प्राविधिक शिक्षालय बनाउन सहयोग
दमौली/ऋषिङ– ८ मा रहेको शिव सरस्वती माविमा प्राविधिक शिक्षालय सञ्चालन सहयोगार्थ श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मीक महोत्सव आयोजना गरिने भएको छ ।
दमौलीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोजक समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले प्राविधिक शिक्षा मार्फत युवा पुस्तालाई स्वरोजगार बनाउने उद्देश्यले शिक्षालय सञ्चालन गर्न लागिएको र सोको सहयोगार्थ महायज्ञ आयोजना गरिएको बताए । ऋषिङ क्षेत्रका बासिन्दालाई अशिक्षित र कछारे उपमा दिइने गरेकोमा अब ऋषिङ कछार नरहेको भन्ने बताउन पनि आफुहरुले शिक्षामा गुणात्मक फड्को मार्ने खालका कार्यक्रम ल्याउन चाहेको श्रेष्ठले बताए । ऋषिङ, देवघाट, घिरिङ का अतिरिक्त नवलपुरका बुलिङटार र बौदीकालीका स्थानीयको आवश्यकतालाई हेरेर कुन विषयमा शिक्षालय सञ्चालन गर्ने भनि किटान गरिने उल्लेख गर्दे श्रेष्ठले सबैको सकारात्मक सहयोग र समर्थनमा आफुहरुको अभियान सफल हुने महायज्ञबाट ५० लाख सहयोग संकलन हुने विश्वास व्यक्त गरे । महायज्ञ मूल अयोजक समिती तथा विभिन्न उपसमिति गठन गरेर प्रचार प्रसारका क्रममा दमौली आएको टोलीले यस अघि काठकाण्डौ, पोखरा, चितवन तथा नवलपुर पुगेर त्यहाँ रहेका पूर्व ऋषिङ्गेहरुसंग भेटघाट र निम्तो प्रदान गरिसकेको छ । माघ १७ गते देखि २५ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं धार्मीक महोत्सवमा पं. राधारमण काफ्लेले प्रवचन दिनेछन् । महायज्ञ अवधिभर विभिन्न पैत्रिक तथा धार्मीक कार्य गर्न सकिने आयोजकले जनाएको छ । यसका साथै महायज्ञमा नगद तथा जिन्सी प्रदान गर्ने दाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेका आयोजकले जनाएको छ । महायज्ञमा सहयोग जुटाउनका लागि दमौलीमा १५ सदस्य रहेको सम्पर्क समिति निर्माण गरिएको छ । मंगलबार दमौलीमा जम्मा भएका ऋषिङ्गेहरुले इन्द्रबहादुर आलेका संयोजकत्वमा सहयोग समिति निर्माण गरेका हुन् । समितिमा नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोखरेल तथा आदिकवि भानुभक्त क्याम्पस सञ्चालक समितिका सदस्य मोहन गिरी लागएतका सदस्य रहेका छन् ।