पृष्ठभूमिः
कोभिड–१९ कोरोना भाईरसको संक्रमण रहिरहेकै समयमा आएको यो बडा दशैं यात्रु चाप हुने पर्व हो । सामाजिक दुरी सहितको सुरक्षा प्रबन्ध मिलाउने जिम्मेवारी सञ्चालक तथा चालक दलको हो । कसैले नियम कानुन र निर्देशन मिचेको छ छैन अनुगमन र कारवाही गर्ने यातायात व्यवस्था समितिको अघिल्लो हप्ताको निर्णय पनि छ । अनुगमन र कारवाही प्रभावकारी बनाउनका लागि यात्रुहरु पनि कानुन नियम र निर्देशनको बारेमा जानकार हुनु पर्दछ ।
हाम्रो कानुनी व्यवस्थाः
चाडबाडमा बढ्ने यात्रु चापको व्यवस्थापनका बारेमा विशेषतः सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ र सो ऐन नियमावली कार्यान्वयन गर्नका लागि निमय ६२ बमोजिम बनेको निर्देशिकाले हाम्रो यातायात प्रणालीलाई अनुगमन, निर्देशन र नियमन गर्ने अधिकार प्रदान गरेको छ ।
समितिको संरचनाः
यातायात व्यवस्था कार्यालय रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पाँच सदस्यीय समितिको व्यवस्था पनि गरिएको छ । समितिको सदस्यमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, यातायात व्यवसायीको प्रतिनिधि, यातायात मजदुरहरुको प्रतिनिधि, र यातायात व्यवस्था कार्यालयका प्रमुख सदस्य सचिव रहेको समिति भएको छ । समितिको संरचनाले नै प्रष्ट पारेको छ कि यातायात व्यवस्थापन समितिले गरेको निर्णय अक्षरशः पालना गर्न गराउन कुनै कठिनाई छैन ।
यात्रु चाप व्यवस्थापन गर्ने कानुनः
कानुनले टिकट नदिई यात्री बोक्न प्रतिबन्ध लगाएको छ । साथै टिकट नलिई यात्रा गर्नमा पनि प्रतिबन्ध लगाएको छ । ऐनको दफा १०२ ले सीट क्षमता भन्दा बढी यात्री राख्न नहुने व्यवस्था गरेको छ । स्थानीय बाटोमा चल्ने यातायातले खुल्ला ठाउँमा यात्रु राख्न सक्ने अनुमति दिएको भएता पनि कच्ची बाटोमा चार घण्टा भन्दा बढी सवारी साधनमा बस्न पर्ने अवस्थाको हकमा यो खुल्ला यात्रु राख्न पाउने भन्ने मनसाय कानुनको देखिदैन । यात्रुलाई दिने टिकट पनि तोकिएको ढाँचामा हुनु पर्दछ । यो भनेको यात्रु विमा, गुण्टा विमा, तेस्रो पक्ष विमाका कुराहरु समेत खुलेको टिकटको ढाँचालाई संकेत गरेको बुझ्न सकिन्छ । कानुनमा प्रष्ट रुपमा परिचय पत्र नझुण्ड्याईको व्यक्तिले टिकट बेच्न नपाउने गरी कानुनले तोकेको छ । अशक्तका लागि चार सीट र महिलाको लागि दुई सिट सुरक्षित राख्न कानुनले निर्देश गरेको छ । यी कानुनको कार्यान्वयन इमानदारी पूर्वक गर्न गराउन जिम्मेवार निकाय, यात्रु र सञ्चारकर्मिले आ–आफ्नो भूमिका निर्वाह गर्ने हो भने सीट क्षमता भन्दा यात्रुहरुले सवारी साधनमा यात्रा गर्नुपर्ने अवस्था आउँदैन ।
यात्री र सामान सुरक्षाः
यात्रुहरुको गन्तब्यमा पु¥याउने जिम्मा लिएका सार्वजनिक यातायातका सञ्चालक, चालक दलका सदस्यहरुले सुरक्षित रुपमा मनासिक समयमा गन्तब्यमा पु¥याउन कानुनले निर्देश गरेको छ ।
बाटो बीचमा सवारी साधन विग्रेमा वा दैवी परेर सवारी अगाडि बढान नसकिने भएमा यात्रीको सुविधालाई ध्यान पु¥याउनु चालक दलको जिम्मेवारी हो । साथै सवारीमा रहेको मालसामानको सुरक्षा गर्नु पनि त्यस्तो चालक दलको कर्तव्य भित्र परेको छ ।
यात्रुलाई गन्तब्यसम्म पु¥याउने व्यवस्था सवारी धन ितथा व्यवस्थापकले गर्नु पर्ने कानुनी व्यवस्था छ ।
सवारी साधनको चेकजाँचः
कानुनले सडकमा चल्न सक्ने क्षमताको प्रमाण पत्र दिनु पर्ने व्यवस्था गरेको छ । चाप व्यवस्थापनसंगसंगै सुरक्षित यातायातको लागि सवारी साधनको चेकजाँच पनि अनुगमनको लागि महत्वपूर्ण पक्ष हो । सडकमा चल्ने क्षमतको प्रमाण पत्र हरेक सवारी चालकले सबैले देख्ने ठाउँमा टाँस्नु पर्ने व्यवस्था कानुनले गरेको छ । यो व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुन सक्दा बाटो बीचमा सवारी साधन विग्रेर यात्रुहरुको चिल्लीविल्ली हुने अवस्थालाई दुर गर्न सकिन्छ । यसरी सडकमा चल्ने क्षमताको प्रमाण पत्र दिंदा विषेशतः सवारीको यान्त्रिक स्थितिको राम्रो चेकजाँच हुनु पर्ने व्यवस्था छ । त्यसैगरी सवारीले निकाल्ने प्रदुषणको पनि मापन गरी सडकमा चल्न सक्ने क्षमताको प्रमाण पत्र दिन कानुनले निर्देश गरेको छ । साधनको लम्वाई चौडाई उचाई वा स्वरुप सम्बन्धमा विशेष ध्यान पु¥याउन कानुनले निर्देश गरेको छ ।
भाडा निर्धारणः
निर्धारित भाडा दर भन्दा बढी भाडा लिन नपाउने गरी कानुनले निषेध गरेको छ । चाडबाडको यो समयमा यातायात कम्पनीहरुले चलाउन इच्छुक सवारी साधनलाई पालो नवाधी खुल्ला रुपमा चलाउन पाउने व्यवस्था मिलाएका छन् । तर पनि चाडबाडको बेलाको भाडा दर मनपरी असुल्ने गरेको विगतमा व्यापक जनगुनासो आएका थिए ।
पालो पद्धति नभएको बेलामा झनै प्रतिष्पर्धामा यात्रु बोक्न पर्नेमा मनपरी भाडा दर निर्धारण असुल गरिएको यात्रुबाट आउने गुनासो तर्फ यातायात व्यवस्थापन समितिको ध्यान पुग्ने विश्वास हरेक यात्रुहरुले लिएका हुन्छन् ।
निष्कर्षः
कानुन नियम र निर्देशिका न्यायोचित यातायात व्यवस्थान र सुरक्षणका लागि बनेका हुन् । यी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन यातायात व्यवस्थापन समितिले गर्नुपर्दछ । हरेक यात्रुहरुले यात्रुहक हितको सुरक्षा गर्दा चालक दल, सवारी सञ्चालकहरुको हक अधिकार र मानसम्मानमा चोट नपुग्ने गरी गर्न सक्यौं भने कानुनको कार्यान्वयन गर्नमा सहजता आउँदछ । चाडबाडको बेलामा हुने यात्रु चापको व्यवस्थापन र सुरक्षण सम्बद्ध सबैको चासो र सरोकारको विषय बन्नु पर्दछ ।
दशैं, यात्रु चाप, अनुगमन र कारवाही
previous post