तनहुँ जिल्ला व्यास–३ निवासी ९६ वर्षिय नेवारी भाषासंस्कृतिका ज्ञाता बखतनारायण श्रेष्ठलाई कुनै किताब पढ्न चस्मा लगाउनु पर्दैन । उहाँको घरमा पुग्दा लाग्छ, कुनै धार्मीक पुस्तकको संग्राहलयमा आइपुगेको छु । विहान उठेर नुहाई धुवाई पछि कालो चिया पिएर धर्मग्रन्थको अध्ययनमा लाग्ने श्रेष्ठ हरेक दिन १२ बजेसम्म धर्मग्रन्थहरु पढेरमात्र खाना खानु हुन्छ । उहाँ विहान ठूलो सुकसागर, गणेश गीता, श्री गणेश पुराण तथा शिव पुराणको अध्ययन गर्नु हुन्छ । विष्णु पुराण, शिव पुराण, हरिवंश पुराण तथा असलि आठ काण्ड रामायणको धेरै स्लोकहरु उहाँलाई कण्ठाग्र छ । धर्मपत्नी बालकुमारी श्रेष्ठसंग सधै मेलमिलाप सहितको सुखद दाम्पत्य रहेको बताउने श्रेष्ठसंग उहाँकै निवासमा श्रीकृष्ण जन्माष्टमीको सन्दर्भमा कृष्णको जन्म तथा कंश संहार लगाएत विषयमा तनहुँ आवाज साप्ताहिकका सहसम्पादक रमेश विकलले गर्नुभएको कुराकानीको सम्पादित अंशः
भोली श्रीकृष्ण जन्माष्टमी हामी धुमधाम पूर्वक मनाउँछौं । कृष्णको जन्मोत्सव हामीले किन धुमधाम साथ मनाउने ?
श्रेष्ठः भगवान कृष्णको जन्म भाद्र कृष्ण अष्टमीको मध्यरात्री भएको मानिन्छ । यसलाई मोहरात्री भन्ने पनि चलन छ । विष्णु भगवानको आठौं अवतारको रुपमा श्रीकृष्णको जन्म भएको हो । उहाँको जन्मको कुरा गर्दा बुबा बासुदेव तथा आमा देवका दुबैलाई देवकाका दाजु कंशले जेलमा थुनेर राखेको थियो । देवकाको कोखबाट जन्मेको बालकले आफ्नो हत्या गर्ने थाहा पाएकाले कंशले यसो गरेको थियो । तर कृष्ण जन्मनासाथ जेलका ढोकाहरु आफै खुले र वासुदेवले कृष्णलाई गोकुल लगेर नन्द र यशोदाको साथमा सुरक्षित छोडे । वास्तवमा भगवान श्रीकृष्णको जन्म पृथ्वीको भार हर्न भएको थियो । अधर्मको नाश गरी धर्मको रक्षा गर्न भगवान श्रीकृष्णको जन्म भएको हो । आसुरी स्वभावका दुष्टहरूको विनाश गर्न र साधु सन्तको रक्षा गर्न नै भगवान कृष्णको जन्म भएको कुरा शास्त्रमा उल्लेख भएको पाइन्छ ।
जन्माष्टमीको दिन ब्रत वस्ने तथा जाग्राम गर्ने भजन किर्तन गाउने गरिन्छ । यसका अतिरिक्त के के गरिन्छ ?
श्रेष्ठः तपाईले भन्नु भएजस्तो त्यस दिन दिनभर महिलाहरु ब्रत वस्ने गर्दछन् भने राती पनि श्रीकृष्णको जन्म हुने बेला नभएसम्म भजन किर्तन गरेर वस्ने चलन छ । नेवार समुदायले कृष्णजात्रा गर्न पनि चलन छ । यो जात्रामा भगवान श्रीकृष्णको प्रतिमालाई भजन किर्तन सहित सहर परिक्रमा गराउने चलन छ । जात्रामा गोलेनीहरु, हुनुमान लगाएतका उहाँका सहयोगी बन्ने र नृत्य गर्ने चलन पनि छ ।
श्रीकृष्णको कुरा गर्दा पुतनाको नाम पनि आउँछ । पुतना बधको प्रसंग बताइदिनुस् न ।
श्रेष्ठः कंशको आदेश बमोजिम बहिनी पुतना गोकुलका सबै बालबालिकालाई विषाक्त दूध पिलाएर मार्न भनेर गोकुल पुगिन् । जब कृष्णले पुतनाको स्तन चुस्न लागे, तब उनले पुतनाको शरिरमा भएको सबै रगत समेत चुसेर उनको बध गरेको प्रसंग हामीेले पढ्न पाउँछौं । यो प्रसंग भगवान कृष्ण एक वर्ष पनि नहुँदाको हो । पुतनाको शरिर भीमकाय भएको र उनी मर्दा तीन कोष जमिन ढाकेको प्रसंग हामीले पढ्न पाउँछौं । अर्काे पटक श्रीकृष्णलाई मार्न भनेर कंशका आदेश पालकले काखमा लिएर उँडे । तर भगवान श्रीकृष्णको तौल यति धेरै भयो कि कंशको आदेश पालकले बोक्ने नसक्ने भए । त्यही बेला कृष्णले प्रहार गर्दा उसका पनि त्यही मृत्यु भएको प्रसंग पनि धर्मशास्त्र हरुमा छ ।
श्रीकृष्ण र सुदामाको मित्रताको कुरा पनि सुनौं न ।
श्रेष्ठः कथा अनुसार कृष्ण र सुदामा बालसखा थिए । कृष्ण धनी तर सुदामा गरिब । खान लाउन साह्रै गाह्रो भएपछि सुदामा पत्नीले सुदामालाई कृष्णकहाँ गएर केही माग्न र आफ्नो दुःख टार्न आग्रह गरिन् । मित्रलाई भेट्न जाँदा खाली हात नजानु भन्ने थियो तर उनीहरुसंग कृष्णका लागि लगिदिने कुरा केही थिएन । सुदामा पत्नीले थोत्रो टालोमा कनीका राखिदिइन् । त्यही कनिका काखी च्यापेर सुदामा कृष्ण भएठाउँ गए । केही बेरको भलाकुसारी पछि श्रीकृष्णले सदामासंग आफ्ना लागि ल्याएको कोसेली मागे । तर आफुले कुनै कोशेली नल्याएको बताए । तर सर्वव्यापि भगवान कृष्णले थाहा नपाउने कुरै थिएन र उहाँले सुदामाको काखीबाट कनिकाको पोको निकालेर खानु भयो । केही बेरको गफगाफ पछि सुदामा आफ्नो झुपडीमा फर्किए । धन कुवेर आफ्ना बालसखाबाट कुनै उपहार नपाएकामा सुदामा दुःखी हुँदै फकिए तर उनी आफ्नो वासस्थान पुग्दा धनधान्यले पूर्ण घर थियो । आफ्नै घर नचिनेर अलमलमा परेका सुदामालाई पत्नीले घर लगेकी थिइन् ।
भगवान श्रीकृष्णको बाललिला बारे पनि केही बताउनुस् न ।
श्रेष्ठः भगवान श्रीकृष्णका बाललिलाका अनेर्काै प्रसंग छन् । उनी दही, नौनी चोरेर खाने लगाएतका काम गरेर छिमेकालाई सताउँथे । कतिपय अवस्थामा छिमेकका महिलाहरु श्रीकृष्णलाई समातेर यशोदा सामु कारवाहीका लागि लग्थे तर अचम्म कृष्ण त ति महिलाको सन्तानको रुपमा वसिदिन्थे । अनि कारवाहीका लागि आग्रह गर्न आउने महिला नै लज्जाबोध गर्दै फर्कन्थे । एक पटकको कुरा हो, श्रीकृष्णले साह्रै सताएपछि माता यशोदाले उग्रलमा(आजकलको भाषामा धान कुट्ने मुसल) बाँधेर आफ्नो काममा गईन् । बालक श्रीकृष्ण उग्रल सहित बाहिर गएर उग्रल दुइ रुखको बीचमा अड्केका कारण रुख लडेका र बालक कृष्ण दुइ रुखको बीचमा शान्त बसिरहेको भेटिए । अर्काे एक दिनको कुरा हो, सबैले कृष्णले माटो खाएको भन्दै कुरा लगाउन यशोदा भएठाउँ आए । माता यशोदाले किन माटो खाएको भन्दै मुख आँ गर्न लगाईन । जब श्रीकृष्णले मुख आँ गर्नुभयो तब यशोदा माताले समूर्ण व्रम्हाण्ड मुख भित्र देख्नु भयो ।
कृष्णलाई मार्ने कस्ता प्रयत्न कंशले गरे ?
श्रेष्ठः कंशले आफ्ना भान्जा श्रीकृष्णलाई मार्न अनेक प्रयत्न गरेको हामीले हाम्रा धर्मग्रन्थमा उल्लेख गरेको पाईन्छ । कहिले अजिंगर बनेर कंशका दूतहरु कृष्णलाई मार्न आउँछन् । कृष्ण अजिंगर रुपि राक्षसको मुख च्यातेर बध गर्नुहुन्छ । कहिले कंशका दूत घोडाको रुप लिएर मार्न जान्छन् तर श्रीकृष्ण घोडाको पनि बध गर्नुहुन्छ । कंशले आफ्नो विश्वास पात्र अक्रुरलाई हात्तीको रुप लिएर मार्न लगाए । अक्रुर श्रीकृष्ण छेउ पुगेर मामा कंशले आफुलाई श्रीकृष्णको बधका लागि हात्ती बनेर जान अह्राएको बताए । श्रीकृष्णले सहजै भन्नु भयो, मैले चाहेको यही हो । श्रीकृष्णले आफ्नो बध गर्न आएको हात्तीसंग खेलेजस्तो गरेर सहजै बध गरेर दाह्रा निकाल्दिनु भयो । भीमकाय कुस्तीबाजसंग कुस्तीमा भिडाउने र मार्ने षडयन्त्र पनि कंशले गरेको प्रसंग हामीले पढ्न पाउँछौं ।
कृष्णले कंशको बध कसरी गर्नु भयो ?
श्रेष्ठः मैले बुझेसम्म भगवान श्रीकृष्णले कंशको बध पनि कुस्ती खेल्दै गर्दा गर्नु भएको हो । कतिपयको बुझाई फरक भएपनि मेरो बुझाइमा यही नै सत्य हो ।
हामीले कृष्ण जात्रा निकाल्नुको महत्व के हो ?
श्रेष्ठः भक्ति, कर्म र ज्ञान योगका प्रणेता भएका तथा सज्जनहरुको रक्षा र दुष्कर्म गर्नेहरुको विनाश गरी धर्म रक्षा गर्ने भएकाले हामीले श्रीकृष्णको पुजा आराधना गर्ने तथा उहाँको जन्मोत्सवमा कृष्णजात्रा निकाल्ने गरेका हौं । यतिमात्र होइन मानिस ठूलो उसको कर्मले हुने भएकाले असल कर्म गर्न मानिसलाई भगवान श्रीकृष्ण प्ररित गर्नु हुन्छ । उहाँ मानिसलाई अत्यन्त दुःखको अवस्थामा पनि विचलित नभई आफ्नो धर्म, संस्कृति, संस्कार नछाडी निरन्तर अडिग रहने व्यक्ति नै सफल हुने शिक्षा दिनु हुन्छ । त्यसैले हामी उहाँको पुजा आराधना गर्ने गर्दछौं । यसलाई हामी शक्तिको पुजा पनि भन्न सक्छौं ।
विशेषगरी महिलाहरु श्रीकृष्णको पुजा आारधना गर्ने गर्दछन् । यसका कारण पनि शक्ति पुजा नै हो ?
श्रेष्ठः हामीले हाम्रा देव देवीको सन्दर्भमा अध्ययन गर्ने हो भने देवीहरु सत्यका पक्षपाती भएको पाउँछौं । उनीहरु न्यायको पक्षमा र अन्यायको विरुद्धमा लडेको पाउँछौं । भगवान श्रीकृष्ण पनि सत्य र न्यायको पक्षमा रहनु भएकोले नै महिलाहरुले उहाँको पूजा आराधना गरेको हुनुपर्छ । भगवान श्रीकृष्ण शक्तिको श्रोत हुनु भएकाले यसलाई शक्तिको पुजा भनेपनि भयो ।