विशेषसम्वाददाता
तेस्रो पटक बनेको गठबन्धन अभियोगबाट बच्ने अश्त्र पुष्टि भएको छ । सरकार नेतृत्व गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री रवि लामिछाने र सत्ताझेदार खड्गप्रसाद ओलीलाई तेस्रो गठबन्धन गर्नुपर्ने बाद्यता सत्ताबाट बाहिर हुनासाथ आफूलाई लाग्ने अभियोग नै हो । नेपालको संविधान अन्तरगत बनेका विभिन्न आयोगहरुले आफ्नो स्वतन्त्र, निष्पक्ष र स्वायत्त अस्तित्व पुष्टि गर्न सकेका छैनन् । सत्तामा रहेकाहरुको चाहाना बमोजिम सत्ताको राप–ताप भएका भ्रष्टहरुलाई बचाउन र सत्ताको राप–तापबाट पाखा परेकाहरुलाई अभियोग लगाउने संवैधानिक निकायको पहिचान बनेको छ ।
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो(सिआईबी)ले सभामुख देवराज घिमिरेलाई बुधबार प्रतिनिधि सभाका सदस्य विनोद चौधरी माथि अनुसन्धान भैरहेको जानकारी गराएको छ । पूर्व सभामुख कृष्णबहादुर महरालाई नियन्त्रणमा लिई सकेको छ । यता बालकृष्ण खाँडलाई पनि अभियोग लागेको छ । त्यसैगरी आरजु राणा र मञ्जु खाँडलाई समेत पक्राउ हुन सक्ने अनुमान गरिएकै समयमा ती दुवै नेपाल भित्र नभएको कुरा आईरहेको छ । टोपबहादुर रायमाझीलाई पनि अभियोग लागेको छ । सहकारीको ठगि प्रकरणमा त गृहमन्त्री रवि लामिछानेलाई नै पनि आरोप लागेको छ । गृहमन्त्रीको राप–तापमा त्यो ओझेलमा परेर विनोद चौधरीतर्फ डण्डा सोझियो ।
विनोद चौधरी, आरजु राणा, मञ्जु खाँडहरुलाई आरोप लाग्दा, बालकृष्ण खाँड डाँमिदा शेरबहादुर देउवाले उन्मुक्ति पाउन कसरी मिल्छ ? बालकृष्ण/मञ्जु खाँड, विनोद चौधरी, आरजु राणा त शेरबहादुरका कारिन्दा हुन् । शेरबहादुर देउवाले निर्देशन नदिईकन यिनीहरुले कुनै पनि कसूर गर्ने कल्पना नै गर्न सकिदैन । त्यसमाथि शेरबहादुर देउवालाई विभिन्न काण्ड लागेकै छ । जस्तै वाइडबडी काण्ड । निर्देशन दिने व्यक्तिलाई उन्मुक्ति दिलाएर निर्देशन पालना गर्ने व्यक्तिलाई कारवाही अगाडि बढाएर कृष्णबहादुर महरालाई समाएर सुनकाण्डमा मुछिएका बर्षमान पुनलाई अर्थमन्त्री बनाउने पुष्पकमल दाहालले कसरी उन्मुक्ति पाउन मिल्छ ? त्यसमाथि लडाकु शिविर घोटाला काण्डमा स्वयम दाहाल डामिएकै छन् । काम्बोडिया समेतका धेरै काण्डमा डामिएकै कारण खड्गप्रसाद ओली धेरै समय प्रतिपक्षमा टिकिरहन सकेनन्, वीष पिएर पनि तेस्रो गठबन्धन गर्न बाद्य भए ।
सबै दलहरुले सैद्धान्तिक निष्ठा गुमाए । अभियोगबाट जोगिन गठबन्धनलाई अस्त्रको रुपमा उपयोग गर्न बाद्य भए । यो गठबन्धनले कुनै काम गरेको भन्दा पनि आक्रोसित आमनागरिकलाई अल्मल्याएर, ढाँटेर सत्ताविद्रोहमा लाग्नबाट रोक्ने चलखेल नाटक बाहेक केही गरेको छैन ।