Tanahun Awaj
विचार/दृष्टिकोण

फागुन–७ ले चखाएको स्वतन्त्रताको स्वाद

रमेश पोखरेल

स्वतन्त्रताको स्वादको कुरा गर्दा २०६१ माघ १९ मा तत्कालिन राजा ज्ञानेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरेर राज्य सत्ता हातमा लिएपछिका दिनहरुको याद शायद धेरैलाई याद आउँछ , स्वतन्त्रताको मुल्य कति रहेछ । हुन त २०१७ सालमा उनै ज्ञानेन्द्रका पिता तत्कालिन राजा महेन्द्रले प्रजातन्त्र अपहरण गरेपछिका अँध्यारा क्षणहरुको सामना गरेका हाम्रा अग्रजहरुलाई अझ बढी स्वतन्त्रताको मूल्य अनुभूत भयो होला । अझ जहानिया राणा शासनबाट देशलाई मुक्त गर्ने आन्दोलनमा लागेका र सहिद भएकाहरुलाई बढी नै स्वतन्त्रताको मूल्य अनुभूत भएको हुनुपर्छ । नभए आफ्नो ज्यान गुमाउन को पो तयार हुन्थ्यो र ?
१७ साल घटनाको डेढ दशक पछि जन्मेको मसंग ती कालरात्रीहरु भोगाई र अनुभूति त छैन तर १५ वर्षे ठिटो हुँदा सयौं सहिदको बलिदान र हजारौं अग्रजहरुको सहासिक कदमका कारण प्राप्त स्वतन्त्रताको स्वाद भने चाख्ने मौका पाएँ, २०४७ प्रारम्भ हुँदा नहुँदै । जनआन्दोलन को सफलतासंगै मैले जस्तै आम नेपालीले ३० वर्ष अगाडि खोसिएको स्वतन्त्रताको स्वाद लिन पाएका थिए । बीचको केही समयलाई छोड्ने हो भने त्यस पछिको यो तीन दशमा हामीले स्वतन्त्रताको भरपुर स्वाद लियौं । सूचना प्राप्तीको कुरा गर्दा रेडियो नेपाल मात्र भएको र उसैले दिएको सूचनामा विश्वास गर्नुपर्ने बाध्यताबाट २०५४ जेठ ९ देखि मुक्त भयौं । दक्षिण एशियामा नै पहिलो सामुदायिक रेडियो “रेडियो सगरमाथा”को औपचारिक प्रशारण यहि दिनबाट भएको थियो । जसले सूचनामा हाम्रो पहुँचलाई बढायो र नागरिकका गतिविधी पनि समाचार बन्न थाले । भुईमान्छेहरुका कुरा पनि सञ्चार माध्यममा आउन
थाले । यसले नागरिकको आत्मविश्वास बढायो । ५० को दशकको मध्य तिर मोवाईल सेवाको प्रारम्भ भयो । मोवाईल सेवाको प्रारम्भ र विकाससंगै सूचना र प्रविधिको क्षेत्रमा हामीले मारेको फड्को र यसले नागरिकको चेतना स्तरमा आएको परिवर्तत अतुलनिय छ ।
अहिले हामी आफुलाई मनमा लागेको कुरा भन्न सक्ने भएका छौं । आफुलाई चित्त नबुझको कुरामा नाईँ भन्न सक्ने भएका छौं । ओली सरकारले ल्याएको गुठी विधेयकका विरुद्ध उत्रेको जनसागर मात्र होइन निर्मला पन्त र भागरथी भट्ट तथा अन्य थुप्रै नेपाली चेलीको बलात्कारी हत्याराको खोजीमा दवाव दिने सन्दर्भम, यती र ओम्नी काण्डका नाइकेहरुलाई कारवाहीको दायरामा ल्याउन दवाव दिने अनि एमसीसीको विरोधमा दैनिक जसो हुने प्रदर्शनमा देखिने मानिसको संख्याले बताउँछ, हामी आफुलाई चित्त नबुझको कुरामा नाई भन्न सक्ने र आफ्नो मतलाई उँचो स्वरमा अभिव्यक्त गर्न सक्ने भएका छौं । आफ्नो कुरालाई निर्धक्क अभिव्यक्त गर्न सक्नु र आफुलाई चित्त नबुझेको कुरामा नाईँ भन्न सक्नु सानो उपलब्धी होईन जसको जग हालेको २००७ सालको फागुन ७ गतेले नै हो । त्यसैले फागुन ७ हाम्रा लागि विशेष महत्वको दिन रह्यो । त्यही दिन बाट त हो हामी रैतीबाट नागरिक भएको । रैतीबाट नागरिक भएको दिन अनि स्वतन्त्रताको स्वाद चाख्न थालेको दिनलाई हामीले प्रजातन्त्र प्राप्ती भएको दिन भन्यौं । र उत्सव मनाउन थाल्यौं । भलै पछिल्ला दिनहरुमा सत्तामा रहनेहरुले यसको महत्वलाई आत्मसाथ गर्न नसकेको वा नचाहेको देखिएको छ ।
हामीले स्वतन्त्रताको स्वाद पहिलो पटक लिएको पर्सी ७१ वर्ष पुरा हुँदैछ । यो अवसरमा म सम्पूर्ण नेपाली आमा–बुबा, दिदी बहिनी, दाजुभाईहरुमा शुभकामना व्यक्त गर्न चाहन्छु । यो अवसरमा हामीलाई स्वतन्त्रताको स्वाद चखाउन अनि रैतीबाट नागरिक बनाउन आफ्नो ज्यानको बली दिने धर्मभक्त, गंगालाल, शुक्रराज तथा दशरथ लगाएत सबै सहिदहरु प्रति शब्द श्रद्धा व्यक्त गर्न चाहन्छु । उहाँहरुको बलिदानले नै हामी अहिलेको अवस्थामा आएको हौं । उहाँहरुलाई भुल्नु भनेको आफुलाई जन्मदिने आमाको अस्तित्व स्वीकार नगर्नु जस्तै हो । जुन कुराको हामी परिकल्पनासम्म पनि गर्न सक्दैनौं ।
फागुन ७ र स्वतन्त्रताको कुरा गर्दै गर्दा मलाई स्वतन्त्रताको मूल्य बताउने २०६१ माघ १९ पछिका दिनहरुको सम्झना हुन्छ । तत्कालिन राजा ज्ञानेन्द्रले एउटा वक्तव्य मार्फत जनताको सरकारलाई असक्षमभन्दै अपदस्त गरेर सत्ता हातमा लिएको केही क्षणमै नेपालका सञ्चार गृहहरुमा सेनाले घेरा हाल्न थाले । समाचारको सम्पादन सम्पादकले होइन, सेनाका जर्नेलहरुले गर्न थाले । रेडियो सगरमाथाले देखाएको बाटो पछ्याउँदै देशैभर खुलेका एफएमहरुमा समाचार बज्न छोडे । फेरी एक पटक नागरिकको आवाज बन्द गर्ने काम भयो । टंक ढकाल, दानबहादुर शाही, निरँजन थापाका कर्कश स्वरहरुमात्र रेडियो नेपालमा सुनिन्थे र त्यही आवाजलाई एफएमहरुले सुनाउनु पथ्र्याै ।
तर स्वतन्त्रताको भरपुर उपभोग गर्दै हुर्केको एक्काइसौं शताब्दीको नेपाली पुस्ताले आफ्नो स्वतन्त्रता खोसिएको सहन गर्न सकेन । वर्तमान नेपाली पुस्ता राणा विरुद्धको सात सालको र त्यस अघिको आन्दोलनको इतिहास पढेर अनि गंगालाल, धर्मभक्त, दशरथ र शुक्रराजको बलिदानी पूर्ण इतिहासको अध्ययन गरेर अनि त्यसबाट प्राप्त उर्जाले सिँचित भएर हुर्केको पुस्ता हो । हामीसंग ३० वर्षे कालरात्री भोगको र त्यस विरुद्ध लडेको साथै जनआन्दोलन भाग २ मा ज्यानको बाजी राखेर स्वतन्त्रताका लागि लडेको पुस्ता पनि छ । त्यसैले त प्रत्येक नेपालीलाई स्वतन्त्रताको मूल्य थाहा छ अनि त्यसको स्वादमा बानी परेको छ र अब त्यसको परित्याग गर्ने कल्पना गर्न सकिँदैन ।
लोकतन्त्र प्राप्ती पछिका सरकारहरु पनि नेपाली जनताको स्वतन्त्रता खोस्ने प्रयत्नमा लागेका देखिए÷भोगिए । ज्ञानेन्द्रले गरेको दुस्साहसको पुनरावृत्ति गर्न लोकतान्त्रिक भनिएका सरकारहरु नै कस्सिनु स्वतन्त्रतको मूल्य नबुझ्नु नै थियो । तर तिनीहरुले नारायणहिटीबाट नागार्जुन पुगेका ज्ञानेन्द्रको वर्तमानबाट पाठ सिक्नु जरुरी छ । बालुवाटारबाट बालकोट पुगेकाका अुनयायीहरुले त झन बढी नै आत्मसाथ गर्नु जरुरी छ कि स्वतन्त्रताको हरण गर्न खोज्दा चुकाउनु पर्ने मूल्य निकै महंगो पर्न जान्छ ।
७२ औं प्रजातन्त्र दिवसको अग्रिम शुभकामना ।

Related posts

अस्तित्वको साझेदारी

admin

नीतिकथाको बाज र गगन–विश्वप्रकाशहरु

admin

शहीदहरू प्रति श्रद्धा र सम्मान-सम्पादकीय

Deepak Joshi