
दमौली/मङ्सिर १६ गते आइतबार विभिन्न कारणले रिक्त भएका स्थानीय तहका पदहरुमा उपनिर्वाचन सम्पन्न भएको छ ।
निर्वाचन आयोगका अुनसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ पद रिक्त भएकामा दुइ जिसस प्रमुख र एक वडाध्यक्षमा निर्विरोध भएपछि बाँकी ४१ पदका लागि मंसिर १६ मा निर्वाचन सम्पन्न भएको हो ।
उपनिर्वाचनमा कीर्तिपुर नपा प्रमुखमा कांग्रेसका कृष्णमान डंगोल,दोलखाको गौरीशंकर गापा उपाध्यक्षमा एमालेकी उमा लुङ्गेली मगर शेर्पा,हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का देवकी तिमल्सिना, रुकुम (पूर्व भाग) को पुथा उत्तरगङ्गा गापा उपाध्यक्षमा माओवादी केन्द्रका नरपुर बुढा, मोरङको ग्रामथान गापा अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी, दैलेखको महाबुँ गापा अध्यक्षमा एमालेका जङ्गबहादुर शाही विजयी भएका छन् । जाजरकोटको नलगाड नपा उपप्रमुखमा माओवादीका देवका लामिछाने, बाजुराको स्वामीकार्तिक खापर गापा उपाध्यक्षमा एमालेका सुलोचनाकुमारी भण्डारी विजयी भएका छन् । समग्रमा कुल ४४ पदमध्ये कांग्रेस १९, माओवादी ११, एमाले ८, जसपा २ तथा नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र १÷१ पदमा विजयी भएका छन् ।
उपनिर्वाचन भएका ८ पालिका प्रमुख तथा उपप्रमुखको पद मध्ये अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसले जितेका ६ र माओवादी केन्द्रले जितेका २ स्थान थिए । तर कांग्रेसले किर्तिपुर नपा प्रमुख बाहेकको स्थान सुरक्षित गर्न सकेन । उसले गुमाएका पाँच मध्ये दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष तथा बाजुराको स्वामिकार्तिक गाउँपालिका उपाध्यक्ष गरी तीन पद एमालेले जित्यो भने मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख पद माओवादीले जित्यो ।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेका २७ स्थानमा निर्वाचन भएकोमा उसले १९ स्थानमा मात्र जित सुरक्षित गर्न सक्यो । पाँच पालिका प्रमुख तथा उपप्रमुख र तीन वडाध्यक्ष कांग्रेसले गुमायो । यसैगरी एमालेले पहिले जितेका ८ वडामा निर्वाचन भएकोमा एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष र पाँच वडाध्यक्ष सहित कुल सात स्थानमा जितेको छ । समग्र पदसंख्या गन्दा एमालेको एक पद गुमेकोे छ । यसैगरी माओवादीले पहिले जितेका सात स्थानमा निर्वाचन भएकोमा एक पालिका अध्यक्ष, दुई उपाध्यक्ष, एक उपप्रमुख र सात वडाध्यक्ष सहित कुल ११ स्थानमा जितेको छ ।
यसलाई मिनि जनमत संग्रह मान्ने हो भने कांग्रेसको अवस्था विग्रेको देखिन्छ भने अर्काे सत्ताधारी दल एमालेलाई पनि यसले सन्तुष्ट तुल्याउन सकेको छैन । चारमहिना अगाडी सत्ताच्यूत भएको माओवादीका लागि भने यो निर्वाचनले उत्साह थपेको छ ।