गत साता नेपाली सिनेमा महाजात्रा हेर्न साथीहरुका साथ एपेक्स मल पुगें । हलमा पुगेर ठूलो पर्दामा सिनेमा नहेरेको दशक बढि भएछ । समान उमेर समुहका साथीहरु बीच हलमा पुगेर ठूलो पर्दामा सिनेमा नहेरेको कति भयो ? भनेर गफगाफ गर्दा दशक नाघेको पत्तो पाएँ । एक समय थियो, गाउँबाट दमौली झर्दा सिनेमा नहेरी गाउँ फर्कनै मन लाग्दैनथ्यो । सिनेमा हेरेरै छाड्ने हठ्ले दोब्बर मुल्य तिरेर टिकट लिएका घटना धेरै छन् । तुलसी घिमिरे निर्देशित चिनो काठमाडौंको विश्वज्वती हलमा २५ औं हप्तामा चलिरहँदा दोब्बर मुल्य तिरेर टिकट लिएको अनि सिट नपाएर सिढिँमा बसेर सिनेमा हेरेको सम्झना ताजै छ । माहाजात्रा हेर्न एपेक्स मलमा जम्मा भएका मेरा मित्रहरु मध्य केहिले टिकट काट्दा हातको छाला गएको, अरुको काँध चढेर लाइनको अगाडी पुगि टिकट काटेको, सिनेमा हेर्न पोखरासम्म पुगेको घटनाहरु सुनाउँदा ति दृष्यहरु मेरो आखाँमा सिनेमा झैँ आएका थिए । र मैले आफुँलाई त्यहि भिडमा कतै पाइरहेको थिएँ । दिउँसो १२–३ को शो हेरेर बाहिर निस्कँदा अर्कै सिनेमाको पोष्टर टाँसेको देखेपछि फेरि टिकट काटेर ३–६ को सो हेरेको सुनाउने साथीहरु पनि महाजात्रा हेर्ने टोलिमा थिए । मलाई लाग्यो ति मित्रले मेरै वास्तविकता उदाङ्गो पारिरहेका छन् ।
एउटा सिनेमा हेरेर बाहिरिँदा अर्को सिनेमाको पोस्टर देखेर तुरुन्तै टिकट काटेर अर्को शो पनि हेर्ने पुस्ता अझै छ । तर अरु कुरा फेरिएका छन् । अहिले अरुको काँध चढेर काउण्टरको अगाडी पुगी टिकट काट्नु पर्ने, दोब्बर मूल्य तिर्नु पर्ने, टिकटका लागि लामो लाइन बस्नु पर्ने, पसीना पुछ्दै सिनेमा हेर्नुपर्ने अवस्था छैन । बरु यस्ता कुरा अपत्यारिला लाग्छन् । सिनेमाको मुख्य पात्र (हिरो)को आगमनमा सिट्टी बजाउने अनि हुटिङ गर्ने उत्साही पुस्ता पहिले पनि हुन्थ्यो र अहिले पनि छ । टिकट बल्याक गरेर कमाउनेहरु विगत सम्झेर रोमाञ्चित हुन सक्छन् तर वर्तमान सम्झँदा फिस्स पर्छन् । बस्दा बिझाउँने सिट, सिटमा भएका उडुस र उपियाँको टोकाई अनि प्रचण्ड गर्मी सबै सहँदै सिनेमाको दृश्यसँग आफूलाई रिलेट गर्दै घरी रुने, घरी हाँस्ने तथा उत्साहले उफ्रने कुरा अब एकादेशको कथा भएको छ । आजभोली वातानुकुलित हल छन् । आरामदायी सीट छन् । घरमै बसेर आफूलाई उपयुक्त समयको टिकट काट्न पाइन्छ । सिनेमा हेर्दा हेर्दै रिल चुड्थ्यो । प्रोजेक्टर छेउ वसेको कर्मचारी उक्त रिल जोड्ने धेउन्नमा लाग्थ्यो । दर्शक होहल्ला गर्न थाल्थ्ये । कथाको सृङ्खला टुट्थ्यो । अब यो समस्या पनि छैन । एउटा पेन ड्राइभमा सयौं सिनेमा बोकेर हिँड्ने वर्तमान युवा पुस्तालाई एउटा सिनेमाका लागि सयौं टुक्रा रिल जोड्नु पर्ने कुरा दन्तेकथा जस्तै लाग्छन् । सिनेमा बुझ्न नियमित सिनेमा हेर्नु पर्छ । भन्ने विषयमा लेख्न बसेको म अन्यत्रै बरालिएँछु । मेरा आदरणीय पाठकसँग विषयान्तर भएकोमा क्षमा माग्दै अब भने विषय प्रबेश गर्न चाहान्छु ।
पछिल्लो समय सिनेमा मेरो खास रुचिको विषय रहेन । समय व्यवस्थापनमा समस्या, आफ्नै अधिर स्वभाव, हलमा चामलमा वियाँको संख्यामा हुने चालिस नाघेका दर्शक आदिलाई रुचिको विषय नरहनुको कारण भन्न्न मिल्छ । त्यसैले हलमा गएर मात्र होइन, युट्युबमा पनि म खासै सिनेमा हेर्दिन । तर यसपटक साथीहरुको आग्रह टार्न नसकेर अनि हेर्न जान लागेको सिनेमाले राम्रो वर्ड अफ माउथ पाएकाले म हलसम्म पुगेर सिनेमा हेर्न तयार भएको थिएँ । साथीहरुसँग तीन घण्टा बिताउने लालसाले पनि मलाई महाजात्रा हेर्न राजी बनाएको थियो, शायद । कमेडी च्याम्पियनको नियमित दर्शक भएकोले प्रदिप भट्टराई परिचित व्यक्ति र उनले लेखन तथा निर्देशन गरेका सबै सिनेमाका सम्वन्धमा राम्रो प्रतिक्रिया आएकोले पनि म महाजात्रा हेर्न गएको हुँ ।
चैत्र १४ गते राती ७ः३० बजेको शो मा हल भरिभराउ थियो । ७–८ वर्षका बालबालिका देखि चालिस कटेकासम्म दर्शक थिए । सिट्टी र होहल्ला बीच सिनेमा सुरुभयो । ९ बजे इन्टरभल हुँदा संगैको सिटमा रहेका मेरा मित्र छविदीप आलेसँग भनँे, मैले त सिनेमाका कतिपय सन्दर्भ बुझिन । उहाँले महाजात्रा सिक्वेल सिनेमा भएको र यसलाई बुझ्न प्रदिपकै अघिल्ला सिनेमाहरु जात्रा’ र जात्रैजात्रा हेर्नुपर्ने बताउनु भयो । केही मिनेटको वार्तालाप पछि उहाँको बीट्मार्ने वाक्य थियो “रमेश सर, सिनेमा बुझ्न बेलाबेला सिनेमा हेर्नुपर्छ ।’ अघिल्लो सिनेमा जात्रैजात्रामा कुन त्यस्तो बाध्यात्मक अवस्था सिर्जना संगै सिनेमाको अन्त्य गरिएको रहेछ, जसका कारण महाजात्राका मुख्य तीन पात्र नचाहेर पनि कालोधन लुकाइ दिनुपर्ने जस्तो गलत काममा लागिरहन विवश भए भनेर बुझ्न सकिन । तर सिनेमा रमाइलो र सन्देशमुलक रहेको बुझ्न कठिनभएन हाँस्दा हाँस्दै रुवाउने र रुँदारुँदै हँसाउने धेरै दृश्यहरु सिनेमामा छन् । हाम्रो राजनैतिक नेतृत्वले बेरोजगार युवालाई कसरी गलत काममा लाग्न विवश बनाउँछन् भन्ने कुराको प्रश्ट तस्वीर महाजात्रामा छ । वाह ! क्या राम्रो सिनेमा भनेर सयमा सय अंक दिन सकिने खालको नभएपनि अरु धेरै मनछुने दृश्यहरु महाजात्रामा छन्, जसले झण्डै तीन घण्टा आरामले दर्शकलाई हलमा अड्याएर राख्छ ।
यस पटक लामो समयान्तर पछि हलमा सिनेमा हेरेको र अरुबेला पनि खासै सिनेमा नहेर्ने मैले थाहा पाएका अरुपनि तथ्य छन् । अब सिनेमा चल्न हिरो–हिरोइन नदी किनारमा, वगैंचामा स्वीमिङ पुलमा वा समुन्द्र तटमा मस्कामस्की गर्दै नाचेको दृश्य राख्नु नपर्ने भएछ । अङ्ग प्रदर्शनका फण्डा नबिक्ने भएछ । धनी बाबुकी छोरी र गरिब केटो वा धनी बाबुको छोरा र गरिब केटीविचको प्रेम सम्बन्ध र त्यसले निम्त्याउने द्वन्द्वको बासी कथा पछिल्लो समय भन्न छाडिएका छन् रे । लिखुरे हिरोले सयौं पहलवानलाई क्षणभरमै धुलीसात बनाएका अपत्यारिला दृश्य कम हुदँै गएका छन् रे सिनेमामा । बरु सिनेमाले समाजको कथा भन्न थालेका, राजनैतिक–सामाजिक विकृति र विसंगती विरुद्ध बोल्न थालेका छन् भन्ने थाहा पाएर नेपाली सिनेमाले सहि लय समातेछ भनेर ढुक्क भए म ।
सिनेमा समाजको ऐना हो’ भन्ने भनाइलाई वर्तमानका नेपाली सिनेमाले आत्मसाथ गर्दै जाउन् । यसो भएमा करोडौ लगानी गरेर बनाएका सिनेमाले पोष्टरको मूल्य समेत नउठाउने अवस्था अन्त्य हुन्छ । सुपरहिट क्लबमा सबै सिनेमा पर्नेछन् । राम्रा कथा बोकेर बनेका सिनेमा आएमा मित्र छविदीपको ‘सिनेमा बुझ्न बेलाबेला सिनेमा हेर्नुपर्छ’ लाई अवश्य पछ्याउने छु । अस्तु ।
सिनेमा बुझ्न, सिनेमा हेर्नुपर्छ
previous post