28.7 C
Damauli
September 18, 2026
Tanahun Awaj
ब्लग

शैक्षिक भ्रमण प्रतिवेदन

भागिरथी देवकोटा
शिक्षकःमहेन्द्रोदय मावि ऋषिङ

पृष्ठभूमिः
कुनै पनि उद्देश्य लिएर मानिस एक ठाउँबाट अर्को ठाउँमा आवतजावत गर्ने प्रक्रियालाई नै भ्रमण भनिन्छ । नयाँ स्थानमा गई नयाँ ज्ञान, सीप, अनुभवहरू बटुल्न र ती अनुभवबाट आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउन हरपल प्रयत्नशील रहन्छ, मानिस । हाम्रा ऋषिमुनीहरु ज्ञानको खोजीमा विभिन्न ठाउँ घुमेका कथा हामीले पढेका छौं अनि गौतम बुद्ध ज्ञानको खाजीमै लुम्बिनीबाट बोधगयासम्म पुगेको सत्यपनि हाम्रा सामु छ र हामी पनि महेन्द्रोदय माविका विद्यार्थी लिएर भ्रमणमा निस्केका थियौं, ज्ञान, सिप र अुनभव बटुल्न । भ्रमणबाट ज्ञान र अनुभव संगाल्दै र अनुभूतिलाई नियाल्दै अगाडि बढ्नका प्रेरणा मिल्दछ । र त्यही अनुभवले भविष्यको मार्ग कोर्न सहयोग गर्छ ।
पाठ्यक्रमले निर्दिष्ट गरेका उद्देश्य हासिल गराउँदै विद्यार्थीहरूको सिकाइलाई दीगो बनाउन अवलोकन भ्रमणको व्यवस्था गरिन्छ । कक्षा कोठामा भनेका र सुनेका कुराले मात्र सिकाई प्रभावकारी नहुने हुँदा विभिन्न पक्षहरूको प्रत्यक्ष अवलोकन गराई त्यसबाट आफैँ छुने, हेर्ने अवसर प्रदान गरेर उनीहरुको सिकाइ दीगो र प्रभावकारी बनाउन सकिने विश्वास जोडिएको थियो ।
विद्यालयमा कक्षा ८, ९ र १० का विद्यार्थीसंगै दुई दिने शैक्षिक अवलोकन भ्रमणमा हामी शिक्षकहरु पनि थियौं । सहभागी विद्यार्थीहरूले विभिन्न स्थानको भूगोल, संस्कृति, सभ्यता आदिको अवलोकन गर्दै विभिन्न प्राकृतिक धार्मिक एवं सामाजिक पक्षका बारेमा प्रत्यक्ष साक्षात्कार गर्ने अवसर प्राप्त गरे । यसैसँग सम्बन्धित विविध पक्षलाई समेटेर तयार पारिएको एक प्रतिवेदन ।
भ्रमणका क्षेत्रहरूः
शैक्षिक भ्रमणको मुख्य केन्द्रबिन्दु बाग्लुङ कालिका मन्दिर, तातोपानी, रुप्से झरना, मार्फा गाउँ, कागबेनी तथा मुक्तिनाथ मन्दिर रहेको थियो ।
भ्रमणका उद्देश्यहरूः
नेपाल धार्मिक, प्राकृतिक एवं सांस्कृतिक सम्पदाले सम्पन्न देश भएकाले ती क्षेत्रको प्रत्यक्ष अवलोकन गरी समग्र जानकारी हासिल गर्नु रहेको छ । भौगोलिक विविधताको प्रत्यक्ष जानकारी लिनु, प्राचीन कला संस्कृति र धार्मिक क्षेत्रको बारेमा ज्ञान हासिल गर्नु ,प्राकृतिक अवस्था र विकासका बारेमा आफ्नो समुदाय र सम्बन्धित क्षेत्रकाबीच भिन्नता पहिल्याउनु ।
भ्रमणका विधिहरूः अवलोकन, प्रश्नोत्तर,खोज अनुसन्धान विधि
भ्रमण गतिविधि र क्रियाकलापहरू ः

२०८१ कार्तिक ३० र मंसिर १ दुइ दिन विद्यालयले भ्रमण तिथी तय गरेको थियो । पहिलो दिन बिहान करिब ५ बजे विद्यालयबाट करिब ७० जनाको समूह भ्रमणको लागि दुईवटा सवारी साधनका साथ प्रस्थान गरियो । तनहुँबाट सुरु यात्रा कास्की, पर्वत हुँदै ११ बजे बाग्लुङ पुगेर कालिका मन्दिर दर्शन गरियो । यो मन्दिरलाई बाग्लुङ कालिका भगवती मन्दिर भनेर धेरैले चिन्ने रहेछन् । पश्चिम नेपालको बाग्लुङ नगरपालिकाको दक्षिण पूर्वमा अवस्थित यो मन्दिर हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र रहेछ । कालीगण्डकी नदीको दक्षिण किनारमा अवस्थित मन्दिर निर्माणको इतिहासका बारेमा स्थानीयले एक किंवदन्ती बताए । उनका अनुसार पर्वतका राजा प्रताबीनारायण मल्लको विवाह पाल्पाका मणीमुकुन्द सेनकी छोरीसँग भयो । विवाह हुँदा सेनपुत्रीले माझको देवीलाई पनि दाइजोको रुपमा बुवासँग मागेर आफूसँगै ल्याएकी थिइन् । त्यसपछि पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली अहिले मन्दिर भएको ठाउँमा बिसाएर उठाउन खोज्दा नसकेपछि राजदम्पतीले सोही ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएका हुन् । मन्दिरमा वर्षको दुईपटक चैते दशैं र बडादशैँमा विशेष पूजा हुँदै आएको छ । नेपालको प्रसिद्ध यो शक्ति पीठमा विशेष पूजामा पञ्चबली पनि चढाइन्छ । छिमेकी मुलुक भारतबाट पनि हजारौं दर्शनार्थी आउने गरेको यो मन्दिरमा चारै दिशामा ढोका भएतापनि पूर्वको ढोका कहिले पनि नखोलिने
रहेछ । कारण बुझ्दा यो ढोका खोल्दा नाग उत्पन्न हुने जन विश्वास रहको पाईयो । देवीको दर्शनपछि आजकल अनिवार्य जस्तै बनेको फोटोहरु खिच्ने काम सम्पन्न भयो ।
खाना खाएर मुस्ताङ यात्रा सुरु भयो । बालबालिकाहरु यात्राको क्रममा रमाइलो मान्दै सुन्दर पहाडहरू, लामा लामा झलुङ्गे पुलहरु अनि कलकल ध्वनीसहित बगिरहेकी काली नदीको दृष्यावलोकन गर्दै अगाडि बढ्यौं । म्याग्दी जिल्लामा कतिपय बाटो अलि साँघुरो र कच्ची रहेछ । प्राकृतिक चिकित्सालयका रूपमा परिचित म्याग्दीको तातोपानी कुण्डको अवलोकन गरियो यो बेनीबजारबाट ९ किलोमिटर दूरीमा रहेछ । मुक्तिनाथको यात्रामा प्रवेशद्वारको रुपमा बेनी बजारबाट ३ किमी उत्तरमा गलेश्वर धाम रहेछ ।
साँझ ८ बजे मार्फा पुगी होटलमा खाने र बस्ने व्यवस्था मिलाइयो । त्यहाँको गुन्द्रुकको अचार अनि जिम्बुले झानेको दाल खुब मिठो लाग्यो । अचार र दाल मिठो हो या भोक र थाकाईले मिठो अनुभूत गराएको हो, खुट्याउन कठिन भयो हामीलाई । दोस्रो दिन बिहान ५ बजेतिर हाम्रो यात्रा पुन आरम्भ भयो । मुस्ताङ जिल्लाको त्यो बिहानी पखको मिरमिरे उज्यालोमा हिमाल हेर्दा सबैको मन आनन्दित भएको थियो । बालुवा नै बालुवाले भरिपूर्ण त्यहाँको प्राकृतिक दृश्य अति सुन्दर देखिन्थ्यो । टुन्ड्रा वनस्पति पाइने त्यस स्थानमा अलिअलि मात्रै घाँसहरु देख्न पाइन्थ्यो । सबैजना रमाउँदै यात्रा अगाडि बढिरहेको थियो । यात्रामा कागबेनी पनी रहेछ जहाँ मानिसहरूले आफ्ना पितृजनको स्मरणमा श्राद्ध गर्दा रहेछन् । कागवेनीलाई बायाँ पार्दै हामी अगाडि बढ्यौं र मुक्तिनाथ वसपार्कमा बस बिसाएर करिब २ किलोमिटर जति पैदल यात्रा सुरु भयो, मुक्तिनाथका लागि । मन्दिर जाने क्रममा विद्यार्थीहरूलाई लाइनबद्ध तरिकाले अगाडि बढाइयो । लेक लाग्ने समस्या हुनेहरु, अशक्त वा सौखिनहरु रु ४०० तिरेर घोडा चढेर मन्दिरसम्म जानसक्ने रहेछन् । केही विद्यार्थीहरु घोडामा चढेर मन्दिरसम्म पुगे भने केही हिँडेर पुगियो । करिब १२१ वटा सिढी रहेको धर्म उकाली चढेपछि मन्दिर पुगिने रहेछ । हामी केही सर म्याडमहरु लाई माथि चढ्न अलि गाह्रो महसुस भएको थियो त्यहाँ लेक लाग्ने समस्याको कारण २,३ जना विद्यार्थी सवारी साधन भएको ठाउँमा बसे ।
समुन्द्र सतहबाट ३७१० मिटर उचाइमा रहेको मुक्तिनाथ मन्दिर मुस्ताङ जिल्लाको बाह्रगाउँमुक्ति क्षेत्र गाउँपालिका वडा नम्बर १ मा पर्ने रहेछ । मुक्तिनाथ पनि भनिने यो क्षेत्र हिन्दू र बौद्ध मार्गी दुवैका लागि महत्वपूर्ण धार्मिक स्थल रहेछ । मन्दिर पुगेपछि १०८ धाराको जलद्वारा स्नान गर्दै र मन्दिर अगाडी रहेका दुईवटा कुण्डमा डुब्दै नहायौं । नुहाउन नसक्नेहरू शिरमा जल छर्किँदै लाइनबद्ध भएर मन्दिर दर्शन गर्न गयौं रमोक्ष प्राप्तीको कामना ग¥यौं । कालीगण्डकी नदीको मुहान मुक्ति क्षेत्र रहेको कुरा जानकारी प्राप्तीसंगै बौद्ध धर्म अन्तर्गत क्षेत्र पनि अवलोकन गराइयो जहाँ ठूलो बुद्ध भगवानको मूर्ति साथै विभिन्न गुम्बा रहेछन् । विष्णु भगवानको स्वरुप मानिने शालिग्राम त्यहाँ देख्न पाइयो । मुक्तिनाथलाई हिन्दुहरुले विष्णु र शिवको प्रतीक मान्दछन् भने बौद्ध मार्गीहरूले लोकेश्वरका रूपमा मान्दै आएका छन् ।
झण्डै तीनसय रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिक्षेत्र बाह्य तथा आन्तरिक पर्यटकका लागि अत्यन्तै महत्त्वपूर्ण स्थान रहेछ । प्यागोडा शैलीमा निर्मित तीन तले मन्दिरमा विशेषगरी जनै पूर्णिमामा र दशैंको नौरथमा विशेष मेला लाग्ने र पर्यटकको आगमन हुने त्यहाँका बासिन्दाले जानकारी गराए ।
हामीहरूले अझै भुगोलको जानकारी लिन खोज्यौं । गोरङ्गा हिमालको फेदीमा रहेको मुक्तिनाथ मन्दिर विभिन्न शक्ति पीठहरूमध्ये एक रहेछ । बौद्ध धर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिने रहेछ । जसको अर्थ तिब्बतीय भाषाअनुसार १०८ धाराको पानी हो । मुक्तिनाथ मन्दिरमा भगवान विष्णु लगाएत देवी लक्ष्मी र गरुडको मुर्ती राखिएको छ । हामीलाई प्राप्त जानकारी अनुसार यी धार राजा मुकुन्द सेनले बनएका रहेछन् । तीब्बतीय धर्म दर्शन अनुसार गुरु रिम्पोचे टिवेटन बुद्ध धर्मका जन्मदाता मुक्तिनाथको वरपरका पर्वतमा तपस्या गरेर तिब्बत गएका थिए भन्ने ऐतिहासिक विम्बदन्ती रहेछ । मुस्ताङ जिल्लाको दामोदर कुण्डबाट सुरु भई आएको गण्डकी नदी जुन मुक्तिनाथको धाराको पानीले बनेको काली नदी कागबेनीमा आएर मिसिने रहेछ । कालीगण्डकी नदी मुक्तिनाथ धाराबाट सुरु भई देवघाटमा पुगी त्रिशुली नदीमा मिसिएपछि नारायणी नाममा र त्रिवेणी भैसालोटन हुँदै भारतमा गंगा नामले परिचित भई गंगासागरमा गएर मिसिने रहेछन् । अझ चाखलाग्दो कुरा नवलपरासीको गैडाकोटबाट सुरु भएको कालीगण्डकी कोरेडोर तिब्बतको सिमानाका कोरालासम्म ४३५ किलोमिटर छ भन्ने कुरा जानकारी लिन पाउँदा ज्यादै खुसी लाग्यो । मेरो जन्म जिल्लाबाट सुरु हुँदै तिब्बतको सिमानासम्म छोएको कोरोला नाकासम्म पुग्ने रहेछ त्यो सडक । हामी सम्पूर्ण त्यहाँबाट फर्कियो करिब १० बजेतिर बस भएको स्थानमा आएपछि सबैजना रमाइलो हिमालको दृश्य नियाल्दै मन प्रफुल्ल बनाउँदै पुन मार्फा गाउँ आइपुग्यौँ । त्यहाँ प्रशस्त मात्रामा स्याउ फलेको देखियो । फलेको हेर्दै ,खाँदै खाना खाने ठाउँमा आइपुग्यो र खाना खाएर करिब १ बजेतिर हामी मार्फा बाट फर्कन थाल्यौं । त्यसपछि रूपसे झरना अवलोकन गर्दै पर्वत, कास्की हुँदै करिब ११ बजेतिर घरसम्म आइपुग्न सफल भएका थियौँ ।
भ्रमणबाट प्राप्त भएका ज्ञान
अवलोकन भ्रमणको माध्यमबाट विभिन्न ज्ञान, सीप लगायत धार्मिक, सांस्कृतिक, प्राकृतिक, ऐतिहासिक आदि पक्षहरूको बारेमा जानकारी हासिल भएको पाइयो । अझै विशेषगरी ऐतिहासिक धार्मिक महत्व बोकेको मुक्ति क्षेत्रलाई विश्व सूचीमा सूचीकृत गर्नुपर्ने विद्यार्थीहरूको भनाइ थियो । र यसको गुठी जग्गाहरूको अवस्था खोजी गरी पर्यटकलाई बस्नको लागि ठाउँको व्यवस्था गर्नसक्दा पर्यटनको विकासमा सकारात्मक सहयोग पुग्ने विद्यार्थीहरूको धारणा थियो । भ्रमणले कक्षा कोठामा मात्र सीमित रहेमा पछाडि परिने कुरा महसुर भएको विद्यार्थीले बताए । अवलोकन भ्रमणको लागि हामीलाई सहयोग गर्नुहुने विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार, अभिभावक,गाउँपालिका, वडा र सवारी साधन चालक लगायत सवारी साधनका स्टाफहरू सम्पूर्णलाई हृदयदेखि नै धन्यवाद टक्राउन चाहन्छु ।

Related posts

तिलिचो यात्रा– ३

admin

तिलिचो यात्रा– २

admin

OSHO and Tapoban

admin