दमौली/आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहँको आयोजनामा कार्तिक २० देखि सञ्चालित चौथो आदिवासी जनजाति सांस्कृतिक एवं पर्यटन महोत्सव शनिबार सम्पन्न भएको छ ।
अमूल्य भाषा संस्कृतिको संरक्षण गरौं भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौं भन्ने मूल नाराका साथ आयोजित महोत्सव यस पटक व्यास ४ सिमलटारमा आयोजना गरिएको थियो । ११ दिनसम्म चलेको महोत्सवमा निःशुल्क रक्त परिक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गरिनुका साथै विभिन्न जनजातिका खानाका परिकारहरु उपलब्ध थिए ।
चर्चित बाल दाहोरी गायिका कमला घिमिरे प्र्रस्तुती रहेको महोत्सवमा दुर्गेश थापा, पशुपति शर्मा, कला लम्साल, बद्री पंगेनी लगाएतका ख्याति प्राप्त राष्ट्रिय र स्थानीय कालाकारहरुको समेत प्रस्तुती रहेको थियो । नेपाल मगर संघ, तमु ह्युल छोजधीँ, नेवा खल, भुजेल समाज, तामाङ धेदुङ, दरै समाज, बोटे समाज, दुरा समाज, राइ समाज, थकाली समाज, कुमाल समाज र चेपाङ समाज सह आयोजक रहेका महोत्सवमा तयारी पोशाक, भाँडाकुँडा, कस्मेटीक समान लगाएतका स्टलहरु रहेका थिए भने विभिन्न मनोरञ्जनात्मक खेलहरु पनि समावेश गरिएको थियो ।
शनिबार महोत्सवको समापन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले महोत्सवले आदिवासी जनजातिको परम्परागत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे । न्यौपानेले समाज आधुनिकता तर्फ उन्मूख हुने क्रममा आफ्ना परम्परागत संस्कृतिलाई भुल्ने क्रममा रहेको र यस्ता मेला महोत्सवले भुल्ने क्रममा रहेका अमूल्य संस्कृतिको संरक्षणमा सहयोग पुग्ने बताए । महोत्सवकी संयोजक एवं कार्यक्रमकी अध्यक्ष बसुन्धरा घर्तीले महोत्सव सफल भएको भन्दै महोत्सवलाई सफल बनाउन सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिईन् ।