Tanahun Awaj
Uncategorized

भ्रमण वर्ष २०२० मा पुग्नै पर्ने ऋषिङ्ग

आयूष पोखरेल
श्री सत्यवती मावि, दमौली

द्वापर युगमा श्रृङ्ग ऋषिले तपस्या गरेको स्थान भएकाले ऋषिङ्ग नाम रहन गएको हो रे ऋषिङ्गको । नेपाल संघिय संरचनामा नजाँदासम्म ऋषिङ्ग भनेर तपस्या स्थल भएको भनिएकोे क्षेत्रको नाम मात्र ऋषिङ्ग गाउँ विकास समिति रहेका थियो । अहिले पहिले देखि ऋषिङ्ग भनेर चिनिने समग्र क्षेत्रलाई समेटेर ऋषिङ्ग गाउँ पालिका बनाइएको छ । ८ वटा वडा रहेको यो गाउँ पालिका २१५ वर्ग किलो मिटर क्षेत्रमा फैलिएको छ । विसं २०६८ को जन गणना अनुसार यो गाउँ पालिकाको जनसंख्या २५हजार ८ सय ७० रहेको छ । साविकको काहुँशिवपुर, भीरकोट, बैदी, राम्जाकोट, कोटदरबार र ऋषिङ्ग रानीपोखरी गाउँ विकास समितिलाई समायोज गरी अहिले ऋषिङ्ग गाउँ पािलका बनाईएको हो ।

मगर, ब्राम्हण, क्षेत्री, नेवार, गुरुङ्ग, दराई, कामी, सार्की , दमाई, सन्यासी, ठकुरी आदि विभिन्न जातजातिको वसोवास रहेको यो गाउँ पालिका प्राकृतिक, धार्मीक तथा संस्कृतिक हिसावले धनी छ । यस क्षेत्रका मगर सुमदायको कौरा नृत्य, जसमा नृत्यका साथै सुमधुर संगित हुन्छ अनि आकर्षक अभिनय पनि, ब्राम्हण तथा क्षेत्री समुदायको सुमधुर भजनका साथ हनुमान नृत्य अनि चुड्का नृत्य, खास ऋषिङ्ग भनिने स्थानमा रहेको नेवार समुदायको लाखे नाच तथा विभिन्न सांस्कृतिक नृत्य र पर्वहरु तथा नेवारी सभ्यता, गरुङ्ग समुदायका विभिन्न सांस्कृतिक नृत्य तथा पर्वहरु लगाएतका कारण ऋषिङ्ग सभ्यता र संस्कृतिमा धनी छ र पुग्न अनि घुमेर यसबारे जानकारी राख्न योग्य छ ।

ऋषिङ्ग गाउँ पालिकाका हरेक वडा आ–आफ्नै पहिचान र विशेषताका कारण महत्वपूर्ण र भ्रमण योग्य छन् । वडा नं १ र २ मगर बहुल क्षेत्र हो । यहाँ मगर संस्कृतिको अध्ययन गर्न त पाईन्छ नै विभिन्न गुम्बा, मन्दिर र चर्चहरु घुमेर आत्मिय आनन्द प्राप्त गर्न सकिन्छ । यही वडामा रहेको खुदी डाँडाबाट सदरमुकाम दमौलीको दृश्यावलोकन गर्न सकिन्छ अनि व्यास परासर आश्रम तथा माहेन्द्री र शुक्ला गण्डकीको संगमस्थल लगाएत विभिन्न हिमालहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । तनहुँ हाइड्रो पावरको निमार्णधिन संरचनाहरुले पनि यहाँको आकर्षण बढाउने काम गरेको छ । केही वर्षमा विद्युत उत्पादनका लागि लगाइएको बाँधले शुक्ला गण्डकी ( सेती नदी) मा बन्न जाने तालका कारण यो आकर्षक पर्यटकिय स्थल बन्ने पक्का छ । वडा नं ३ र ४ पनि एतिहासिक तथा धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण छन् ।

वडा नं ५ साविक राम्जाकोट हो । राम वनवास जाने क्रममा दुर्गाको मन्दिर(कोट) स्थापना गरेका कारण राम्जाकोट नाम रहन गएको भन्ने किंवदन्ती यहाँ प्रचलित छ । पवित्र कृष्णा नदीको किनारमा रहेको यो स्थानमा सोही नदी किनारमा गडगेश्वर महादेवको मन्दिर छ । यो नदीमा विष्णु भगवानको स्वरुप भनिने शालिग्राम पाईन्छ । किंवदन्ती अनुसार श्रृङ्ग ऋषि हरेक दिन यही नदीमा नुहाएर मात्र ध्यानमा मग्न हुने गर्दथे । यही वडामा रजमुल भन्ने ठूलो पानीको मूल छ । किंवदन्ती अनुसार ऋषिङ्गे राज मुकुन्द सेन विरामी हुँदा वैद्यले बढी खनिज तत्व भएको पानी खान सुझाए । सेवकहरुले खोज्दै र परिक्षण गर्दै जाँदा हाल रजमुल भनिने पानीको मुल भएको ठाउँमा पुगे र त्यो पानीमा हुने खनिजको परिक्षण गर्दा बढी खनिज भेटिएका कारण तत् पश्चात राजाले उक्त पानी पिउने गरेका थिए । र त्यस मुलको नाम राजा मुल भन्दा भन्दै अहिले अपभ्रंश भएर रजमुल भएको हो रे ।
वडा नं ६ र ७ ज्यामिरे माई मन्दिर, सेन राजको हातियार गृह आदिका कारण पुग्न योग्य छन् । यसैगरी खास ऋषिङ्ग भनिने स्थान वडा नं ८ मा
पर्छ । अजम्बरी कुण्ड तथा अजम्बरी मन्दिर, गढी डाँडो, रानी पोखरी , बौद्ध गुम्बा आदिका कारण यो वडा पुग्न लायक छ । गढी डाँडो सेन राजको दरबार भएको ठाउँ हो भने अजम्बरी कुण्ड ऋषि श्रृङ्गको तपस्या स्थल । अजम्बरी कुण्ड यस्तो कुण्ड हो जुन कुण्डमा न त कहिल्यै पानीको अभाव हुन्छ, न त कहिल्यै उक्त कुण्डबाट पानी धेरै भएर बगेर जाने गर्दछ । गढी डाँडोबाट भीमाद, खैरेनी लगाएतका बजारको मनोरम दृश्य देखिन्छ भने अन्नपूर्ण, माछापुच्छ्रे लगाएतका हिमश्रृङ्खलाको मनोरम दृश्यपनि देख्न सकिन्छ । सूर्याेदयको दृश्य अवलोकनका लागि पनि यो डाँडो उपयुक्त स्थलको रुपमा रहेको छ ।

यस्तो धार्मीक, सांस्कृतिक एवं पर्यटकिय दृष्टिले उपयुक्त ऋषिङको भ्रमण गर्नबाट कतै तपाईँ चुक्नु भएको त
छैन । यदि ऋषिङ्ग पुग्नु भएको छैन भने एकपटक अवश्य पुग्नु होला । यसैवर्ष जानु भयो भने त झन भ्रमण वर्षलाई सफल बनाउन तपाईको समेत योगदान रहेने छ ।

Related posts

दोषीलाई कारवाहीको माग

admin

वन्य जन्तु मैत्री विकास गर्ने कि ?

admin

रोकियो एसईई र कक्षा १२ को परीक्षा

admin