
दमौली/राज्यको पुनः संरचना पछिको दोस्रो स्थानीय तहको निर्वाचन वैशाख ३० मा सम्पन्न भएर मत परिणाम आउन थालेका छन् । तनहुँका १० स्थानीय तह मध्ये यो समाचार तयार पार्दासम्म भानु र व्यास नगर बाहेकका ८ स्थानीय तहको नतिजा सार्वजनिक भै सकेको छ ।
बुधबार साँझ ८ बजेसम्ममा देशभरका ५०३ स्थानीय तहको मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणाम अनुसार सत्तारुढ दल नेपाली कांग्रेसले सबैभन्दा धेरै २२६ पालिका प्रमुख तथा अध्यक्षमा जित हासिल गरेको छ । यसैगरी नेकपा एमाले १४५ प्रमुख तथा अध्यक्ष जितेर दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्र ९८ प्रमुख तथा अध्यक्ष जितेर तेस्रो स्थानमा रहेको छ । जनता समाजवादी पार्टी तथा नेकपा एकिकृत समाजवादीले ९÷९ पालिका प्रमुख तथा अध्यक्ष जितेका छन् ।
उपप्रमुख तथा उपाध्यक्ष पद भने नेपाली कांग्रेसले २१३, एमालेले १५१ , माओवादीले १०३, एकिकृत समाजवादीले १६, जसपाले १० तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ स्थानमा जितेका छन् ।
जारी गणनामा प्रमुख तथा अध्यक्षमा कांग्रेसले ९१, एमालेले ५४, माओवादी केन्द्रले २२, जसपाले २५, नेकपा एसले ११ तथा लोसपाले ९ स्थानमा अग्रता लिएका छन् । यसैगरी उपप्रमुख तथा उपाध्यक्षमा नेपाली कांग्रेसले ८२, एमालेले ८७, माओवादी केन्दले २०, एकिकृत समाजवादीले ३, जसपाले १७ तथा लोसपाले १० स्थानमा अग्रता लिएका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा सर्वाधिक २९४ प्रमुख तथा अध्यक्ष र ३३१ उपप्रमुख तथा उपाध्यक्ष जितर सबैभन्दा ठूलो दल बनेको एमालेका लागि यो मत परिणाम निराशाजनक हो । यसैगरी एमालेबाट फुटेर बनेको एकिकृत समाजवादीका लागि पनि जम्मा झण्डै २० स्थान मात्रै जित्ने आँकडा निराशाजनक नै हो । उता सत्ताधारी दलहरु नेपाली कांग्रेस तथा माओवादी केन्द्रका लागि भने यो मत परिणाम उत्साह प्रदान गर्ने खालको छ । अघिल्लो निर्वाचनमा २६६ प्रमुख तथा अध्यक्ष र २२३ उपप्रमुख तथा उपाध्यक्ष जितेर दोस्रो ठूलो दल बनेको कांग्रेस पहिलो दल बन्ने पक्का भएको छ भने माओवादी केन्द्रको पनि दुबै पदमा विजयी हुनेको संख्या बढ्ने संकेत देखिएको छ ।
यता तनहुँमा पनि दलहरुले आ–आफ्नो अनुकुलता अुनसार बनाएका गठबन्धनका कारण गत निर्वाचनको भन्दा भिन्न नतिजा आएको छ । व्यासमा यो समाचार तयार पार्दा भर्खर गणना सुरु भएकाले नतिजा बारे केही भन्ने अवस्था छैन । गणना जारी रहेको दोस्रो ठूलो नपा भानुमा प्रमुख तथा उपप्रमुख दुबै पद नेपाली कांग्रेसले जित्ने देखिएको छ ।
अघिल्लो निर्वाचनमा जस्तै ऋषिङ गाउँ पालिकामा नेपाली कांग्रेसले अध्यक्ष तथा उपाध्यक्ष दुबै पदमा जित हात पारेको छ । म्याग्देमा एमाले जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् । यस अघि कांग्रेसकी मायाँ राना अध्यक्ष थिइन् । भिमादमा यस अघिजस्तै दुवै एमालेका उम्मेदबारले जितेका छन् भने देवघाटमा नतिजा उल्ट्याउँदै कांग्रेसले जित हात पारेको छ । यहाँ उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ । यस अघि माओवादी केन्द्रले जितेको बन्दिपुरमा एमालेले अध्यक्ष तथा कांग्रेसले उपाध्यक्ष जितेका छन् ।
उता आँबुमा कांग्रेसको वर्चस्व भत्काउँदै माओवादी केन्दले दुवै पद हात पारेको छ । यस अघि पनि एमालेले जितेको घिरिङमा उसैले जित दोहो¥याएको छ ।
शुक्ला नगर पालिकामा कांग्रेसले प्रमुख पद यथावत राखेको छ भने पहिले एमालेले जितेको उपप्रमुख पद भने यस पटक माओवादीले जित हात पारेको छ ।
यस पटकको नतिजाले विगतमा जस्तो जिल्ला समन्वय समिति बनाउन कांग्रेसलाई सहज नहुने देखिएको छ ।