✍️ पुरुषोत्तम दाहाल : श्रावण १, २०७८ (६:४५ AM)
व्यासका अनुकरणीय तन्नेरी नरालको गोठमा पुग्दा
राजनीतिमा लाग्नेहरूका बारे प्रायसः अरू कुनै काम नभएको, बेरोजगार, चौबीसै घण्टा नेता, पार्टीका पछि लाग्ने, नारा जुलुस भाषणमा व्यस्त, अनि चिया दोकान, भट्टी पसलमा अनावश्यक विवाद गरेर बस्ने, चन्दाजीवीहरूको जमात भनेर बुझ्ने गरिएको छ । कथित कुलीनहरू आफ्ना पुर्खाको कमाइका आधारमा खर्च गर्नसक्नेहरू वा कमिसन, घुसखोरी दलाली गरेर जीवीका चलाउनेहरूको प्रश्न पृथक हो । नेतृत्व तहमा बस्नेहरूले पनि केही माग्न आउने र आफ्ना लागि चौबीसै घण्टा खटिदिने अथवा केही कोसेली दिन आउनेलाई आफ्नो ठान्ने प्रचलन बसाएका छन् । राजनीतिमा दुई थरी अनुयायीलाई मन पराउने नेताहरूको संख्या अधिक हुन्छ ।
पहिलो अत्यन्त मूर्ख लडाकु, जसले आदेश पाउनासाथ तुरुन्त जे पनि गर्न तयार, आफ्नो कुनै दृष्टि नभएको मानिसलाई नेताहरूले अधिक मन पराउँने गर्छन् । दोस्रो बुद्धिमान तर असाध्य कायर जसले कुरा बुझेको छ तर आफूभित्र निहित लोभ र स्वार्थको वशीभूत भएर नेतृत्वका बारे जहिले पनि सही थाप्ने गर्दछ । जी, हवोस्, हजुर, आज्ञा, हुकुम जस्ता शब्दहरूमात्रै उसका मुखबाट निस्कने गर्दछन् ।
अनि दोस्रो थरी मानिस वा अनुयायी जो चुनावी राजनीतिमा हराउने वा जिताउने सामथ्र्य राख्छ त्यस्तालाई सकेसम्म उपयोग गर्ने, फकाउने, फुल्याउने, पद वा लाभ दिने जस्ता अवसर नेतृत्वले दिने गर्दछन् । जो बुद्धिमान छ, सत्य कुरा भन्ने गर्दछ, कुनै लोभ र भय जोसँग हुँदैन र केही पाउने वा दिने दुवै उसका विषय हुँदैनन् अर्थात् आत्मनिर्भर छवि भएको सदस्यहरू राजनीति खास गरी पार्टी राजनीतिमा असफल जस्तै हुन्छन् । तैपनि अनेक तरहले आफूलाई स्थापित गर्न उनीहरूको संघर्ष जारी रहन्छ ।
त्यस्तै एक संघर्षशील युवा हुन् दयानिधि नराल । नराल तनहुँको व्यास नगरपालिका १३ अन्तर्गत पोखरी भञ्ज्याङको आफ्नो पुख्र्यौली घरमा यतिखेर पशुफार्म खोलेर आत्मनिर्भर रोजगारीमा सक्रिय छन् । उनी हाल नेपाल तण दलको सचिव पनि हुन् तनहुँका । तनहुँ जिल्ला भन्नासाथ लोकतान्त्रिक आन्दोलनमा अनेक योद्धाहरूका रगत पसिनाले सिञ्चित गरेको भूमि भनेर परिचित छ । २००७ होस् कि २०१८ त्यहाँ अनेक योद्धाहरूको जीवन उत्सर्ग भएको छ । अनेक योद्धाहरूले जेलनेल भोगेका छन् र घरवारविहीन भएका छन् । निर्दलीय निरंकुश कालखण्डको कहाली कथा त्यहाँ पर्याप्त सुन्न पाइन्छ ।
२०४६ सालपछि तनहुँका अनेक व्यक्तित्वहरू नेतृत्वमा पुगे र प्रशस्त विकासका कामहरू पनि भए तर लोकतान्त्रिक आन्दोलनको वटवृक्ष भने आपसी द्वन्द्व, अनावश्यक र अपवित्र प्रतिस्पर्धा, विगतको बलिदानका नाममा ब्याज खाइरहने मानसकिताले जर्जर हुन पुगेको छ । लोकतान्त्रिक परिपाटीलाई सुदृढ गराउने, लोकतान्त्रिक संस्कृति र मर्यादालाई सबल गराउने, उदार भावना, सहिष्णु व्यवहार र चरित्रको अवलम्बन गर्ने, सुसंस्कृत, अनुशासित, जनमुखी नवीन पुस्तानिर्माण गर्ने सोच र चिन्तनको सर्वथा अभाव भएपछि यतिखेर तनहुँ लोकतन्त्रका लागि विरसिलो भूमिमा परिणत हुँदैछ ।
तैपनि विश्वास र आश लिएर दयानिधि र दयानिधि जस्ता युवाहरू राजनीतिमा सक्रिय छन् । तर उनीहरू परमुखी, परनिर्भरभन्दा आत्मनिर्भर रोजगारमुखी भएर राजनीतिको मौलोलाई सबल बनाउन प्रयत्नशील छन् । यी हरफ लेख्दै गर्दा मलाई हाम्रो पुस्ताका पर्वतका अत्यन्त शालीन र सज्जन साथी ऋषिकेश तिवारीको स्मरण भइरहेको छ । उनी आत्मनिर्भर राजनीतिका लागि कृषि र कृषिउद्योगमा लागेको निकै वर्ष भयो । अंग्रेजी साहित्यको स्नातकोत्तर ऋषिकेशले पर्वतमा उदाहरणीय काम थालेका छन् । तिवारीको जस्तै गरी अहिले राजनीतिमा संलग्न अनेक युवाहरू कृषिकर्ममा आफूलाई समर्पित गर्दै उद्यमशील, उत्पादनशील भइरहेका छन् ।
तिनैमध्येका एक हुन् नराल । उनी केही वर्ष पहिलेसम्म मानवअधिकार आन्दोलनमा समेत सक्रिय थिए । शिक्षित नराल कुनै अरू जागिरभन्दा कृषिमध्ये पशुपालनमा आफूलाई सक्रिय गराउने सोचमा पुगेपछि उनले करिब १ करोडको लगानीमा पशुपालनको व्यवसाय थाले । कृषि विकास बैंकको ऋण र आफ्नोसमेत पुँजी यसमा लगाएका छन् । पुख्र्यौली जग्गा तीस रोपनी र अरू समझदारीमा लिएर उनले पचास रोपनीमा गोठ र खोर बनाएका छन् । यतिखेर उनको गोठमा लैना, बकेर्ना, पाडापाडी गरी ३० वटा भैंसी छन् । उनले करिब १ सय ५० वटा बाख्रा र करिब हजारवटा जति कुखुरा खोरमा जुटाएका छन् ।
नराल आफैं गोबर सोहोर्छन्, घाँस काट्छन्, दूध दुहुन्छन् । हुन त केही सहयोगी नभएका होइनन् तर पनि उनी निरन्तर बजारदेखि गोठ पुगेर रेखदेख गरिरहेका हुन्छन् । परिवार र अरू साथीहरूले पनि सहयोगका हात दिइरहेका छन् र नै अलिकति फुर्सद निकालेर राजनीतिक र सामाजिक काममा उनी समय दिन पाइरहेका छन् । बाख्राको हेरचाह कुखुराको खोर सबैमा उनी चनाखो भएर निरीक्षण गरिरहेका हुन्छन् । पशु स्याहारमा संलग्न हँुदै राजनीतिक क्रियाशीलता कसरी सम्भव छ ? नरालको सजिलो उत्तर छ ः जाँगर र परिश्रम भएपछि, समयलाई व्यवस्थापन गरेमा सम्भव नहुने कुरै भएन ।
केही समय व्यवसायमा, केही समय अध्ययन र जानकारीमा केही समय घरको काम, केही समय आराम र बाँकी समय पार्टी नरालको आजभोलिको दैनिकी भएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनको केन्द्रमध्ये एक तनहुँ अहिले किन असाध्य कमजोर भएको होला ? आज पनि केन्द्रीय तहमा नेतृत्व गर्नेहरूको संख्या यस जिल्लामा पर्याप्त छ । लोकतान्त्रिक शक्तिहरूको अजेय किल्ला मानिने तनहुँमा यतिखेर लोकतान्त्रिक शक्तिहरू निकै कमजोर भएको अवस्था छ । केन्द्र र अन्यत्र निकै ख्याति कमाएका र प्रतिस्पर्धी देखिने नेतृत्वले आफ्नै जिल्ला सम्हाल्न किन सकिरहेका छैनन् ?
यो प्रश्न नरालका लागि सजिलो हुँदैन तर उनी भन्छन् हामी भूइँमान्छेहरूको प्रयासलेमात्र हुँदैन । मूल रूपमा न नेपाली कांग्रेसको भातृ संस्था तरुण दलका नेता उनी भन्छन् ः सिर्जनशील नवीन पुस्ता विकास नभएसम्म अबको राजनीति सोझो हुने छैन । जसमा नैतिकता, सामाजिक छवि, आचरण, परस्पर व्यवहारमा कुशल र असल सदस्य र नेतापंक्ति हुन सकेमा मात्र लोकतन्त्रको जग सबल हुनेछ । उदाहरण बन्न आग्रह बन्ने तर आफू उदाहरणीय हुन नसक्ने भइएमा जनताले विश्वास गर्दैनन् । नरालको योजना पशुपालन र कृषि व्यवसायमा अरू साथीहरूलाई पनि सहकार्यमा जोड्दै जाने र आत्मनिर्भर पुस्ता निर्माण गर्नेमा केन्द्रित छ । उनको यो योजना सफल होस्, शुभकामना छ हाम्रो ।