श्रमिक वर्गको कार्यक्षेत्रमा सुरक्षा र स्वास्थ्यको सम्बन्धमा चासो र चिन्ता कमै हुने गरेको पाईन्छ । यसैलाई मध्यनजर गर्दै आज अर्थात अप्रिल २८ मा संसारभर काममा सुरक्षा र स्वस्थ्यको लागि विश्व दिवस मनाउने गरिन्छ ।
–गत वर्ष ऋषिङ–१, झापुटारमा ४ तले घरको छत ढलानका लागि काम गर्दै गर्दा नजिकै रहेको विद्युत प्रशारण लाइनमा फलामे छड्ले छोएपछि त्यहाँ कार्यरत श्रमिक मध्ये एकको छतबाट खसेर मृत्यु भयो भने अर्का एक शरीर जलेर घाइते हुनपुगे र लामो समय उपचारमा लागि परे ।
– सोही दिन व्यास–१ गल्बुवेसीमा पनि सोही प्रकृतिको दुर्घटना भयो । तर सौभाग्यवस श्रमिकहरुलाई सामान्य चोट बाहेक केही भएन ।
केही वर्ष अगाडी विद्युत पोल गाड्ने क्रममा साविक राम्जाकोट हाल ऋषिङ–५ मा उठाउन लागेको पोल अचानक ढलपछि त्यहाँ कार्यरत एक श्रमिकको गोडा भाँचियो ।
यी हामीले देखेका र थाहा पाएका कार्यक्षेत्रमा श्रमिकले मोल्नु परेको जोखिमको उदाहरण हुन् । यस्ता धेरै प्रकारका जोखिम र अनेकौं प्रकारका स्वास्थ्य समस्याको जोखिममा श्रमिकहरु रहेको अवस्था छ । श्रमिकहरुले कार्यस्थलमा दुर्घटनामा परेर ज्यानै गुमाएका वा अङ्गभङ्ग भएका वा विभिन्न संक्रामक रोगको शिकार भएका समाचारहरु हामीले बेलाबेला सुन्दै र पढ्दै आएका छौं । विश्व स्तरिय तथ्याङ्क भन्छ, विश्वमा प्रतिदिन ६ हजार ३ सय श्रमिकको मृत्यु कार्यस्थलमा हुने जोखिमका कारण हुने गर्दछ । यो संख्यालाई वार्षिक तथ्याङ्कमा बदल्ने हो भने झण्डै २३ लाख हुन आउँछ । र कार्यस्थलमा हुने जोखिमाका कारण ज्यान गुमाउने श्रमिकको यो संख्या वास्तवमै डरलाग्दो हो ।
यो वर्ष “सकारात्मक, सुरक्षित र स्वस्थ संस्कार निर्माणकालगि सामुहिक पहल गरौँ” भन्ने नाराका साथ मजदुर र कामदारहरुको सुरक्षा र स्वास्थ्यको वकालत गर्दै सकारात्मक संस्कारको निर्माणमा जोड दिएर आज यो दिवस मनाईँदै छ । १९ वर्ष अगाडि सन २००३ देखि मनाउन थालिएको यो दिवसको अभिप्राय सुरक्षित, स्वस्थ र सभ्य कामलाई बढावा दिनु हो । यसका साथै यो दिवसले कार्यस्थलमा हुने व्यावसायिक दुर्घटना र रोगहरुको रोकथामको लागि सचेनता फैलाउन उल्लेखनिय भुमिका खेल्ने गरेको छ ।
आउनुहोस् हामी पनि कुनै पनि कामदार स्वास्थ्य र सुरक्षाका दृष्टिले ढुक्क भएर कार्यस्थलमा जाने वातावरण निर्माणमा लागौं । कामदारको सुरक्षा र स्वास्थ्यमा कुनै कमी नहोस् । अनि हाम्रा देश तथा विदेशमा रहेका दाजुभाई र दिदीबहिनीहरु जो श्रमिकको रुपमा कार्यरत हुनुहुन्छ, उहाँहरुको स्वास्थ्य र सुरक्षाको उपयुक्त प्रवन्धका लागि सचेतना फैलाउने यो विश्व अभियानमा सहभागी बनौं ।
श्रमिकको स्वास्थ्य र सुरक्षा चासो-सम्पादकीय
previous post