अदक्ष पद कुनै चानचुने पद होइन । यो पदमा पुग्न वा पाउन सानो मेहनत, परिश्रम र क्षमताले भ्याउँदैन । कुनै निर्माण कार्य होस् वा सम्वेदनशिल घटनाको छानविन होस् वा कार्य सम्पादन लापरवाही भएको वा आर्थिक विचलन रोक्न होस समिति बनाउने चलन छ । लेखासमिति, आर्थिक समिति, व्यवस्थापन समिति, शिक्षा समिति, निमार्ण, मूल्याङ्कन सञ्चालक, जाँचबुझ, सल्लाहकार, आयोजक खरिद विक्री जस्ता धेरै समिति छन् । वन, बाटो, विजुली, ढुङ्गा, गिटि बालुवा, उपभोग, उपभोक्ता लगायत यथानामक समितिहरु बनेकै हुन्छन् । समितिको अवधारणा आफैमा नराम्रो होइन । जो सुकै क्षेत्रमा बनेको समिति होस्, सम्बन्धित क्षेत्रको कार्य चुस्त दुरुस्त राख्नु र आर्थिक हिनामिना वा दुरुपयोग हुनबाट बचाउनका साथै नियमको परिधिभित्र रही तोकिएको कार्य सम्पादन गराउनु हुन सक्छ । समितिमा रहने व्यक्तिको काम गर्ने समय, अनुभव, तारतम्य मिलाउने सीप, परिआउँदा बाधा अड्चन फुकाउन सक्ने खुबी सौहार्द पूर्ण वातारणमा कार्य सम्पादन गर्ने दक्षता, सिलसिलेवार मिलाई लिखत राख्न सक्ने योग्यता जस्ता धेरै गुणहरु हुनु पर्दछ । त्यसैले तत्तकार्यका लागि तत्तत क्षेत्रका व्यक्तिहरुको बृहद उपस्थितिबाट काम गर्न सक्ने अनुभव र क्षमतालाई मध्य नजर गरी सकेसम्म योग्य, दक्ष र बुद्धिजीवि व्यक्तिहरु छानी ति मध्ये पनि प्रतिष्ठित व्यक्तिहरुलाई समितिको प्रमुख वा अध्यक्ष बनाई बाँकीलाई क्षमता अनुसार विभिन्न जिम्मेवारी पदमा चयन गरिन्छ । नीतिगत रुपमा यो विधि उपयुक्त पनि छ । अन्यथा योजना वापत विनियोजन भएको रकम कसलाई जिम्मा दिने तथा हिनामिना भएमा को जिम्मेवार त ? यस अवस्थामा पनि समिति आवश्यक हुन्छ भने अर्कोतिर कामै नभै रकम मनपरी गरी तोकिएको योजना अलपत्र हुन बाट बचाई करार अवधिमै सम्पन गराउन पनि समिति नै चनाखो हुनु पर्दछ । यतिका नीति, नियम र कानून हुँदाहुँदै त कति योजना अलपत्र छन्, लाखौं करोडौंका रकमको दुरुपयोग गरी योजना अलपत्र भएको सुनिन्छ भने अझै समिति नभए के हुन्थ्यो होला ? स्पष्ट छ सिन्को नभाँचि रकम सकियो ।
भनिन्छ, ‘जति नयाँ नयाँ औषधी बनाईन्छन्, त्यति नै नयाँ नयाँ रोग उत्पति हुन्छन् । ‘जति अपराध नियन्त्रणका कानुन बन्दछन्, त्यति नै नयाँ नयाँ अपराधिक शैलीबाट अपराध हुन्छन् । जति योजनाका चुहावट नियन्त्रण विधिहरु बन्छन्, उतिनै चुहावट गर्ने छेदहरु पत्ता लगाई रकम चुहिँदै गोजितिर गएको कानुनलाई पत्तै हुँदेन । जसले कानुन नियम बनाउँछ, उसैले छद्म पथ राखी आफ्ना मान्छेलाई पोश्न मद्धत गरिरहेको हुन्छ । ति आफ्ना मार्फत नीति निर्माता कहाँ पुगोस् भन्नाका लागि उनैले बाटो मिलाई रहेको पाईन्छ । नत्र जुन सत्तामा छ, उसैको पक्षपोषण समिति किन चाहिने ? विपक्षको भए त लिने र दिने दुबैको कुरा बाहिरिने डरले काम राम्रो हुन्थ्यो होला । र रकम हिना मिना हुँदैनथ्यो होला । तर त्यसो हुन दिईदैन । जसको सत्ता उही पक्षधरको समिति हुनै पर्दछ । कसै नभएमा अध्यक्ष नभै हुँदैन । कथम कदाचित इतर पक्षको परिहालेमा बहुमत सत्तावालाकै पुग्नु पर्ने । सरकार आफ्नै, मन्त्री आफ्नै, सचिव आफ्नै, प्राविधिक आफ्नै पालिका आफ्नै, वडा आफ्नै, आफै नीति बनाउने, आफै रकम दिने, आफ्नै जाँचबुझ गर्ने, आफ्नै फछ्र्यौट गरिदिने, फलाना फलाना समिति हुनु पर्दछ भनि पालिका प्रमुखले भिटो लगाउने, घुमाई फिराई आफ्नैलाई पदाधिन गराउनुको रहस्य झन चाँडो बुझ्नु हुन्छ किनकि ‘अदक्ष’ सापको पदको स्वाद चाखि सक्नु भा होला । त्यति भा’सी मैले भन्न परेन ।
काम गर्न सजिलो पक्कै छैन । यस्तै कठिन काम तालमेल गर्न सशक्त समिति चाहिन्छ । त्यसैमा पनि अध्यक्ष निकै पोख्त हुनु पर्दछ । समिति, सरकार र जनताको चित्त बुझ्ने काम गर्न सक्ने अनुभवी, दूरदर्शि, संयमी तथा आवश्यकता अनुसार तत्काल उचित निर्णय गर्न सक्ने व्यक्ति चाहिन्छ । तर आजकल राम्रो भन्दा हाम्रो छान्ने चलन भयो । हाम्रोले राम्रोलाई छेक्यो । योग्यता, क्षमता नभएका, अनुभवहिन व्यक्तिहरु पदमा पुगी आशातित काम नभएको देखिँदा सर्वसाधारणको हेर्ने दृष्टिकोण फेरिदै मानसम्मानमा ह्रास हुन थालेको छ, विश्वास गुमेको छ । समाज र समुदायले विश्वास गर्न नसक्ने लोभि लालची, ठग, दक्षता योग्यता विहिन व्यक्ति अध्यक्ष मानिन्छ कि ‘अदक्ष’ ? स्वभाविक हो, यस्तालाई अदक्ष नै भनिन्छ । आजकल धेरै ठाउँमा सुनिने गरिन्छ, फलानो समितिको ‘अदक्ष’ फलानो फलानो भयो । कुनै विशेष कार्यक्रमको आशन ग्रहण फलानो अदक्ष ज्यूलाई आशन ग्रहण गरिदिन अनुरोध गरिन्छ भनि उद्घोषकले सम्बोधन गर्दछ र मन्तब्य राख्ने धेरै जसोको मुखबाट कार्यक्रमको अदक्ष महोदय भनि सम्बोधन गरिरहेको हुन्छन्, जुन व्यक्ति र पदको तुलना गर्दा अध्यक्ष बन्न लायक नभएकोले अदक्ष भनिनु सत्यको प्रष्फुटन भएको भन्दा फरक नपर्ला । ‘झुटो टिक्दैन, सत्य लुक्दैन’ भनेको ठिकै रहेछ । शब्दोचारण विग्रेरै भएपनि दक्षता नभएकालाई सभामै अदक्ष घोषित हुँदा समेत अत्तोपत्तो हुँदैन । विचराहरुलाई । हुन त अर्थ बुझ्न नि दक्ष हुनै प¥यो ।
नेपालका सबै जसो पार्टीमा पनि अदक्षको विगविगी छ । न नियमको पालना हुन्छ । न बोलिको विश्वास छ । पार्टी आफ्नो विर्ता भए जस्तो जीवनभर एउटै व्यक्ति एउटै पदमा बसिरहनु पर्ने, आफ्नो पद सुरक्षित राख्न नदी नाला बेच्न, सीमाना सार्न, आफ्नो भुभाग अर्कोलाई भेटी चढाउन र ताल परे दशैलाई धरौटी राख्न समेत पछि नपर्ने पार्टीका प्रमुखलाई के भन्छन् ? सायद अध्यक्षले यस्तो नीच कार्य गर्दैन । अमेल कस्ता कस्ता व्यक्ति भएको ठाउँमा हुन्छ होला ? जहाँ अदक्षको भिड हुन्छ, त्यहाँ नीति नियम विपरित पजनी, भ्रष्ट, भ्रष्टाचारी संरक्षण प्रबृत्ति मौलाएको सबै खाले समिति, पार्टी र सरकार समेतमा अदक्ष हुने भए अध्यक्ष भन्ने शब्दलाई शब्दकोषबाट हटाई दिए हुन्छ । त्यति भए अदक्षहरुले विरोधको सामना गरिरहनु पनि नपर्ने, दक्ष आउँछन् भनि कोही सशंकित हुन र कारवाहीको झन्झट गरिरहनु नपर्ने । लहै आफ्नो पालो आउँदा आउँदै दक्षहरुलाई पाखा लगाउने विधि पारित गराई हालौं । ‘मौका आउँछ, पर्खदैन’ अदक्ष सापहरुले आफ्नो दुनो सोझ्याउने बेला यही हो, अरुको कुरै छाडौं ।
अदक्ष साप
previous post