मैले मेरो शिक्षण पेशाका क्रममा झण्डै १३ वर्ष हाल व्यास–१२ मा पर्ने कमलबारीमा रहेको सिद्धेश्वरी माध्यमिक विद्यालयमा विताएँ । हामी धेरै साथीहरु दमौली बजारबाट विद्यालयसम्म आउजाउ गर्ने गथ्र्याैं । बाटामा ऐतिहासिक एवं नेपाली साहित्यको प्रस्थानविन्दुसंग जोडिएका भानुभक्त आचार्यको प्रेरणा श्रोत घाँसीको नामबाट नामाकरण गरिएको घाँसीकुवा पथ्र्याे । यिनै घाँसी र घाँसीकुवाको विषयमा भानु जयन्तीको अवसर पारेर मन्थन गर्न मन लागेको छ, यस पटक ।
भरजन्म घाँसतिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनि कुवा खनायो,
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भैकन आज यस्तो ।
मेरा इनार न त सक्तल पाटी क्यै छन्
जे छन् चिजहरु सब घर भित्र नै छन्
त्यस घाँसीले कसरी आज दिएछ अर्ति
धिक्कार हो मकन बस्नु नराखी किर्ति ।।
माथिका कविताका पंक्तिहरु भानुभक्त आचार्यसंग सम्बन्धित छन् भन्ने एकथरी विद्वानहरुको मत पाईन्छ । भानुभक्त आचार्यको ससुराली मान्हौं भएको र त्यही बाटो बकलाङ शिशाखोला, बुल्दी खोला हुँदै मादी जंघार र डुङ्गा तरेर मान्हौं जानुपर्ने स्थिति भएकोले यही बाटोमा घाँसीले घाँस काटेर बेचेर घर खर्च गरी बचेको पैसाले कुवा खनाएको भन्ने प्रसंग जाडिएको छ । भानुभक्तलाई पनि घाँसीको कुराले मन छोएकोले उनले कीर्ति राख्नु पर्ने प्रेरणा घाँसीबाटै प्राप्त भएको कुरा पढ्न सुन्न पाईन्छ । घाँसी दरिद्र भएर पनि मनकारी भएको, भानुभक्त धनी भएर पनि धनसम्पत्ति घरमा मात्र भएको तर नाम राख्न नसकेकोमा कविले आफुलाई धिक्कारेका छन् । त्यसपछि आफूले पनि कीर्ति नराखी नछोड्ने अठोट लिएर साहित्य सिर्जनामा लागेको प्रसङ्ग आउँछ । त्यही प्रेरणा र प्रतिज्ञा पछि उनले साहित्यमा नाम कमाउन सफल भएको भन्ने सुन्न पाईन्छ । जसको नामबाट आज त्यस क्षेत्रलाई उजिल्याउने क्रियाकलाप भएको छ, त्यो सराहनिय छ । घाँसीकुवा क्षेत्रको उत्थान, विकास र भौतिक निर्माण भई आज पनि आन्तरिक तथा बाह्य पर्यटनको विकास हुनु यस क्षेत्रको लागि गौरबको विषय रहेको छ । हामी विद्यालय आउँदा जाँदा विशेषगरी भारत, बर्मा, सिक्किम, भारतकै पनि खासगरी आसाम, मेघालय, दार्जिलिङ, उत्तराखण्डका पर्यटकहरु त्यस ठाउँमा आएर त्यहाँको धुलो शिरमा लगाएर जाने गरको हामीले देख्ने अवसर पायौं । यो गर्वको विषय हो । आदिकवि भानुभक्त आचार्य विश्वमा छरिएर रहेका नेपाली भाषीका सेतुको रुपमा खडा भएका छन् । त्यो पनि हामी समस्त नेपालीको लागि गौरबको विषय हो ।
यहाँ उठाउन खोजिएको विषय यो घाँसीकुवा हो वा होइन ? घाँसीकुवा अन्यत्रै छ कि ? यो घाँसी र घाँसीकुवा भानुभक्तसंग सम्बन्धित होइन । यो विषय तन्नेरी कवि मोतीराम भट्टसंग सम्बन्धित छ, अर्थात तेस्रो विषय घाँसीकुवा भन्ने विषय नै कवि र घाँससंग सम्बन्धित छैन ।
घाँसीकुवा यो होइन भन्ने विषय भानुभक्त आचार्यको जीवनी विषयमा कविराज नरनाथ आचार्यले उठाएको सवालमा कविको ससुराली मान्हौं भएको, उनी आउँदा जाँदा पानी खाने, बस्ने ठाउँ यतै वरपर भएको, घाँसी मगर समुदायको मानिस भएको भन्ने विषय उठाएका छन् । अन्य अनुसन्धानकर्ताहरुले घाँसी मगर समुदायका होइनन् किनकी यस वरपर मगर बस्ती नभएको भन्ने तर्क अगाडि सारेका छन् । प्रा.डा. ब्रतराज आचार्यको खोज अनुसन्धानमा घाँसीकुवा भएको जग्गा पन्थहरुको हो र कुवा पनि पन्थहरुकै पूर्वजहरुले खनाएका हुन् । त्यसैले घाँसी पनि पन्थ थरका हुन् भन्ने विषय उठाएका छन् । साथै तथ्य के छ भने भानुभक्तको ससुराली मान्हौं हो भन मावली भोर्लेटार हो । मावली जाँदा आउँदा सतीस्वाँरा, सोतीवेसी, तारुका सम्बन्धि विषयहरु र गजाधर सोतीका विषयमा उनी मावली जाँदा आउँदाका बखत बास बसेको भन्ने प्रसंग हो भन्ने खोजिएको छ । कविको मावली भोर्लेटार भएको, उनी वनारसबाट दीक्षान्त भएपछि मावलीमा लगाएको सप्ताहमा प्रमुख वाचक भएको कुरा पनि सुन्न पाईन्छ । उनले सप्ताह लगाएको चौका आजपनि सुरक्षित रहेको भन्ने छ । यस तथ्यबाट के थाहा हुन्छ भने भानुभक्त आउने जाने, खाजा खाने ठाउँ सतीस्वाँरा हुनुपर्दछ । त्यस ठाउँमा घाँसीकुवाको प्रसङ्ग उठाउनु स्वाभाविक हो । त्यसैले दुबै ठाउँमा पर्यटकिय दृष्टिले उत्थान हुनु विग्रने कुरा केही छैन जस्तो लाग्छ ।
दास्रो विषय तन्नेरी कवि मोतीराम भट्टसंग सम्बन्धित छ । भट्ट काठमाण्डौमा जन्मी बनारसमा शिक्षा लिए । घर काठमाण्डौं आउँदा नुवाकोटको थानसिंङ जन्ती गए । त्यहाँ रातभर ब्राम्हणहरुले श्लोक दाहोरी गाएपछि यी रचनाहरु भानुभक्तले लेखेका र उनै कविताहरु श्रुति परम्परा अनुसार नेपालभर फैलिएको भन्ने थाहा पाए । त्यसपछि उनी रम्घा गएर भानुभक्तको भएका सिर्जनाहरुको पाण्डुलिपीहरु संकलन गरे । संकलन गर्ने क्रममा भानुभक्तको घर काठमाण्डौको महाबौद्धमा पनि भएको र त्यस ठाउँमा पनि गएर खोजेको प्रसङ्ग आउँछ । खासगरी रामायण छपाउने, जीवनी लेख्ने, आदिकविको ठोकुवा गर्ने कार्य उनले गरेका थिए । यी सबै काई भट्टले उनको मृत्युपश्चात गरेका थिए । वास्तविक रुपमा भानुभक्तको किर्ति फैलाउने कार्य मोतीराम भट्टले उनको मृत्यु पश्चात गरको थिए । त्यसैकारण माथिको श्लोकको रचना मोतीराम भट्टले गरेका हुन् भन्ने मत पनि ाछ । यसमा प्रयोग भएका शब्दहरु ईनार र सत्तल बनारसको परिवेशमा आएका छन् । पहाडमा यी शब्दको सट्टा कुवा र पाटी प्रचलित थियो र छन् । त्यस्तै “मो भानुभक्त” भन्ने शब्दले मो भनेको मोतीराम भानुको भक्त भन्ने व्याख्या गर्न सकिन्छ । गजल परम्परामा कतैकतै सर्जकको नामा देखिने प्रचलन पनि छ । शहरिया परिवेशमा घाँस बेच्ने चलन थियो होला । त्यो गाउँले प्रसङ्गमा मिल्दो छैन । जुन प्रसङ्ग तनहुँ र घाँसीकुवाको वरपर आजको परिवेशमा पनि घाँस बेच्ने र किन्ने चलन पाईँदैन ।
तेस्रो विषयमा घाँसीकुवा भनने प्रसङ्ग कवि र घाँसीकुवा सम्बन्धित छैन । यस विषयमा खोजकर्ताले लामो समयसम्म घाँसीकुवा वरपर घुमेको बुढापाका मानिसहरु भेटेको, तत्कालिन परिवेशलाई नियालेका आधारमा के भन्न सकिन्छ भने हालको घाँसीकुवा वरपर वस्ती भएको कुरा सत्य हो । पहाडी भेगमा विशेष गरी हिउँदको समयमा विहान उठेर केही खानेकुरा खाएर वा पोल्टामा हालेर खोले घाँस काट्न पखेरातिर जाने चलन छ । हालको घाँसीकुवा भन्ने ठाउँ आसिलो र हरियो रहिरहने पखेरो देखिन्छ । कहिले घाँस बोकेर आउने, कहिले पखेरातिर घाँस काट्न जाने, पोल्टामा हालेको मकै भट्ट खाँदै हिँड्ने क्रियाकलाप हुन्थ्यो । त्यसैले घाँस काट्न जाने घाँसेहरु पानी पिउनको लागि पानीको मुल खोस्रेर डुबिल्को बनाएर पानी खाँदाखाँदै कुवा बनाएका त्यो ठाउँको नाम “घाँसेकुवा” रहेको र पछि नाम परिवर्तन भई घाँसीकुवा रहन गएको प्रसङ्ग मिल्दो दखिन्छ । यस विषयमा बनारसमा कविताको सिर्जना हुने भानुभक्तको कीर्ति फैलाउने जस्ता प्रसङ्गमा घाँसी, घाँसीकुवाको संयोग मिल्न गयो कि भन्ने स्थानीय एकथरी मत पनि विद्यमान रहेको छ ।
माथिका सबै विषयहरुमा आ–आफ्नै मतहरु रहेका छन् । घाँसीकुवालाई साहित्यिक तीर्थस्थल बनाउन, भानुभक्तको प्रेरणको श्रोत घाँसीलाई बनाउनु जसबाट अर्ति भन्ने विषय ठूलोको होइन सानोको पनि मान्नुपर्छ भन्ने , कुषिकर्मी मानिसलाई उच्च प्राथमिकता दिनु जस्ता कार्य सराहनिय छन् । यति हुँदाहुँदै पनि आ–आफ्नो स्थानको पहिचान र मान बढाउने विषयमा सबै लागेका बेलामा हामीले पनि यस ठाउँको उत्थानमा लाग्नु शुभ कार्य हुनेछ भन्ने विश्वास लिन सकिन्छ ।–सिद्धेश्वरी माध्यमिक विद्यालय कमलबारीको स्वर्ण स्मारिकामा प्रकाशित यो लेख उपयोगी ठानेर यहाँ पुनः प्रकाशित गरिएको हो ।