
चुनावी दौडको चियापान
पुट्टार/१४औं अधिवेशनलाई अनुकुल बनाउन नेपाली काँग्रेसका नेताहरु दशैंको बेलामा पनि गाउँगाउँसम्मको चियापानमा सहभागि हुन थालेका छन् । त्यो सहभागिता पनि अरुले नै प्रभाव पार्ला भन्ने त्रासको दौडाहा जस्तो देखिएको छ । सप्तमीको दिनको घिरिङ–१ पुट्टार र अष्टमिको दिनको घिरिङ्ग–३ गैह्राथोकमा आयोजित वडा कार्यसमितिले आयोजना गरेको चियापानमा सबै गुटको सक्रिय चासो पूर्वकको सहभागिताले त्यसको पुष्टि गरेको छ ।
नेपाली काँग्रेस घिरिङ्ग वडा नं. १ कार्य समितिको आयोजनामा बुधबार चियापान कार्यक्रम सम्पन्न भएको । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु बीच आपसी सद्भाव, समझदारी समन्वयत्मक भावनाको विकास गरी संगठनका काममा मनबचन र कर्मले समर्पित रहि संगठित हुने वातावरण निर्माण गर्न नवदुर्गा भवानीले प्रेरणा दिउन भन्ने शुभेच्छाका साथ चियापान कार्यक्रमको आयोजन गरिएको वडा सभापति पूर्णबहादुर कुमालले बताए । कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस तनहुँका कार्यवहाक सभापति जीतप्रकाश आले, नेका क्षेत्र नं. २ का सभापति एवं शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङ्ग, सहसभापति एवं ऋषिङ गापाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, महाधिवेशन प्रतिनिधि मिलन आले, जिल्ला सदस्य मोहन गिरी, तरुण दल तनहुँका अध्यक्ष हिरा थापा, ऋषिङ्ग गा.पा. उपाध्यक्ष गिनुमायाँ थापा समेतको सहभागिता रहेको थियो । शुभकामना आदानप्रदान कार्यक्रमलाई केन्द्रीय सदस्यले दश हजार आर्थिक सहयोग पठाएको वडा सभापति पूर्णबहादुर कुमालले बताए । बडादशैंको वडास्तरीय शुभकामना कार्यक्रममा नेपाली काँग्रेसको सबै गुटको प्रतिनिधित्व रहेको हुनाले चुनावी गुटगत प्रचारात्मक कार्यक्रम जस्तो बनेको स्थानीय कार्यकर्ता बताउँछन् ।