कलेस्ती/तनहूँ जिल्लाको व्यास नगरपालिका वडा नं. ७ कलेस्तीमा डेढमहिने एडभान्स सिलाई कटाई तालिम सम्पन्न भएको कुरा त्यहाँबाट बाबुराम खनालले बताउनु भयो । तालिमलाई कल्पना के.सी. र सरीता सुनारले प्रशिक्षण दिनुभएको थियो ।
तीस जना युवा समूहका महिलाहरुको सहभागिता रहेको सो डेढ महिने तालिमको व्यास नगरपालिकाको उपप्रमुख मिरा जोशीले सुक्रबार समापन गर्नुभएको थियो । वडा नं. ७ को आयोजनामा भएको सो तालिमको समापन कार्यक्रममा बोल्दै उपप्रमुख मिरा जोशीले डेढ महिनाको सहभागिता र लगानीबाट सिकेको सीपबाट व्यवसायीक बनी आत्मनिर्भर जीवन जीउन सहभागिहरुलाई उत्प्रेरित गर्नुभएको थियो । वडाध्यक्ष सतिशचन्द्र न्यौपानेको सभापतित्वमा भएको सो कार्यक्रममा सदस्य पम्फा वाग्ले, सहभागि मिना गुरुङ्ग समेतले आफ्नो धारणा राख्नुभएको थियो ।