दमौली/प्रतिनिधि सभाको अंक गणितले कुनै पनि दलले सरकारको नेतृत्व गर्न नसक्ने अवस्थामा सबभन्दा ठूलो दल नेपाली काँग्रेसले मात्र संसदीय अभ्यास गरेको छ । नेपाली काँग्रेसले संसदीय निर्वाचन २०७९ मा प्रत्यक्षतर्फ ५७ र समानुपातिक तर्फबाट ३२ सांसद गरी कूल ८९ सिट जितेको नेपाली काँग्रेस मात्रै यो संसदीय अध्यासबाट संसदीय दलको नेता चयन गरेको छ । अर्थात निर्वाचनको पद्धतिबाट संसदीय दलको नेता चयन गरेको हो । त्यतिमात्रै होइन, नेपाली काँग्रेसभित्रका जनमतले स्थापित गराएका युवा नेताहरुले एक ठाउँमा उभिएर नेपाली काँग्रेस फरक खालको ध्रुवीकरणको बाटोमा अग्रसर भएको देखाएको छ ।
संसदीय निर्वाचनमा देखिएको अभ्यासले युवा पुस्ताले नेतृत्वमा दावी गर्ने अभ्यास नेपाली काँग्रेसले शुरु गरेको छ । सबै दलमा हुनुपर्ने अभ्यास दलहरुको नेतृत्वदायी दल नेपाली काँग्रेसबाट शुरु भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विरुद्धमा उनैको नेतृत्वको कार्यसमितिका महामन्त्री गगनकुमार थापाले संसदीय दलको नेतामा उम्मेदवारी दिएर युवा पुस्ता नेतृत्व लिन तयार छ भन्ने सन्देश दिएको छ । यद्यपि सञ्चार माध्यमले ३३ मत गगनको पक्षमा रहेको प्रचार गराएको भएतापनि परिणामले २५ सांसदले मात्रै गगनलाई संसदीय दलको नेता बनाउन मतदान गरेको देखियो ।
नेपाली काँग्रेसभित्र राजनीतिक संस्कार शेखर कोइरालाले देखाए । आफूले युवा पुस्तालाई आवश्यकता अनुसार अगाडि बढाएर संरक्षकत्व लिन पनि सक्ने सन्देश दिएका छन् । यद्यपि सभापति र प्रधानमन्त्रीको समेत आकाँक्षी रहेका रामचन्द्र पौडेल, प्रकाशमानसिं, विमलेन्द्र निधि, डा. शशांक कोईरालालले त्यो आँट गर्न सकेनन् । अर्को तर्फ विश्वप्रकाश शर्मा, प्रदिप पौडेल, धनराज गुरुङ्गहरुले देखाएको आँटको सह्राना गर्नै पर्दछ ।
दोस्रो ठूलो दल नेपाल कम्यूनिष्ट पार्टी एमालेका अध्यक्ष खड्गप्रसाद ओली शेरबहादुर भन्दा कमजोर र विरामी पनि छन् तर पनि एमालेभित्रका युवाहरुले गगन कुमार थापाले देखाएको आँट र सहास देखाउन सकेनन् । प्रत्यक्षमा ४४ र समानुपातिकमा ३४ सिट ल्याएर दोस्रो ठूलो दल बनेको एमालेभित्रका युवाहरुले बृद्ध र विरामी असक्त अध्यक्षलाई विश्राम लिन सल्लाहसम्म दिएको सञ्चार माध्यममा आएको सुनेको, देखेको पढेको अवस्था छैन ।
अन्य दलहरु २० सिट भएको राष्ट्रिय स्वतन्त्र पाटी, १४ सिट भएको राष्ट्रिय प्रजातन्त्र पार्टी, १० सिट भएको नेकपा एकिकृत समाजवादी, छ सिटको जनमत पार्टीका सिके राउत पनि आफ्नो दलको नेता चुन्दा सर्वसम्मत अध्यासको अभ्यास गरेका छन् ।
संसदीय अभ्यासबाट दलको नेता चयन
previous post