विगतका वर्षहरुमा झै यस वर्ष पनि ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस र ४० औं राष्ट्रिय शिक्षा दिवस मनाइँदै छ, भाद्र २२ अर्थात सेप्टेम्बर ८ तारिख मा । सरकारले वर्ष २०६७ लाई साक्षर नेपाल वर्ष घोषणा गरेको छ, तर ७७ मध्ये ५१ जिल्लामात्र साक्षर घोषणा भएको वर्तमानलाई आत्मसाथ गर्ने हो भने बाँकी २६ जिल्लालाई डेढ वर्षको अवधिमा साक्षर बनाउनु र पूर्ण साक्षर नेपाल बनाउनु असम्भव नभएपनि कठिन छ । देशलाई साक्षर बनाउने भन्दै राज्यले साक्षर अभियान सञ्चालन सुरु गरे यता साढे सात अर्ब खर्चिसकेको छ । २०४६ को राजनैतिक परिवर्तन पश्चातका हरेक निर्वाचनमा राजनैतिक दलहरुले साक्षर नेपाल बनाउने कुरालाई प्रमुख एजेण्डा बनाएको भएपनि अपेक्षित सफलता हात लागेको छैन ।
यस वर्ष ‘हामी सबैको प्रण– सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने नाराका साथ राष्ट्रिय शिक्षा दिवस मनाउन लागेको छ । यसको अर्थ खस्कँदै गएको नेपालको सार्वजनिक शिक्षा प्रणालीको सवलिकरण गर्नु हो । हुनपनि विगत केही वर्ष यता नेपालका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या दिनानुदिन घट्दै गएको तितो यथार्थ हाम्रा सामु छ । आम अभिभावकमा सामुदायिक विद्यालयको शिक्षाका प्रति विश्वास घट्दै गएको प्रमाण हो यो । छिमेकमा भएको सामुदायिक विद्यालयमा छोरा छोरी पढ्न नपठाएर निजी विद्यालयमा पठाउने अभिभावकको संख्या पनि दिनदिनै बढ्दै छ । हुने खानेका छोराछोरी त निजी विद्यालयमा पढ्छन् तर हुँदा खानेका बालबालिका भने खस्कँदो शैक्षिक वातावरण भएका सामुदायिक विद्यालयमा पढ्न बाध्य छन् । जसले दुइखाले जनशक्ति उत्पादन गर्ने निश्चित छ । यस्तो अवस्थामा सार्वजनिक शिक्षा प्रणालीमा सवलिकरण अत्यावश्य भै सकेको छ, जहाँ हुँदा खानेपरिवारका बालबालिका अध्ययन गर्ने गर्दछन् ।
साक्षर घोषण गर्न बाँकी जिल्लाहरुमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी बाँकी अवधिमा साक्षर तुल्याउने र नारामा भनिए झै सार्वजनिक शिक्षा प्रणालीको सवलिकरणमा राज्यको ध्यान जाने हो भने बल्ल दिवस मनाउनुको सार्थकता रहन्छ । शिक्षाका बजेट बढाउनु साटो घटाउँदै लैजाने तर सार्वजनिक शिक्षा प्रणालीमा सवलिकरण गर्ने कुरा त्यति सुहाउँदो छैन । यो वर्ष देशभरका साक्षर हुन बाँकी रहेका १५–६० उमेर समूहका झण्डै एकलाख नागरिकलाई साक्षर बनाउन सक्यौं भने हामी लक्ष्यमा पुग्न सक्नेछौं । लक्ष्य तर्फ हाम्रो यात्रा अगाडि बढोस्, यहि कामना !