दमौली/तनहूँ तथा कास्कीका विभिन्न विद्यालयका विद्यार्थीहरुले वाटर रकेट निर्माण गरी उडाएका छन् । शनिबार शिक्षा तालिम केन्द्र दमौलीमा आयोजित वाटर रकेट निर्माण कार्यशालामा सहभागि विद्यार्थीले रकेट उडाएका हुन् ।
विज्ञान शिक्षक समाज नेपाल STAN तनहूँ र विद्यार्थी विज्ञान क्लब तनहूँको आयोजनामा सम्पन्न एक दिने कार्यशाला पश्चात समूहगत रुपमा विद्यार्थीहरुले निर्माण गरेका वाटर रकेट उडाउने परिक्षण गरिएको थियो । परिक्षण उडानका क्रममा सबै समूहले निर्माण गरेका वाटर रकेटहरु सफलता पूर्वक उडेका थिए । विभिन्न २४ विद्यालयका सय भन्दा बढी विद्यार्थी तथा शिक्षक सहभागि कार्यशालामा नेपाल बैज्ञानिक क्रियाकलाप तथा अनुसन्धान केन्द्रका अध्यक्ष कृष्णराज अधिकारी सहित विज्ञान शिक्षक समाजमा आवद्ध ६ वरिष्ठ व्यक्तित्वहरुले सहजिकरण गरेका थिए ।
वाटर रकेट निर्माण कार्यशालमा सहभागी हुन पाउँदा खुसी लागेका बताउँदै जनज्योति माविकी विद्यार्थी मोनालिसा पोख्रेलले सैद्धान्तिक ज्ञानलाई व्यवहारिकतामा परिणत गर्न पाउँदा सिकाइ प्रभावकारी भएको बताईन । न्यूटनको तेस्रो नियमबारे किताबमा पढेको र त्यसलाई व्यवहारमै उतार्न पाउँदा खुसी छिन्, सिद्धेश्वरी माविकी छात्रा सुमिरा आले । सोही विद्यालयकी अर्की छात्रा स्वस्तिका अधिकारीलाई वाटर रकेट बनाउने विधि खासै कठिन लागेन । अधिकारीका अनुसार दुईवटा ठूला चिसोपेयका बोतल, कार्डबोर्ड पेपर, प्लाष्टिक टेप र एक्स रे पेपरको सहायताले वाटर रकेट बनाउन सकिन्छ । विद्यालयको वार्षिकोत्सव आएकोले उक्त अवसरमा अभिभावकलाई वाटर रकेट बनाएर उडाएर देखाउने योजना अधिकारी र आलेको छ ।
विज्ञान शिक्षक समाजका केन्द्रिय कोषाध्यक्ष देवेन्द्रराज कर्ण र ERC-STAN का अध्यक्ष शैलेन्द्र शाहले Motivational speech गरेको कार्यक्रम STAN का सचिव युवराज निरौला र क्त्ब्ल् तनहूँका सचिव चिनबहादुर रानाभाटले संयुक्त रुपमा सञ्चालन गरेका थिए भने विद्यार्थी विज्ञान क्लब तनहूँका अध्यक्ष आविष्कार कट्टेलले स्वागत गरेका थिए ।
विज्ञान शिक्षक समाज नेपाल तनहूँका अध्यक्ष सुदिप आचार्यको सभापतित्वमा कार्यशाला आयोजना गरिएको थियो । अध्यक्ष आचार्यका अनुसार छिट्टै तनहूँका विद्यार्थीहरुबीच वाटर रकेट निर्माण प्रतियोगिता सञ्चालन गरी उत्कृष्ट दुई विद्यार्थीलाई आगामि नोभेम्वरमा जापानमा हुने अन्तर्राष्ट्रिय स्तरमा हुने प्रतियोगितामा सहभागिताका लागि पठाउने तयारी भइरहेको छ ।