दमौली/आइतबारबाट शुरु हुने शैक्षिक सत्र २०७५ को एस.इ.इ. परीक्षामा तनहूँ जिल्लाबाट छ हजार दुई सय ९१ परीक्षार्थी सहभागि हुदैछन् । शिक्षा विकास तथा समन्वय इकाई तनहुँले दिएको जानकारी अनुसार यस बर्षको एस.इ.इ. परीक्षामा सामेल हुनका लागि अनलाईन सेवाबाट छ हजार तीन सय ५७ जनाले आवेदन गरेका थिए । ती मध्ये ६६ जना परीक्षाका लागि अयोग्य ठहरिएपछि छ हजार दुई सय ९१ परीक्षार्थीले यस बर्षको एस.इ.इ. परीक्षा दिन पाउने भएका छन् । सो संख्यामा छ हजार दुई सय २५ रेगुलर हुन् भने ६६ जना ग्रेडबृद्धिका लागि आवेदन भर्नेहरु हुन् ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख दामोदर आचार्यले दिनुभएको जानकारी अनुसार यस बर्षको परीक्षालाई अनुशासित, मर्यादित र व्यवस्थित गर्नका लागि अनुगमनमा खटिने संख्या र सुरक्षाकर्मिको संख्या बाहेक करीब पाँच सय ७४ जनशक्ति परिचालित हुनेछन् । ती मध्ये केन्द्राध्यक्ष २४, सहायक केन्द्राध्यक्ष ४१, निरिक्षक तीन सय १८ परीक्षा सहायक ६४ र सहयोगी एक सय २७ को संख्यामा रहनेछन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको एस.इ.इ परीक्षा समन्वय समितिले नियमित अनुगमन गर्ने पनि शिक्षा विकास तथा समन्वय इकाई तनहुँले जनाएको छ ।