
१५ दिन अगाडि यसै पत्रिकामा मैले काठमाडौँ महानगरपालिकाले सुरु गरेको ‘बुक फ्री फ्राइडे’ (पुस्तकविहीन शुक्रबार) को अवधारणाले शिक्षा क्षेत्रमा एउटा नयाँ र सकारात्मक तरङ्ग ल्याएको विषय प्रस्तुत गरेको थिएँ । उक्त लेखमा मधेश प्रदेशस्थित राजर्षि जनक विश्वविद्यालयले आगामी शैक्षिक सत्रदेखि मिथिला चित्रकला, लोककला, लोकनृत्य, र सामा चकेवा जस्ता परम्परागत विषयहरूमा चार वर्षे स्नातक तहको पाठ्यक्रम निर्माण गरी उक्त विषयहरुमा पढाई सुरु गर्न कक्षा सञ्चालन गर्ने तयारी गरेको भन्ने विषय पनि समेटिएको थियो । पुस्तकविहीन शुक्रबारले विद्यार्थीहरूलाई किताबी बोझबाट मुक्त गरी उनीहरूको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन प्रभावकारी भूमिका खेलेको विषय त्यसमा उल्लेख थियो ।
बुक फ्रि फ्राईडेलाई त्यही नाम दिन मन नलागे सिर्जनात्मक शुक्रबार वा अरु त्यस्तै केही नाम दिएर हामी कार्यक्रम गर्न सक्छौं । शुक्रबारलाई सिर्जनात्मक बनाउन अपनाउन सकिने केही उपायहरु प्रस्तुत गरेको छु । विद्यालयहरुले वा स्थानीय सरकारहरुले यसमा आफ्नो स्थानीय आवश्यकतासँग मिल्दा अन्य कार्यक्रम पनि बनाउन सक्छन् र शुक्रबारलाई सिर्जनात्मक बनाउन सक्छन् ।
हामीले शुक्रबारलाई सिर्जनात्मक बनाउन गर्न सकिने पहिलो र खासै खर्च नलाग्ने काम हो, जीवनोपयोगी सीप
सिकाउने । यसमा कार्यतालिका बनाएर सामान्य करेसाबारी निर्माण र हेरचाह, प्राथमिक उपचार, भान्साको काम, सिलाइ–बुनाइ, वा बिजुलीका सामान्य सामान मर्मत गर्ने आधारभूत ज्ञान यस अन्तर्गत विद्यार्थीलाई दिन सकिन्छ । विभिन्न किसिमका बाजाहरु बजाउन सिकाउन सकिन्छ । गुन्द्री, डाकोे ,डालो, मान्द्रो, चकटी आदि बुन्न, सिकाउन सकिन्छ । यस्ता थुप्रै जीवन उपयोगी सीपहरु छन्, जसलाई विद्यालयले शुक्रबारलाई सिर्जनात्मक बनाउने सन्दर्भमा सिकाउन सक्छ । कला र संस्कृति संरक्षण र विकासका कामहरु पनि हामी गर्न सक्छौं । जस्तै चित्रकला, मूर्तिकला, स्थानीय लोक नृत्य, संगीत, र नाटक प्रदर्शन गर्न सकिन्छ । स्थानीय कलाकारहरूलाई बोलाएर यस्ता कार्यशाला सञ्चालन गर्न सकिन्छ ।
सहरका र सुविधा सम्पन्न विद्यालयहरुले प्रविधि र नवप्रवर्तन सम्बन्धि ज्ञान पनि यस कार्यक्रम अन्तर्गत दिन सक्छन् । कोडिङ, रोबोटिक्स, वा विज्ञानका साना प्रयोगहरू यसका उदाहरण हुन् ।
सामुदायिक सेवाका कामहरूमा सहभागी गराएर विद्यार्थीलाई समाज अनुकूल बनाउन सघाउन सकिन्छ । यसमा विद्यालय वरपरको सरसफाइ, वृक्षारोपण वा नजिकैको वृद्धाश्रम वा अनाथालय भ्रमण र उनीहरूलाई सकेको सहयोग गर्न लगाउने गर्न सकिन्छ । यस्ता थुप्रै क्रियाकलाप छन्, जसले विद्यार्थीलाई शुक्रबार वास्तवमै सिक्ने बार हो भन्ने बनाउन सकिन्छ । विद्यार्थीलाई समाज बुझेको, स्वावलम्बी, कर्मयोगी, बन्न सघाउँछन् । विद्यार्थीहरूलाई समाजमा रहेका समस्या पहिचान गर्न लगाउने र त्यसको समाधान खोज्न स–साना प्रोजेक्टहरू दिन सकिन्छ । यसले उनीहरुलाई समाजमा घुलमिल हुन र सामाजिक समस्याको समाधानका उपायहरु खोज्न सघाउँछ । सञ्चार र नेतृत्व विकासका कार्यक्रमहरु अन्तर्गत वक्तृत्वकला, वादविवाद, कविता वाचन सम्बन्धी अभ्यासहरू गराउन सकिन्छ । यस्ता कार्यक्रमहरु हाम्रा विद्यालयमा भैरहेका छन् ।
काठमाडौँ जस्ता ठुला सहरहरू आर्थिक रूपमा निकै सबल छन्, तर साना गाउँपालिकाहरूमा स्रोतको कमी हुन सक्छ । जसले बुक फ्रि फ्राइडे वा सिर्जनात्मक शुक्रबार अन्तर्गत सुझाइएका कार्यक्रम गर्न आर्थिक श्रोतको अभाव हुन सक्छ । तर फेरी भनौं, इच्छाशक्ति भए यस्ता कार्यक्रमहरु असम्भव छैनन् ।
स्थानीय सरकारले सबै खर्च बेहोर्नु नपर्ने गरेर पनि यस्तो कार्यक्रम गर्न सकिन्छ । निजी क्षेत्र, सामाजिक संस्थाहरू, र अभिभावकहरू सँगको समन्वयमा प्रत्येकको थोरैथोरै लगानीमा यस्ता कार्यक्रमहरु सञ्चालन गर्न सकिन्छ । स्वदेशी तथा विदेशी गैर सरकारी संस्थाले विद्यालय र बालबालिकामा गर्ने गरेको खर्चको केही अंशमात्र लगाउने हो भने यस्ता कार्यक्रम गर्न कठिन हुने छैन । त्यसका लािग समन्वय र सहजिकरण स्थानीय सरकार र विद्यालयहरुल्े गरिदिए पुग्छ । पालिकास्तरमा एउटा ’सिर्जनात्मक केन्द्र’ बनाएर त्यहाँका सामग्रीहरू सबै विद्यालयले आलोपालो प्रयोग गर्ने व्यवस्था मिलाउन सकिन्छ । माथि उल्लेख गरिएका कतिपय क्रियाकलापहरू त शून्य लगानीमा पनि गर्न सकिन्छ । विद्यालय वरपर अवकाशप्राप्त शिक्षक, कर्मचारी, डाक्टर, नर्स, प्राथमिक उपचारक, खेलाडी, चित्रकार, अभिनेता, मुर्तिकार, कुशल वक्ता, इन्जिनियर वा कृषकहरू हुन्छन् । उनीहरूलाई विद्यालयमा बोलाएर अनुभव साटासाट गराउन सकिन्छ ।
यस्ता कार्यक्रममा बजारमा किनिएका महँगा उपकरण प्रयोग गर्नुपर्छ भन्ने छैन । स्थानीय स्तरमा उपलब्ध माटो, बाँस, ढुङ्गा, वा खेर गएका वस्तुहरूबाट कलात्मक सामग्री बनाउन सकिन्छ र सिकाउन सकिन्छ ।
स्थानीय सरकारहरुले विद्यालयका शिक्षकहरूलाई नै थोरै तालिम दिएर उनीहरू भित्रको सिर्जनात्मकतालाई विद्यार्थीसम्म पु¥याउने वातावरण पनि बनाउन सकिन्छ । सिर्जनात्मक शुक्रबार भनेको छुट्टी होइन, बरु फरक ढङ्गले सिक्ने दिन हो भन्ने बुझ्नु सबैका लागि आवश्यक भएको छ । शुक्रबारलाई आधादिन पढाउने दिन होइन बरु सिक्ने महत्वपूर्ण दिनको रुपमा विकास गर्न सकौं ।
