा पु¥याएका थिए । नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरी र हाल जापानमा रहेका नेपाल विद्यार्थी संघका सदस्य सुनिल रिजालले पाँच÷पाँच हजार नगद मोहन गिरी माफर्त पीडित परिवारको हातैमा हस्तान्तरण गरेका
थिए । त्यसैगरी वडाध्यक्ष यमसारु मगर र पराशर कलेजका सहायक क्याम्पस प्रमुख मिनबहादुर कार्कीले एक÷एक बोरा चामल हस्तान्तरण गरेका थिए । आफ्ना पितामातासंग नसुतेर ठुली आमाको साथमा तल्लाघर सुत्न गएका कारणले संयोगले बाँच्न सफल अमिना थापालाई सूर्यचन्द्र हड्खलेले लगाउने कपडा दिएका थिए । त्यसैगरी दमौली स्थित श्रेष्ठ स्टोर्सका हर्कमान श्रेष्ठबाट एक बोरा भुजा राहत स्वरुप पीडित परिवारलाई पठाएका थिए ।
भैसीकिलीका आन बहादुर थापाको पत्नि ज्योती थापा, चार भाई छोरा मध्ये साहिलो भेषबहादुर थापा, उनकी श्रीमति नुनिसरा थापा, उनिहरुकी कान्छी छोरी अमिसा थापा, आनबहादुरको कान्छो छोरा महादेव थापा र उनकी पत्नि मनिसरा थापा घरमा सुतेको समयमा रातको साढे बाह्र बजेको समयमा घरमाथि पहिरो बज्रिएको आनबहादुर थापाले बताए । पहिरो आएको थाहा पाउने आनबहादुरको छातीमा ढुंगा लागेको भएपनि ठुलो मर्म नदेखिएको बताए । उनले विउँझाउँदा विउँझाउँदै पत्नि ज्योति थापा पहिरोमा परेर घाईते भएको बताए । तत्कालै उद्धार हुन सक्दा उनलाई बचाउन सकियो । दाहिने हात भाँचिएको अवस्थाका ज्योतिको अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भैरहेको छ ।
छोरा बुहारी र नातिनीलाई ब्यूझाउन मौकै नपाउँदा पहिरोले पुरिहाल्यो । भेषबहादुर थापा, नुनिसारा थापा, उनिहरुकी कान्छी छोरी अमिसालाई पहिरोले पु¥यो । आनबहादुरका कान्छो छोरा महादेव थापा र उनकी पत्नि मनिसरा थापालाई पनि पहिरोले पु¥यो । उद्धारबाट बचाउन सकिएन । करिव २० घण्टा सम्मको खोजी पछि २९ गते बत्ती बालेर करिब आठ बजेतिर चार जनाको लास ओछ्यानमा नै फोला पारेको स्थानीय हरिकुमार थापाले बताए । भेषबहादुर थापाको शब भने पहिरोले धकेलेर छेउमा पु¥याएको कारण विहान नौ बजेतिर नै फेला परेको थियो । घरमा रहेका २०÷२२ वटा कुखुरा पनि पहिरोमा पुरिएको आनबहादुर थापाले बताए ।
स्थागत निरिक्षण टोलिमा नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाका उपसभापति ऋषिराम पोख्रेल, सदस्य सूर्यचन्द्र हड्खले, नेपाली काँग्रेस तनहुँका सदस्य मोहन गिरी, शहीद सरस्वतीकृष्ण प्रतिष्ठानका अध्यक्ष भरतकृष्ण श्रेष्ठ, पराशर कलेजका सहायक क्याम्पस प्रमुख मिनबहादुर कार्कि, वडा सदस्य यम सारु मगर समेतले पीडित भैसीकिली वस्तीमा पुगेर सान्त्वना दिएका थिए ।
आफू समेत घाईते भै दुई छोरा दुई बुहारी र एक नातिनी गुमाएका पीडित आनबहादुरले हालसम्म ऋषिङ्ग गाउँपालिकाबाट एक लाख नगद राहत पाएको, गण्डकी प्रदेशका सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री किरण गुरुङ्ग मार्फत प्रतिव्यक्ति एक लाखका दरले पाँच लाख नगदै राहत पाएको बताए । त्यसैगरी नेपाल रेडक्रस सोसाईटीबाट कम्मल, त्रिपाल, भाँडाकुँडा, काँचो कपडा पाएको बताएका थिए ।
असार २८ गते रातमा परेको अविरल बर्षले तनहुँको म्याग्दे–८ की लक्ष्मी वि.क., भानु न.पा. वडा नं. ९ माझफाँटका कमला थापा, मनोज थापा, अन्जन थापा, राकेश थापा, मैतीमायाँ घर्ति समेत ज्यान लिएको छ । बाढीले किसानले लगाएको धान वाली सहित खेतै बगाएको छ । पुरेको छ । चैते धान पनि डुवाएको छ । ठाउँ ठाउँमा राजमार्गहरु पनि भत्काएको विगारेको छ ।