रमेश विकल
अघिल्लो बुधबार अर्थात माघ, १२ गते केन्द्रीय तथ्याङ्क विभागले बाह्रौं जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक ग¥यो । सार्वजनिक नतिजा अनुसार नेपालको जनसंख्याको वृद्धिदर ०.९३ रहेको छ जनु दोस्रो(१९७७) र तस्रो
(१९८८) जनगणनामा ऋणात्मक रहे बाहेक हालसम्मकै कम हो ।
काठमाण्डौंको जनसंख्या वृद्धिदर कम देखिएको तथा मनाङमा जनसंख्याभन्दा मतदाता नामावलीमा नाम हुनेको संख्या बढी भएको भन्ने लगाएतका कुराले गणक घरघरमा पुगेर गणना गरेनन कि भन्ने अशंका उब्जाएको छ । भदौ ३० मा सुरु भई असोज १८ मा सम्पन्न भएको पहिलो चरणको तथा कार्तिक २५ मा सुरु भएर मंसिर ९ मा सम्पन्न भएको दोस्रो चरणको स्थलगत कार्यका क्रममा सुपरिवेक्षक तथा गणक घरघरमा नपुगेका भन्ने गुनासाहरु धेरै आएको छन् । सभासदले समेत उक्त गुनासा गरेका कारण गुनासा र आशंकामा थप बल मिलेको छ ।
संघीय र प्रदेश निर्वाचन क्षेत्रको संख्या तथा क्षेत्र निर्धारण गर्ने कार्यमा जनगणनाको तथ्याङ्क प्रयोग गरिदै आएको छ । तसर्थ राष्ट्रिय जनगणना अंकको मात्र संकलन नभएर एक राजनीतिक विषय र राष्ट्र निर्माणको अभियानको महत्वपूर्ण कार्य हो ।
संविधानमा व्यवस्था भएको मौलिक हकहरूको कार्यान्वयन गर्न र त्यसको मूल्याकन गर्न,सामाजिक सुरक्षा कार्यक्रम तर्जुमा गर्न, आर्थिक तथा सामाजिक रुपले पछाडि परेका महिला, पुरुष, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू, बालबालिका, वृद्ध, बुद्धा, अपाङ्गता भएका व्यक्ति, दलित, आदिवासी जनजाति, पिछडिएको क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूको हित सम्बोधन गर्न आवश्यक तथ्याङ्क जनगणनाबाट उपलब्ध हुन्छ । यसका साथै धार्मिक अल्पसंख्यक तथा सामाजिक मूल प्रवाहिकरणमा नपरेका व्यक्ति र समुदाय लगायत आम नागरिकको हक हितको सम्बोधन गर्न, तीनै तहको सरकारलाई वित्तीय स्रोत बांडफांड लगायतका कार्यका लागि आवश्यक तथ्याङ्ग जनगणनाबाट उपलब्ध हुन्छ । जनगणना गर्दा गणक वा सुपरिवेक्षकले गर्ने सानो गल्तीले पनि गलत तथ्याङ्क जान्छ र माथि भनिएका सबै पक्ष प्रभावितहुन्छन् ।
प्रारम्भिक नतिजामा तनहुँलाई नियाल्दा जनसंख्या वृद्धिदर समग्र देशको भन्दा निकै कम रहेको तथ्याङ्कले
देखाउँछ । २०६८ को जनगणनामा तनहुँको जनसंख्या तीनलाख २३ हजार २८८ रहेकोमा ०७८ मा आइपुग्दा तीनलाख २७ हजार ६२० पुगेको छ । जनु ०.१३ प्रतिशतको वृद्धि हो । देशभरको लैङ्गिक अनुपात ९५.१९ तथा गण्डकी प्रदेशको लैङ्गिक अनुपात ९०.८५ हुँदा तनहुँको भने ८७.५३ रहेको छ । यसैगरी देशभरमा जस्तै अक्सर यहाँ वसोवास गर्नेको संख्या पुरुषको भन्दा महिलाको बढी छ । पुरुषको जनसंख्याको प्रारम्भिक नतिजामा एक लाख ५२ हजार ९२१ छ भने महिलाको संख्या एक लाख ७४ हजार ६९९ रहेको छ । तनहुँका ३८ हजार ४४० मानिस रोजागरी वा अन्य सिलसिलामा अक्सर बाहिर बस्ने गरेको तथ्याङ्कले देखाएको छ । जसमा पुरुष ३४ हजार १५४ त भने महिलाको संख्या चार हजार २८६ रहेको छ ।
तनहुँका नगरपालिका मध्ये सदरमुकाम समेत रहेको व्यास नपाको जनसंख्या सबैभन्दा धेरै ८० हजार ९४४ रहेको छ भने सबैभन्दा थोरै भीमाद नगरपालिकाको ३३ हजार ७७ रहेको छ । जनसंख्याका हिसाबले शुक्लागण्डकी दोस्रो र भानु तेस्रो रहेका छन् ।
गाउँ पालिका तर्फ म्याग्दे गाउँ पालिकामा सबैभन्दा धेरै २३ हजार ३८५ मानिसको वसोवास हरेको छ भने सबैभन्दा थोरै देवघाटमा १४ हजार ९४१ को वसोवास रहेको छ । देशभरको तथ्याङक जस्तै तनहुको हरेक पालिकामा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको छ ।