नेपालको जेठो प्रजातान्त्रिक दल नेपाली कांग्रेस सांगठनिक संरचनाका हिसाबले अझै संक्रमण मै छ । संविधान ले देशलाई संघियतामा लगेको चारवर्ष पुग्न लाग्दासम्म कांग्रेस पुरानै संरचनामा छ । सरकारको नेतृत्व छाडेको पनि डेढ वर्ष बढी भै सक्यो तर निर्वाचनमा भएको पराजयका कारण विक्षिप्त जस्तै बनेको कांग्रेसले बल्ल संगठन निर्माणको काममा ध्यान दिन थालेको छ । पराजको जिम्मा कसले लिने भन्ने कुरामा महिनौं विवाद गरेर समय गुजारेको कांग्रेसको आइबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले ‘नेपाली कांग्रेस स्थानीय तह संगठन पुनःर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका, २०७६’ पारित गर्दै मुलुकको नयाँ संरचनाअनुसार संगठन बनाउने निर्णय गरेको छ ।
लामो समयसम्म कांग्रेसमा पार्टीको अन्तरिम संरचना सहमतिबाट गठन गर्ने कि चुनाव गर्नेमा विवाद हुँदै आएको थियो । यसको निरुपण गर्दै कात्तिक मसान्तसम्ममा संविधान अनुसार स्थानीय तहमा सहमतीका आधारमा स्थानीय तहमा पार्टीको अन्तरिम संरचना निर्माण गर्ने निर्णय गरेको हो । चुनावबाट नयाँ समितिहरू बनाउँदा पार्टीको आसन्न महाधिवेशनलाई पनि प्रभाव पार्ने भएकाले गाउँदेखि वार्ड, क्षेत्रसम्म सहमतिमार्फत् नयाँ संरचना बनाउने सर्वसम्मत निर्णय भएको कांग्रेसले जनाएको छ । कांग्रेसका अनुसार संविधानअनुसार जहाँ–जहाँ नयाँ संरचना बनेको छ, त्यसअनुसार पार्टीको अहिलेको समिति समायोजन गर्ने र निर्देशिकाले दिएको कार्य विधि अनुसार वार्डदेखि गाउँ तहसम्म पार्टीको नयाँ संरचना बन्नेछ ।
गुटगत राजनीतिले क्लान्त बनेको कांग्रेसमा सहमतिको आधारमा नेतृत्व चयनको कुरा कति कार्यान्वयनमा आउँछ हेर्न बाँकी छ । ओली र प्रचण्ड झगडा गर्छन र हाम्रो अवसर आउँछ भन्ने गौंडो कुरुवा प्रवृति त्यागेर संगठन निर्माण गर्न लागि पर्नु अवको कांग्रेसको आवश्यकता हो । समय छँदासम्म ढुक्क बस्ने अनि समय गुज्रन लागेपछि तदर्थ वादमा लाग्ने कुरा कांग्रेसका लागि घातक हुन्छ । नेताहरुले बेलैमा सोच्नु जरुरी छ ।