
फागु अर्थात होली पूर्णिमा हाम्रो घर दैलोमै आइ पुगेको छ । दुइ दिन मनाईने यो पर्वको अघिल्लो दिन आगामी सोमबार खासगरी नेपालको पहाडी भू–भागमा धुमधामका साथ मनाउने गरिन्छ । तराईमा भने भोलीपल्ट मात्रै फागु पूर्णिमा मनाउने गरिन्छ । फागु भन्ने वित्तिकै विभिन्न रङहरुका माध्यमबाट प्रेम, आत्मियता, सद्भाव वर्षाई संसारलाई उत्साह र खुसी प्रदान गर्ने दिन भन्ने सम्झना हुन्छ र यथार्थ पनि यही हो । साथीसंगी र प्रीयजनसंग बसेर परस्पर रङ दलेर मनाईने यो पर्वले परस्परका वैमनस्यलाई भुलाएर मनलाई पानी परेपछिको आकाश जस्तो बनाउने गर्दछ ।
फागु पूर्णिमाको कुरा गर्दा यससंग जोडिएर आएका विभिन्न पौराणिक कथनहरु सम्झनामा आउँछन् । आफुलाई भगवान सम्झने हिरण्यकश्यपुले भगवान विष्णुका भक्त आफ्नो छोरा प्रल्हादलाई मार्न अग्नीले दहन गर्न नसक्ने बरदान पाएकी बहिनी होलीकालाई अह्राउँछन् । होलिका प्रल्हादलाई काखमा च्यापेर अग्नीकुण्डमा प्रवेश गर्छिन् । आश्चर्य अग्नीले होलीकालाई दहन गर्छ तर प्रल्हादलाई भने केही गर्दैन । यही खुसीमा यो पर्व मनाउन थालिएको विश्वास आममानिसमा रहेको छ । यसका साथै कंशको षडयन्त्रमा सामेल हुँदै बालक श्रीकृष्णलाई विषाक्त दूध सेवन गराएर मार्न गएकी पुतनाको श्रीकृष्णले नै प्राण हरण गरेको र यसैको खुसीमा रङ दलेर यो पर्व मनाउन थालिएको भन्ने सन्दर्भ पनि जोडिने गरेको छ । यसका अतिरिक्त भगवान शिव र सतिदेवीको कथा प्रसंग पनि होलीसंग जोडिएको पाईन्छ ।
समग्रमा असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको, अन्यायमाथि न्यायको तथा दूराचारमाथि सदाचारको विजयोत्सवको रुपमा होली मनाउने गरिन्छ । तर समय क्रमसंग्रै यसका मौलिकता हराउने तथा विभिन्न विकृतिले होली मैलिने हो कि भन्ने डर पैदा हुन थालेको छ । पौराणिक कथनमा विश्वास गरौं या नगरौं तर होलीका अवसरमा रिस, राग, इष्र्या, द्वेष भुलेर मनलाई इन्द्रेणी बनाउँदै इन्द्रेणी रङहरु छरेर रमाउने हाम्रो परम्परा त हाम्रा निधी हुन नि । यस्ता अमूल्य निधिको संरक्षण तथा यसको मौलिकताको संरक्षण गर्दै आगामी पुस्तासम्म उत्साह र खुसी छर्ने यो पर्व हस्तान्तरण गर्न सकौं । जवरजस्ती रङ दल्ने तथा लोला हान्ने कुरा मानवोचित क्रियाकलाप होइनन् । यस्ता क्रियाकलाप गर्नबाट आफु पर वस्ने र अरुलाई पनि यस्ता कार्य नगर्न आग्रह गरौं । हामीबीचका रिस, राग, इष्र्या, द्वेष मेटिउन् । होली अथवा फागु पूर्णिमाको शुभकामना ।