दमौली/नेपाली भाषा शिक्षक परिषद् तनहुँको आयोजनामा दमौलीमा नेपाली भाषा तथा व्याकरण शिक्षण समस्या विषयक तालिम कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धेश्वरी माविका नेपाली शिक्षक पद्मराज पौडेलका अनुसार सत्यवती माध्यमिक विद्यालयको सभाकक्षमा शनिबार आयोजित अन्तरक्रियात्मक तालिममा डा. मतीप्रसाद ढकालले सहजिकरण गरेका थिए । तालिममा नेपाली भाषाको वर्णविन्यासमा देखिएका समस्याहरुका बारेमा छलफल समेत भएको थियो । केही समय अगाडि आएको विवादित वर्णविन्यासले भाषामा पारेको प्रभाव र त्यसबाट सुधारिएका पक्षहरुबारे समेत डा. ढकालले सहभागी शिक्षकहरुलाई जानकारी गराएका थिए ।
तालिममा पदवर्ग, शब्द व्युत्पादन तथा सन्धि प्रक्रियाका सम्बन्धमा सहभागिलाई स्पष्ट पार्ने काम भएको शिक्षक पौडेलले बताए । कार्यक्रममा शिक्षकहरु व्याकरण शिक्षणका क्रममा आफुलाई परेका समस्याबारे खुलेर अन्तरक्रियामा सहभागि भएका थिए । नेपाली व्याकरण शिक्षणमा एकरुपता ल्याउन प्रशिक्षणले सहयोग गरेको सहभागीहरुले बताए । निर्मल माध्यमिक विद्यालयका शिक्षक हरिभक्त सुवेदीलाई कार्यक्रम प्रभावकारी लाग्यो । सुवेदीका अनुसार पुराना तथा नव प्रवेशी शिक्षकहरुलाई यस्ता तालिम कार्यक्रममा सहभागी गराउँदा कक्षामा प्रभावकारी शिक्षण हुने लागेको छ । सुवेदीलाई पनि आफ्ना कतिपय विषयगत कमजोरी हटेको लागेको छ । परिषदका अध्यक्ष रुक्मणी पौडेलले समेत सहजिक रण गर्नु भएको सो कार्यक्रममा तनहुँ जिल्लाका झण्डै पाँच दर्जन नेपाली विषयका शिक्षकहरुको सहभागिता रहेको थियो ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्य एवं परिषद्का अध्यक्ष रुक्मणी पौडेलको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन परिषद्का सचिव सुरज लम्सालले गरेका थिए ।