राम्जाकोट/मैना भदौरे सामुदायिक वन उपभोक्ता समितिले आफ्ना सदस्यहरुलाई राहत वितरण गरेको छ । राहत स्वरुप प्रति परिवार ३० केजी चामल वडा अध्यक्ष पदमबहादुर थापाले हस्तान्तरण गरेका हुन् ।
कोभिड– १९ का कारण देशमा वन्दावन्दी चलेको र सोका कारण गास वासमा आफ्ना सदस्यहरुलाई समस्या परेकोले राहत वितरण गरिएको समितिका अध्यक्ष प्रेमनारायण बरालले बताए । वन समुहको कोषमा भएको रकम सदस्यहरुकै भएकाले उनीहरुलाई समस्या परेका बेला सहयोग गर्नु आवश्यक ठानेर राहत उपलब्ध गराइएको उनले बताए । साविक राम्जाकोट गाविस वडा नं ३ र हाल ऋषिङ्ग गाउँ पालिका वडा नं ५ मा रहेको उक्त सामुदायिक वनमा ६६ परिवार सदस्य रहेका छन् ।
समितिका सहसचिव वसन्त थापाका अनुसार सदस्य रहेका सबै ६६ परिवारलाई राहत उपलब्ध गराइएको हो । समितिले आफ्नो कोषबाट एकलाख रुपैया परिचालन गरी राहत उपलब्ध गराएको उनले बताए । नियमित मेलापात जान पनि नपाइएको र अन्य कमाइका बाटाहरु पनि नभएर समस्या भएका बेला राहत स्वरुप प्राप्त चामलले साँझ विहानको छाक टार्न आफ्नो परिवारलाई सजिलो हुने दिलकुमार विकले बताए । आइतबार राहत लिएपछि प्रसन्नता व्यक्त गर्दै टिकामाया थापाले आफुलाई साँच्चै राहत मिलेको बताईन् ।
सल्लाहकार विवश थापाका अनुसार बन्दाबन्दीको समय बढ्दै गएमा समितिको तर्फबाट थप राहत वितरण गरिने छ ।
सामुदायिक वनद्वारा राहत वितरण
previous post