–शनिबार व्यास–५ पाटनबाट ऋषिङ–१ झापुटार जाँदै गरेकी २९ वर्षिया रेनु थापाको उनी सवार स्कुटरको पाङ्ग्रामा सल बेरिन जाँदा दुर्घटना हुन पुग्यो र उनको बायाँ हात कुहिनोबाट चुँड्यो । तत्काल एयर एम्बुलेन्सबाट काठमाण्डौं लगिएकी रानाको हात जोड्ने प्रयास सफल हुन सकेन । चिकित्सकका अनुसार उनको हातमा फोहर लागेका कारण जोड्न असम्भव भएको हो ।
–पाल्पाको रम्भा गाउँपालिका–१, हुँगीबाट गोरखाको मनकामना दर्शनका लागि जाँदै गरेको बस आइबार विहान ३ बजे नवलपरासी पूर्वको बुलिङटारमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बुलिङटार–२, मथारमा भएको दुर्घटनामा २८ जना घाइते भएका छन् ।
हामी नजिकैको रेनु थापाको सवारी दुर्घटना तथा छिमेकी जिल्ला नवलपरासी पूर्वमा भएको सवारी दुर्घटनाको समाचारले धेरैलाई स्तब्ध तुल्याएको छ । यस्ता समाचारहरु हामीले दैनिक जसो सुन्ने गरेका छौं । धेरै धन र जनको क्षति व्यहोरेका छौं । तर आवश्यक सावधानी अपनाउने कुरामा भने हाम्रो ध्यान तानिएको छैन ।
सावारी दुर्घटनाका विभिन्न कारणहरु हुन सक्छन् । हाम्रो सडकको अवस्था तथा बनोट एउटा कारण हो । साँधुरा र यु आकारका घुम्तीहरु तथा साँधुरो सडक आफैमा दुर्घटना निम्त्याउने कारक हुन् । अर्काेतिर चालकको असावधानी अर्काे कारण हुन सक्छ । अहिले राष्ट्रिय राजमार्गको यात्रा गर्ने हरेक यात्रुले सडकको दुरावस्थाको शिकार हुनु पर्ने अवस्था छ । यात्रामा निस्केको परिवारको सदस्य सकुसल घर फकन्र्छ वा फर्कन्न अथवा सकुसल गन्तव्यमा पुग्छ कि पुग्दैन भन्ने चिन्ता रहन्छ । सवारी चालकले पनि सडकको बनौट तथा अवस्था मनन गरेर सवारीको अवस्था जाँच गर्ने तथा सावधानी पूर्वक सवारी चलाउने गर्नु आवश्यक भएको छ । सवारी चलाउने बेलामा मादक पदार्थ सेवन नगर्ने तथा मोबाइलमा कुरा नगर्ने कुरामा पनि जो कोही सवारी चालक प्रतिबद्ध हुनुपर्ने भएको छ । अनि खासगरी दुइपाङ्ग्रे सवारीमा सावर हुँदा साडी लगाउने वा सल बेरिने जस्ता काम गर्न नहुने रहेछ भन्ने पनि रेनुको दुर्घटनाको पाठ हुनसक्छ । हामी सबैको सकारात्मक प्रयासले सवारी दुर्घटना कम गर्दै यसबाट हुने क्षति कम गर्न सकिन्छ । त्यसैले सवारीका समयमा सावधानी अपनाऊँ ।
सवारीमा सावधानी -सम्पादकीय
previous post