पृष्ठभूमि
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा वि.सं. १९३३ फागुन २ गते एक महत्वपूर्ण मितिको रुपमा देखा पर्दछ। कारण सो दिन आफ्नो निरङ्कुश जहाँनिया शासनको संगठित राजनीतिक विरोध गरेबापत जङ्गबहादुर राणाले क्याप्टेन लखन थापा मगरलाई झुण्ड्याएरमारेका थिए। राजनीतिक कारणले मृत्युवरण गर्ने पहिलो प्रामाणिक व्यक्ति भएको हुनाले उहाँ नेपालका प्रथम सहिदको रुपमा पूज्य हुनुहुन्छ। उहाँलाई नेपालको संविधान घोषणाको अघिल्लो दिन वि.सं. २०७२ साल असोज २ गते तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले देशको पहिलो सहिद घोषणा गरेको थियो। प्रथम सहिद क्याप्टेन थापा मगरकै प्रेरणाबाट वि.सं. १९९७ सालमा धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ गरी चारजना सपूतहरुले प्रजातन्त्रको पक्षमा राणाशासनको विरोध गर्दा सहादत प्राप्त गरेका थिए, जुन सहादत नेपालमा राणाशासन अन्त्यको लागि कारक र निर्णायक बन्यो ।
राणाशासनको अन्त्य र तत्पश्चात् आजसम्म भएका हरेक आन्दोलनमा योगदान पुर्याउनेहरुको अग्रपंक्तिमा मगरहरुको पनि विशेष स्थान रहेको इतिहास साक्षी छ। लोकतान्त्रिक आन्दोलनहरुमा मगरहरुको योगदानको चर्चा गर्नुपर्दा मगरहरुमध्ये पनि नेपाली काँग्रेसमा आबद्ध मगरहरु र त्यसमा पनि तनहुँका मगरहरुबारे यो आलेख केन्द्रित छ ।
मगरहरुको परिचय
नेपालमा मगरहरुको मूलतः दुई प्रकारको परिचय बनेको देखिन्छ। पहिलो – वीर र बहादुर नेपाली। मगरहरु एकातिर नेपालको एकीकरणपूर्वका शासकको रुपमा र एकीकरणकालमा वीरतापूर्ण योगदानका लागि प्रसिद्ध छन् भने अर्कोतिर वीर गोर्खाको रुपमा विश्वभर सुपरिचित छन्। दोस्रो – सोझा, सरल, इमानदार र मेहनती जाति । मगरहरुको विभिन्न क्षेत्र खासगरी राजनीतिक क्षेत्रमा संलग्नता, सहभागिता र प्रभाव त्यति बलियो देखिँदैन। यसको एउटा प्रमाणको रुपमा नेपाली काँग्रेसको वर्तमान केन्द्रीय कार्य समितिमा एकजना मात्र मगर सीताकुमारी राना सदस्य निर्वाचित हुनु हो भने यसअघि बाबुराम राना मात्र केन्द्रीय सदस्य मनोनित हुनुभएको थियो। यस्तो कटु यथार्थ र वास्तविकता विद्यमान भएपनि मगरहरुबारे ओझेलमा परेको पाटो के हो भने लोकतन्त्र र स्वतन्त्रताको लडाईंमा मगरहरुको योगदान सदा अग्रभागमा रहेको छ । मगरहरुको राजनीतिक योगदानलाई यो छोटो आलेखमा बिस्तृत रुपमा समेट्न सम्भव छैन । तसर्थ, प्रस्तुत लेखमा तनहुँका नेपाली काँग्रेसआबद्ध मगरहरुको राजनीतिक अवस्थाबारे संक्षिप्त चित्रण गर्ने प्रयास गरिएको छ ।
तनहुँमा मगरहरु
नेपालको १२औं राष्ट्रिय जनगणना, २०७८ अनुसार देशमा मगरहरुको जनसंख्या क्षेत्री र ब्राह्मणपछि तेस्रो स्थानमा रहेको छ। मगरहरुले कुल जनसंख्याको ६.९% ओगट्छन् भने तनहुँको सन्दर्भमा २६.०४% (८३,६३९) जनसंख्यासहित पहिलो स्थानमा मगरहरु रहेका छन् ।
विषयवस्तु प्रस्तुतिको सहजताको लागि नेपालको राजनीतिक इतिहासलाई निम्न ४ भागमा विभाजन गरी मगरहरुको भूमिकाबारे उल्लेख गर्ने प्रयास गरिएको छः
(क) २००७ – २०१७
(ख) २०१७ – २०४६
(ग) २०४६ – २०६२÷०६३
(घ) २०६२÷०६३ – २०८०
२००७ – २०१७ (जनक्रान्तिपूर्वदेखि जनक्रान्तिपछिको संक्रमणकालीन अवधि)
नेपालमा जति पनि लोकतान्त्रिक आन्दोलन र संघर्षहरु भएका छन्, ती सबैको नेतृत्व नेपाली काँग्रेसले गरेको जगजाहेर छ । २००३ सालमा स्थापित नेपाली काँग्रेसले २००७ सालको जनक्रान्तिको सफल नेतृत्व गरेको थियो। सो जनक्रान्तिमा तनहुँको पनि सक्रिय र नेतृत्वदायी भूमिका रह्यो। यसमा पनि मगरहरुको उल्लेख्य भूमिका रह्यो ।
तत्कालीन काँग्रेस नेता श्रीभद्र शर्मालगायतको नेतृत्वमा भएको २००७ सालको बन्दीपुर कब्जा आन्दोलनको क्रममा सेनाबाट बन्दूक खोस्न जाँदा हवल्दार सन्त बहादुर रानाले सहादत प्राप्त गर्नुभएको थियो। वि.सं. २०२५ सालसम्म तनहुँको सदरमुकाम रहेको बन्दीपुर तत्कालीन समयमा जिल्लाको आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्र थियो। सो आन्दोलनमा हवल्दार रानाकै सहोदर भाई दलसुर रानाको दाहिने कञ्चटमा चोट लागेर सख्त घाईते हुनुभएको थियो भने आन्दोलनको क्रममा मुक्ति सेनाका योद्धाहरुलाई खाना खुवाउने, उपचार गर्ने, बास दिने आदि काम गरेर हवल्दार सन्त बहादुर रानाको दिदी करुमाया राना र दलसुर रानाकी धर्मपत्नी डिलमाया रानाले ठूलो योगदान पुर्याउनु भएको थियो। उक्त आन्दोलनमा सेतीपारिबाट मिछुर्लुङ्गका पदम बहादुर आले र सेतीवारिबाट छाङका मणिराज राना लगायतका युवाहरुको नेतृत्वमा मगरहरुले सक्रिय सहभागिता जनाएका थिए।
२००७ देखि २०१७ पुस १ गतेबीचको राजनीतिक संक्रमणकै अवधिमा देशभरजस्तै तनहुँमा पनि नेपाली काँग्रेसको संगठन बिस्तार हुँदै गइरहेको थियो। परिणामस्वरुप २०१५ सालको पहिलो आमनिर्वाचनमा तनहुँका दुवै निर्वाचन क्षेत्रबाट नेपाली काँग्रेसका उम्मदेवारहरु अत्यधिक मतकासाथ निर्वाचित हुनुभएको थियो । सो निर्वाचनमा पदम बहादुर आलेले निर्वाचन क्षेत्र नं. १०२ बाट देशमै तेस्रो सर्वाधिक मत ल्याएर चुनाव जित्नुभएको थियो भने अर्को क्षेत्रबाट श्रीभद्र शर्मा निर्वाचित हुनुभएको थियो।
(ख) २०१७ – २०४६
नेपाली काँग्रेसको दुईतिहाई बहुमतको सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ गते अपदस्त गरेर देशमा निर्दलीय पंचायती व्यवस्था लागू गरे, दलहरुमाथि प्रतिबन्ध लगाए। दलहरुले भूमिगतरुपमा आफ्ना सांगठनिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भयो। प्रतिबन्धको कठिन समयमा पनि तनहुँमा नेपाली काँग्रेसको गतिविधिमा कमी आएन। भरतपुर कब्जा आन्दोलनमा वरभञ्ज्याङ्गका २७ वर्षे शिक्षित युवा बुद्धसिँह रानाले वि.सं. २०१८ माघ १२ गते सहादत प्राप्त गर्नुभयो । पञ्चायतले उहाँको लाससमेत गायब बनाएको थियो । यही अवधिमा नेपाली काँग्रेसको आह्वानमा राष्ट्रिय मेलमिलापको नीति (२०३३), जनमत संग्रह(२०३६), सत्याग्रह (२०४२) र संयुक्त जनआन्दोलन (२०४६) जस्ता ऐतिहासिक आन्दोलन भए ।
खासगरी जनमत संग्रहमा बहुदललाई जिताउन र सत्याग्रह आन्दोलन सफल बनाउन सक्रिय र महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रज मगरहरुमा पूर्वसांसद स्व. पदमबहादुर आले (मिछुर्लुङ्ग), स्व. मणिराज राना (छाङ), विष्णुवीर आले (मिछुर्लुङ्ग), स्व. लेफ्टिनेन्ट मानध्वज राना (दमौली), क्या. बलराम राना (तनहुँसुर), स्व. केशर बहादुर आले (कोटदरबार), निल बहादुर थापा(कोटदरबार), स्व. झुल बहादुर आले (कोटदरबार), याम बहादुर आले (काहुँ शिवपुर– हाल पार्टी परित्याग), बल बहादुर आले (छाङ), मायादेवी राना (छाङ), चीन बहादुर आले (सामुङ भगवतीपुर), जीतप्रकाश आले (मिछुर्लुङ), पार्वती राना (घाँसीकुवा), स्व. श्रीराज राना (छाङ), डम्बर बहादुर राना (पिरुङ), सह–प्राध्यापक गोवर्धन राना (तनहुँसुर), स्व. ताराराज राना (छाङ), स्व. अम्मर बहादुर राना (कोटदरबार), स्व. बल बहादुर थापा (कोटदरबार), जीतराज राना (छाङ), स्व. हिरासिंह थापा (किँहुँ), खम्बसिँह राना (कोटा), जंगवीर आले (कोटदरबार), भक्त बहादुर आले (कोटदरबार), मधुसिँह थापा (काहुँ शिवपुर), स्व. तिलकबहादुर थापा (छाङ), लेख बहादुर थापा (मनपाङ), प्रभात आले (मिछुर्लुङ), यज्ञबहादुर राना (श्याम्घा, हाल उच्च अदालतका माननीय न्यायाधीश), लेखबहादुर राना (पोखरीभञ्ज्याङ), स्व. भुवनसिं थापा (अरुणोदय) लगायतका मगर अग्रजहरु हुनुहुन्थ्यो । उहाँहरुमध्ये धेरै अग्रजहरु जेल तथा हिरासतको चिसो छिँडीमा रहनुभयो। पञ्चायतले गराएको तथाकथित चुनावमा ईतर पक्ष नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार भई जिल्ला पञ्चायतको सभापतिमा विष्णुवीर आले, उपसभापतिमा स्व. केशर बहादुर आले (त्यसअघि गाउँ पञ्चायत प्रधानपञ्च) तथा जिल्ला पञ्चायत सदस्यमा निल बहादुर थापा, स्व. झुलबहादुर आले, गाउँ पञ्चायतको प्रधानपञ्चमा चीन बहादुर आलेलगायतका मगरहरु निर्वाचित हुनुभएको थियो।
(ग) २०४६ – २०६२/६३
नेपाली काँग्रेस र संयुक्त वाममोर्चाको नेतृत्वमा लौहपुरुष गणेशमान सिँहको निवास चाक्सीबारीबाट २०४६ फागुन ७ गतेबाट प्रारम्भ भएको संयुक्त जनआन्दोलन चैत २६ गते प्रजातन्त्र पुनर्वहालीसँगै सफल भएको थियो। देशमा गणेशमान सिंहले नेतृत्व गर्नुभएको सो आन्दोनको तनहुँमा काँग्रेस पार्टीबाट जिल्ला सभापति पदम बहादुर आलेले नेतृत्व गर्नुभएको थियो, जसमा मगरहरुको उल्लेख्य र सक्रिय सहभागिता रहेको थियो ।
माओवादी द्वन्दकाल (२०५२ – २०६३) मा मगरहरु
२०५२ फागुन १ गते शुरु भएको माओवादी द्वन्दकालमा काँग्रेस भएबापत माझकोटका खड्ग बहादुर थापा मगर मारिनुभयो भने चीन बहादुर आले (सामुङ भगवतीपुर), डम्बरबहादुर राना (माझकोट), यम बहादुर राना (रानीपोखरी पल्ट्याङ), खेम बहादुर थापा (राम्जाकोट बुञ्जी), नरबहादुर थापा (खैरेनीटार), तोलबहादुर राना (माझकोट) जस्ता व्यक्तिहरु माओवादीको तथाकथित भौतिक कारवाहीमा परी हातखुट्टा भाँचिएर अंगभंग भएर जीवनभर सकसपूर्ण जीवन जिउन विवश हुनुहुन्छ । एकातिर स्व. रेखा राना लगायतका मुक्ति सेनाका साहसी सिपाहीहरु पार्टीको बेवास्ताको शिकार बन्नु परेको अवस्था रह्यो भने अर्कोतर्फ काँग्रेस मगरहरु विस्थापित भई त्राही–त्राहीको जीवन भोग्न बाध्य हुनुभयो।
(घ) २०६२/६३ – हालसम्म नेपाली काँग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा १० वर्षे माओवादी हिंसात्मक द्वन्दको २०६३ सालमा शान्तिपूर्ण अवतरण भएपछि पहिलो संविधानसभा निर्वाचन (२०६४), राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा (२०६५), दोस्रो संविधानसभा निर्वाचन (२०७०), संविधान घोषणा (२०७२), आमनिर्वाचन (२०७४, २०७९) लगायतका महत्वपूर्ण राजनीतिक घटनाहरु भएका छन् । देश संघीयतामा आयो ।
यतिबेला २००७ सालदेखि २०१७ सम्मको अवधि आसपास राजनीतिमा संलग्न मगरहरुको पहिलो पुस्ता जीवित हुनुहुन्न । त्यसपछिको ऐतिहासिक महत्वको राजनीतिक घटना २०३६ सालको जनमत संग्रहदेखि आजसम्म देशमा भएका आन्दोलन र सांगठनिक गतिविधिमा सक्रियतापूर्वक लागेर हालसम्म पनि राजनीतिमा निरन्तर लागिरहेका तनहुँका मगरहरुमा जीतप्रकाश आले, निलबहादुर थापा, मायादेवी राना, बल बहादुर आले, चीन बहादुर आले, पार्वती राना, डबलसिं राना, प्रभात आले, डम्बर बहादुर राना (पिरुङ), जीतराज राना (छाङ), खम्बसिँह राना (कोटा), लेख बहादुर थापा(मनपाङ), लेखबहादुर राना (पोखरीभञ्ज्याङ), वसन्तबहादुर आले (पोखरीभञ्ज्याङ), मिलन आले(भिमाद), भीम बहादुर थापा (राईपुर), इन्द्रबहादुर थापा (वैदी), पोलबहादुर आले (वैदी), वीरबहादुर थापा (मानहुँ), हिरा बहादुर थापा (मानहुँ), पदम बहादुर थापा (राम्जाकोट), चाम बहादुरथापा (मानहुँ), सोल बहादुर मगर (आँबु), सरस्वती थापा (केशवटार), इन्द्र बहादुर आले(कोटदरबार), याम बहादुर थापा सारु (कोटदरबार), दुर्ग बहादुर राना (भिरकोट), श्रीराम आले(डुकुडाँडा), युवराज आले (केशवटार), तिलबहादुर थापा (कोटदरबार), गिरबहादुर थापा (आँबु), पदमबहादुर थापा (कोटदरबार), क्या. खिलबहादुर थापा (वरभञ्ज्याङ), लेमबहादुर राना(गजरकोट), माया राना (व्यास), सविना राना (ऋषिङ्ग), आशा थापा (भानु), गिनुमाया थापा (दुबुङ), पम्फा थापा(खैरेनीटार), नरमाया आले (धँयरे), भीम कुमारी आले (धँयरे), विष्णुवीर थापा (सामुङ भगवतीपुर), सुमन थापा (सामुङ भगवतीपुर), तिल बहादुर थापा (कोटदरबार), याम बहादुर थापा (सामुङ भगवतीपुर), सुमन राना मगर (शुक्लागण्डकी), सीता थापा (बन्दीपुर) लगायतका सयौं व्यक्तिहरु हुनुहुन्छ ।
पार्टी जिम्मेवारीमा मगरहरु
नेपाली काँग्रेसमा लागेर तनहुँका एकजना मात्र मगर केन्द्रीय आमन्त्रित सदस्यसम्म बन्न सफल हुनुभएको छ। उहाँ बल बहादुर आले हुनुहुन्छ ( जो जिल्ला विकास समितिको उपसभापति निर्वाचित हुनुभएको थियो)। हालसम्म पार्टीको जिल्ला सभापति हुनेमा स्व. पदम बहादुर आले र हाल उहाँकै छोरा जीतप्रकाश आले तनहुँ काँग्रेसको सभापति हुनुहुन्छ। पार्टीको जिल्ला उपसभापति भइसक्नु भएका मगरहरुमा याम बहादुर आले (हाल पार्टी परित्याग), निल बहादुर थापा(महासमिति सदस्य, क्षेत्रीय सभापति) र स्व. ताराराज राना (जिल्ला सचिव, महासमिति सदस्य) हुनुहुन्छ भने सहिद बुद्धसिंह राना जिल्ला सचिव, विष्णुवीर आले र स्व. झुल बहादुर आले महासमिति सदस्य एवं स्व. केशर बहादुर आले, स्व. हिरासिंह थापा, चीन बहादुर आले महाधिवेशन प्रतिनिधि बनिसक्नु भएको छ ।
१४औं महाधिवेशन पछि हाल गण्डकी प्रदेश सदस्यमा मायादेवी राना, जिल्ला सहसचिव मिलन आले, महासमिति सदस्यमा पम्फा थापा, महाधिवेशन प्रतिनिधिहरुमा भीम बहादुर थापा, चामबहादुर थापा, प्रभात आले, गिनुमाया थापा, नरमाया आले, जिल्ला सदस्यहरुमा कुम्भसिंह राना, इन्द्र बहादुर थापा, तिल बहादुर थापा (व्यास), माया राना, दुर्ग बहादुर राना, केशरी थापा मगर,नविन थापा मगर, बोमाया राना, भिम कुमारी आले, प्रदेशसभा क्षेत्रीय सभापतिमा जीतराज राना र इन्द्रबहादुर आले, गाउँ/ नगरपालिका सभापतिमा तिलबहादुर थापा (देवघाट), तिलबहादुर थापा (ऋषिङ्ग), यामबहादुर थापा (घिरिङ) हुनुहुन्छ ।
भातृसंस्थातर्फ नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्षमा बन्नेमा यामबहादुर आले, वसन्तबहादुर आले, मनप्रसाद थापा, हीराबहादुर थापा, नेपाल तरुण दलको जिल्ला अध्यक्षमा वीरबहादुर थापा र हीराबहादुर थापा पदासिन हुन सफल हुनु भएको छ। हाल हीराबहादुर थापा नेपाल तरुण दलको जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य र बमबहादुर थापा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य हुनुहुन्छ ।
संसद र सरकारमा मगरहरु
वि.सं. २०१५ सालको पहिलो आमनिर्वाचनमा पदम बहादुर आले निर्वाचन क्षेत्र नं. १०२ बाट नेपाली काँग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो भने २०४८ मा भने उहाँ तनहुँ क्षेत्र नं. ३ बाट झिनो मतले उपविजेतामा सिमित हुनुभयो। उक्त निर्वाचनमा काँग्रेसको गढ तनहुँ क्षेत्र नं. २ मा पदमबहादुर आलेलाई पार्टीले टिकट दिएकोमा तिकडमपूर्वक उहाँलाई तनहुँ क्षेत्र नं. ३ बाट चुनाव लडाउँदा उक्त दुःखद परिणाम आएको थियो। यसले मगरहरुको राजनीतिमा दीर्घकालीन असर पुर्यायो।
२०५६ सालको आमनिर्वाचनमा सोही निर्वाचन क्षेत्र तनहुँ ३ (जुन क्षेत्रबाट २०५१ सालको मध्यावधि निर्वाचनमा अमरराज कैनी निर्वाचित हुनुभएको थियो) बाट स्व. आलेकै सहोदर भाई विष्णुवीर आले पराजित हुनुभयो भने २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पुस्ताका अग्रणी नेता मणिराज रानाका कान्छा सुपुत्र ताराराज राना र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पदम बहादुर आलेपुत्र जीतप्रकाश आले दुवैजना दोस्रो स्थानमा रहनुभयो। पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा समानुपातिक तर्फबाट क्रमशः उर्मिला थापा “पार्वती” र झुलबहादुर आले संविधानसभा सदस्य बन्नुभयो। (थापा स्वास्थ्यको कारण सक्रिय राजनीतिमा हुनुहुन्न भने आलेको निधन भइसकेको छ ।) हाल गण्डकी प्रदेशसभाको आर्थिक मामिला मन्त्रीको रुपमा जिल्ला सभापति जीतप्रकाश आले हुनुहुन्छ । उहाँ तनहुँ २(२) बाट सांसद निर्वाचित हुनुभएको हो।
स्थानीय तहतर्फ चर्चा गर्दा २०७४ सालको जिल्ला समन्वय समिति सदस्यमा निल बहादुर थापा र घनीमाया थापा, म्याग्दे गाउँपालिका अध्यक्षमा मायादेवी राना, आँबुखैरेनी गाउँपालिका अध्यक्षमा गिर बहादुर थापा, ऋषिङ्ग गाउँपालिका उपाध्यक्षमा गिनुमाया थापा (२०७९ मा पुनःनिर्वाचित), देवघाट गाउँपालिका उपाध्यक्षमा विमला थापा, २०७९ सालको निर्वाचनबाट जिल्ला समन्वय समिति सदस्यमा तिलादेवी आले राना, देवघाट गाउँपालिका अध्यक्षमा तिल बहादुर थापा र व्यास न.पा. वडा नं. ३, १२ र १३ मा क्रमशः अनुप राना, बम बहादुर आले र वसन्तबहादुर आले, शुक्लागण्डकी न.पा. वडा नं. २ र ७ मा क्रमशः सुमन बहादुर राना मगर र खड्गसिँ थापा, भिमाद न.पा.– १, ४ र ५ मा क्रमशः दीपक आले, रामकृष्ण राना, पदम बहादुरथापा, ऋषिङ्ग गा.पा. वडा नं. २, ३, ५, ६ र ७ मा क्रमशः दल बहादुर थापा, भीम बहादुर थापा,बुद्धिमान राना मगर, भक्त बहादुर आले र दुर्गा बहादुर थापा, म्याग्दे गा.पा.–५ मा शिव बहादुर आले, देवघाट गा.पा.–२ र ३ मा मीन बहादुर थापा मगर र टेक बहादुर आले साथै घिरिङ गा.पा.वडा नं. ५ मा विष्णुवीर आले गरी काँग्रेसले जितेका ४८ वडा अध्यक्षमध्ये १८ जना वडा अध्यक्ष मगर हुनुहुन्छ ।
प्राप्ति र त्याग
यसरी तनहुँमा मगरहरुले काँग्रेसको सिपाही बनेर यथोचित अवसर नपाएपनि प्राप्त उपलब्धि अत्यन्त निराशाजनक नै भने छैन । अत्यन्त आशा गरिएका प्रतिभाशाली याम बहादुर आलेदेखि जुझारु विद्वान गोवर्धन राना, शालीन ताराराज राना र कुनै जमानामा तनहुँ काँग्रेसको खम्बा रहेका ले. मानध्वज राना, क्या. बलराम राना जस्ता व्यक्तिहरुको प्रतिभा र क्षमतालाई भनेकाँग्रेसले सदुपयोग गर्न सकेन, जसबाट विशेषगरी काँग्रेसमार्फत् राजनीतिमा लागेका युवा पुस्ताका मगरहरुलाई समेत प्रभावित गरेको छ। पार्टीमा भएको अराजनीतिको शिकार बनेर दिक्क हुँदै पार्टीको भातृसंस्था नेपाल राष्ट्रिय मगर संघको वरिष्ठ केन्द्रीय उपाध्यक्ष र पार्टीको जिल्ला उपसभापति भइसक्नु भएका याम बहादुर आलेले काँग्रेस परित्याग गर्नुभयो भने “साम्यवाद” र “ नेपालकाे प्रजातान्त्रिक आन्दाेलनमा नेवि संघ” जस्ता पुस्तकका लेखक सह–प्राध्यापक गोवर्धन राना पनि हाल सक्रिय राजनीतिमा हुनुहुन्न । २०५१ सालको मध्यावधि निर्वाचनमा यामबहादुर आलेले (वर्तमान सम्माननीय राष्ट्रपति) रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दर्ता गरेपनि आन्तरिकरुपमा मिलाइएपनि सो कदमले काँग्रेस मगरहरुमा एकातिर असन्तोष र विद्रोहको झिल्को बालेको थियो भने अर्कोतर्फ काँग्रेस मगरहरुबीचको एकतालाई पनि असर पुर्याएकोमा २०७९ सालको स्थानीय निर्वाचनमा संविधानसभा सदस्य झुल बहादुर आलेको नेतृत्वमा विद्रोह भई बागी उम्मेदवारी परेपनि प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म आइपुग्दा विद्रोही समूह मातृपार्टीमा फर्किसकेको थियो ।
समग्रमा, करिब साढे सात दशकको अवधिमा नेपाली काँग्रेसमा आबद्ध भएर सन्त बहादुर राना, बुद्धसिंह राना र खड्ग बहादुर थापा गरी तीनजना सहिद, दर्जनौं घाईते, अंगभंग तथा विस्थापित, सयौंको जेलनेल अनि हजारौंको पसिना र मेहनतको योगदानबापत तनहुँका मगरहरुले पार्टीमा एकजना केन्द्रीय आमन्त्रित सदस्य, दुईजना जिल्ला सभापति र सरकारतर्फ तीनजना केन्द्रीय सांसद तथा एकजना प्रदेशमन्त्री अनि केहीले स्थानीय तहमा जिम्मेवारी पाएपनि सन्तोष मान्न सकिने स्थिति नरहेको प्रष्ट छ । यसतर्फ पार्टी नेतृत्वको ध्यान जानु जरुरी देखिन्छ ।