रमेश विकल
नेपालमा कोभिड–१९ संक्रमणको दोस्रो लहरमा उतार–चढाब भइरहँदा दुइ नयाँ भेरियन्टको संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीले विज्ञप्ती जारी गर्दै नेपालमा B.1.617.2 तथा B.1.617.1 जातको थप नयाँ दुइ भेरियन्ट रहेको पुष्टी भएको बताएका छन् । प्रवक्ता अधिकारीका अनुसार देशका विभिन्न भागबाट गत हप्ता संकलित कोभिड–१९ संक्रमितहरुका ३५ वटा नमूनाहरुलाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन सिक्वन्सिङ गरी प्राप्त नतिजा अनुसार ९७ प्रतिशतमा (३४ वटा) B.1.617.2 नयाँ भेरियन्ट र तीन प्रतिशतमा B.1.617.1 पुष्टि भएको छ । यससंगै हालसम्म नेपालमा यो परिवर्तित भाईरस सहीत तीन किसिमका भेरिन्यट रहेको पुष्टि भएको छ ।
हाल पत्ता लागेको नयाँ भाइरस सवै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनहरुबाट पाईएको बताउँदै अधिकारीले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न गराउन अनुरोध गरेका छन् ।
गत विहिबारबाट हिजोसम्मको तथ्याङ्कलाई केलाउने हो भने कोरोना संक्रमण, संक्रमण मुक्त हुने तथा मृत्यु हुनेको संख्यामा उतार–चढाब रह्यो । यो साता सोमबार सबैभन्दा धेरै ९ हजार २ सय ४७ जना संक्रमित भए । बुधबार संक्रमण मुक्त हुनेको संख्या सबैभन्दा धेरै ७ हजार ९ सय ८९ रह्यो । यसलाई आधार मान्ने हो भने हरेक मिनेट झण्डै ६ जना संक्रमण मुक्त भएका छन् । यसैगरी यो हप्ता र हालसम्मकै सबैभन्दा धेरै बुधबार २४६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाए । यो संख्यालाई केलाउँदा हरेक ६ मिनेटमा एक नेपालीले कोरोनाका कारण ज्यान गुमाएको अवस्था छ ।
गत बुधबारबाट घट्न थालेर राहत महसुस भएको कोरोना संक्रमण सोमबार फेरी बढ्यो भने मंगलबार र बुुधबार फेरी घट्दै गएको छ । संक्रमण मुक्त हुनेको संख्या पनि बढ्दै गएको छ । तर थप दुइ प्रजातिका भाइरस भेटिएसंगै फेरी संक्रमणले आक्रामक रुप लिने हो कि भन्ने चिन्ता व्याप्त भएको छ ।
तनहुँको कुरा गर्दा संक्रमण दरमा उतार–चढाब छ तर बुधबार ५ जनाको मृत्यु भएसंग आशंकाको कालो बादलले घेरेको छ ।
स्वास्थ्य सम्बन्धि सावधानी नअपनाउने गरेका कारण पनि संक्रमण बढ्दै गएको छ । बुधबारबाट सरकारी बाहेकका निर्माण सम्बन्धी काम नगर्ने भनेपनि निर्माण व्यवसायी हरुले त्यसका अवज्ञा गर्दै त्यसलाई निरन्तरता दिएका देखिएको छ । यसले आम मानिसमा चिन्ता र त्रास थप्ने काम गरको छ ।