दमौली/नेपाली कांग्रेस तनहुँको कार्यालय रहेको बीपी स्मृति भवन उद्घाटन साथै स्मारिका विमोचन सभापति शेरबहादुर देउवाले सोमबार गरेका छन् । सभापति देउवाले कांग्रेस तनहुँले प्रकाशित गरेको स्मारिकाको लोकार्पण गर्नुका साथै जिल्ला सम्मेलनको समेत सो अवसरमा शुभारम्भ गरे ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले गणतन्त्रको विकल्प नभएकोले यसलाई सुदृढ बनाउनु पर्ने उल्लेख गरे । संघिलय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन दलहरुबीच सहमती र सहकार्यको आवश्यकता रहेको देउवाको भनाई थियो । देउवाले निर्वाचनको टिकट वितरणमा असन्तुष्टि रहने गरेको बताउँदै लोकप्रिय व्यक्तिलाई टिकट दिँदा जित हात पर्ने भएकाले आफ्नो ध्यान त्यता तर्फ गएको बताए । देउवा सिङ्गो कांग्रेसको नभई कुनै गुटको मात्र सभापति भएको गुनासो आइरहेको बेला उनले भने, पार्टीको टिकट वितरणमा न्याय गर्छु । पार्टीलाई बलियो बनाउन हामीबीच समझदारी र एकताको खाँचो रहेको देउवाको भनाई थियो ।
कार्यक्रमका अर्का वक्ता उपसभापति एवं कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङले सहमति, सहकार्य र समझदारी अहिलेको आवश्यकता रहेका बताउँदै कांग्रेस, एमाले र माओवादीले एकले अर्कालाई गाली गर्नु साटो मिलेर जानु पर्ने बताए । उपसभापति गुरुङले गरिबी हाम्रो प्रमुख दुश्मन भएको तर हामीले एकले अर्काे दललाई दुश्मन देख्ने गरेको भन्दै यो प्रवृत्ति त्याग्नु पर्ने बताए ।
पूर्वमहामन्त्री डा. शशांक कोइराला, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, केन्द्रीय सदस्यहरू शंकर भण्डारी, प्रदीप पौडेल, गोविन्द भट्टराई, कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, पूर्व सभापति रघुनाथ पौडेल लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा बोलेका अधिकांश स्थानीय वक्ताले पार्टीमा बढ्दो गुटगत राजनीति, केन्द्रीय नेतृत्वले सरकारका गलत कामको विरोध गर्न नसकेर मौनता साध्नुका कारण, हरेक क्षेत्रमा बढ्दो राजनीतिकरण आदि विषयमा असन्तुष्टि पोखेका थिए ।
नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपसभापति राजेन्द्रकृष्ण श्रेष्ठले स्वागत गरेका थिए भने अर्का उपसभापति देवकुमार श्रेष्ठले रुकुम पश्चिम र जाजरकोटका भुकम्प पिडितका लागि राहत रकमको चेक हस्तान्तरण गरेका थिए ।
नेपाली काँग्रेस कार्यालय उद्घाटन
previous post