
दमौली/व्यास नगरपालिकाले गर्भवति महिलालाइ पोषण भत्ता दिने निर्णय गरेको छ । पोषण भत्ताको माग गर्न चाहने गर्भवति महिलाले चार महिनाको गर्भ भएपछि, छ महिनाको गर्भ भएपछि र आठ महिनाको गर्भ भएपछि जाँच गराएको रिर्पोट सहित दावी गर्नु पर्ने व्यास नगरपालिकाले जनाएको छ । आर्थिक रुपले विपन्न महिलाहरु गर्भवति भएपछि न्यूनतम आवश्यकता अनुसार पनि पोषणयुक्त आहारविहार नपाउने अवस्थाप्रति सम्वेदनशिल हुँदै पोषण भत्ता दिने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जनाउनु भएको छ । स्वस्थ बच्चा जन्मनका लागि आमाको स्वास्थ्य पनि हृष्ठपुष्ट हुनुपर्ने अवस्थालाई ध्यानमा राखेर नगरपालिकाले पोषणभत्ता दिने निर्णय गरेपछि यस आर्थिक बर्षमा व्यास नगरक्षेत्रका दुई सय जना गर्भवती लाभान्वित हुनेछन् । गर्भवति महिला पोषण कार्यक्रमका लागि दश लाख विनियोजन भएको पनि नगरपालिकाले जनाएको छ ।