विशेष सम्वाददाता
चौथो पटक श्रावण ३० मा प्रकाशित कांग्रेसको महाधिवेशन कार्यतालिका फेरी प्रभावित भएको छ । भाद्र १८ मा देशभरका ५७ जिल्लामा वडा अधिवेशन भएको भएपनि विवादित २० जिल्लाका वडामा अधिवेशन हुन नसकेपछि महाधिवेशन कार्यतालिका प्रभावित भएको
हो । साथै डँडेलधुरामा सम्पन्न वडाअधिवेशनमा राज्यसत्ताको दुरुपयोग गरी धाँधली गरेको अरोप सहित पुनः अधिवेशन हुनु पर्ने माग पनि बढेको छ । डडेल्धुरामा देखिएको विवाद र समस्या धनकुटामा पनि देखिने आँकलन पछि अविधेशनको अनिश्चितता बढेको हो ।
भाद्र २५ मा प्रकाशित पाचौं पटकको कार्यतालिका अनुसार सोही २७ मा हुनुपर्ने गाउँ तथा नगर अधिवेशन हुनेछ भने असोज ९ मा हुनेछ । भाद्र १८ मा अधिवेशन हुन नसकेका २० जिल्लाको वडा अधिवेशन असोज ५ मा हुने भनिएको छ । अघिल्लो कार्यतालिकामा असोज १ मा हुने भनिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन अब असोज १२ मा हुनेछ । यसैगरी असोज १५ मा प्रतिनिधि सभाको क्षेत्रीय अधिवेशन हुनेछ भने एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला अधिवेशन सम्पन्न हुनेछ । दुइ वा दुइभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको भने जिल्ला अधिवेशन असोज १८ मा हुनेगरी नयाँ कार्यतालिका प्रकाशित भएको छ ।
सात प्रदेशको प्रदेश अधिवेशन तथा केन्द्रीय महाधिवेशनको कार्यतालिकामा भने कुनै परिवर्तन गरिएको छैन । कार्यतािलकामा कुनै फेरबदल नभए प्रदेश अधिवेशन कार्तिक १०, ११ र १२ मा हुनेछ भने केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ सम्म काठमाण्डौमा हुनेछ ।
बारम्बारको कार्यतालिका परिवर्तनले आम शुभचिन्तक र कांग्रेस कार्यकर्तामा महाधिवेशन नहुने हो कि भन्ने चिन्ता छाएको छ । एकातिर यो चिन्ता छ भने अर्कातिर विभिन्न तहमा नेतृत्व गर्न तम्सेका नेता कार्यकर्ताबीच तिक्तता बढाउने आशंका पनि बढेको छ । आफ्ना प्रतिस्पर्धी उम्मेदबार साथीहरुलाई फेरी कहिल्यै सहकार्य र सहयात्रा गर्नु नपर्ने झैं गरेर यतिबेला एक अर्का विरुद्ध लागेका छन्, त्यसको समय बढाएको छ, परिवर्तित कार्यतालिकाले र यसले आगामी निर्वाचनहरुलाई प्रभावित तुल्याउने छ । यद्यपि थपिएको समयलाई आफ्नो पक्षमा जनमत तान्न प्रयोग गर्ने र आफुलाई अझै बलियो उम्मेदबारको रुपमा प्रस्तुत गर्ने अवसरको रुपमा लिने पालिका तहका नेताहरु पनि छन् ।
महाधिवेशन सूनिश्चितताको माग सहित १२ केन्द्रीय सदस्यहरुले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गरेसंगै आम कार्यकर्तामा कार्यतालिका सर्दै गएर महाधिवेशन नै नहुने त होइन भन्ने शंका लाग्न थालेको छ । सभापतिको गृह जिल्ला डडेल्धुरामा भएको क्रियाशील सदस्यको विवाद र जवरजस्त गरिएको वडा अधिवेशनले नेताहरुमा अविश्वास बढाएको छ र यसले महाधिवेशनको प्रतिस्पर्धालाई अmझ तिक्ततापूर्ण बनाउने देखिएको छ । यसैबीच समानुपातिक प्रतिनिधित्वको माग गरेर अनसन बस्ने क्रम राकिएको छैन । केन्दीय सदस्य तथा जिल्ला कतिपय नेताहरु वडा तहबाट निर्वाचित भएर आउन नपर्ने व्यवस्थाले आम मतदाता, शुभचिन्तक र कांग्रेसका तल्लो तहका कार्यकर्ताहरुबाट नेतृत्व टाढिँदै गएकोछ ।
आम कार्यकर्तामा थपिएको संशयलाई चिरेर निर्धारित समयमै महाधिवेशन हुने सूनिश्चित गर्नु कांग्रेस नेतृत्व खासगरी सभापति देउवाका लागि आवश्यक भएको छ । आफ्नै केन्द्रीय नेताहरुलाई समेत विश्वासमा नलिएर गरिने महाधिवेशनले एकछिन्लाई मानौं देउवालाई पार्टि सत्तामा त लैजाला तर जनविश्वास गुमाउँदै जाँदा सम्हालिने सत्ताको आयू लामो हुँदैन भनेर जान्न निकट विगतका प्रधानमन्त्री केपी ओलीलाई हरेर पनि देउवाले सिक्नु जरुरी छ ।
सर्यो कांग्रेसको तल्लो तहको अधिवेशन -अधिवेशन विवादले अनिश्चितता बढायो
previous post