पृष्ठभूमिः
व्यास नगरपालिकाले २०७८ असार १ गतेदेखि लागू हुने गरी कार्यकाल सकिएका विद्यालय व्यवस्थापन समिति विघटन गरी वडाध्यक्षलाई तदर्थ समितिको संयोजक तोकेको छ । यो निर्णयप्रति मिश्रित प्रतिक्रियाहरु आएका छन् । राजनीतिक आग्रह पूर्वाग्रहबाट नियमावली विपरितको विघटन भन्ने र विद्यालयको नियम संगत व्यवस्थापन गर्न नसकेका आफ्नो कार्यक्षेत्र भित्र पर्ने विद्यालयको नियमावली अनुरुपको संरक्षकीय कर्तब्य निर्वाह भन्ने दुई खालका प्रतिक्रिया आएका छन् ।
शिक्षा नियमावलीः
आफ्नो क्षेत्राधिकार भित्र पर्ने विद्यालयहरुको व्यवस्थापनका लागि व्यास नगरपालिकाले शिक्षा नियमावली बनाएर २०७४ माघ २७ गतेको नगरसभाबाट पारित गरायो । त्यो नियमावलीलाई व्यास नगरको राजपत्रको २०७४ फागुन २५ गतेको अंकमा प्रकाशित गरेर लागू गरेको छ । सो नियमावलीको परिच्छेद–५ अन्तरगतका नियम २६ देखि ३२ सम्म विद्यालय व्यवस्थापन सम्बन्धी व्यवस्था छ ।
विव्यस छनौटको व्यवस्थाः
नियमावलीले तीन बर्षका लागि विद्यालय व्यवस्थापन समिति छनौट गर्न सकिने व्यवस्था गरेको छ । सो अनुसार गठन गर्नका लागि कार्यअवधि सकिनु तीस दिन अगावै सात दिनको सूचना दिएर अभिभावक भेला बोलाई सोही भेलाबाट विद्यालय व्यवस्थापन समिति गठन गरिनु पर्ने व्यवस्था छ । नियमावलीको नियम
२७(३) ले व्यवस्थापन समितिको अध्यक्ष र सदस्यहरु छनौट सम्बन्धी अन्य कार्यविधि कार्यपालिकाले तोके बमोजिम हुने व्यवस्था गरेर नगरपालिकाले रिमोट आफ्नो हातमा राखेको देखिन्छ ।
विघटन गर्न सक्ने ः
व्यास नगरपालिकाको निर्देशनको उलंघन गरेमा वा विद्यालयको सन्तोषजनक व्यवस्थापन गर्न नसकेमा पनि विघटन गर्न सक्ने व्यवस्था नियमावलीको नियम ३० ले गरेको छ ।
निर्देशनको उल्लंघन र सन्तोषजनक व्यवस्थापनः
कोभिड–१९ ले भेला समारोह गर्न व्यास नगरपालिका र जिल्ला प्रशासनले रोक लगाएको अवस्था २०७८ बैशाख २२ गतेदेखि अद्यावधी कायमै छ । यस अवधिमा २०७८ जेठ मसान्तभित्र विद्यालय व्यवस्थापन समिति गठन गर्न व्यास न.पा.को कार्यक्षेत्रभित्रका सबै विद्यालयलाई परिपत्र गरेको थियो । सो परिपत्र बमोजिम जेठ मसन्तभित्र कार्यकाल समाप्त भएका विद्यालय व्यवस्थापन समितिले अर्को कार्यकालको समिति गठन गर्न नसक्नुलाई व्यास नगरपालिकाले निर्देशनको अवज्ञा गरेको र विद्यालयको सन्तोषजनक व्यवस्थापन गर्न नसकेको अर्थ लगाएको बुझ्न सकिन्छ ।
निष्कर्षः
आफ्नो कार्यकाल सकिनु अगाडि नयाँ कार्यकालको प्रारम्भ गराउनु समितिको कर्तब्य हो । प्रतिकूल अवस्थामा अन्य विकल्प खोजिनु पर्दथ्यो । नियमसम्मत संरक्षकत्व ग्रहणलाई नगरवासी आमअभिभावकले स्वभाविक रुपमा लिनुपर्ने हुन्छ । कार्यकारी जिम्मेवारी लिएको संस्थाले अनिर्णयको बन्दी अवस्थामा राख्नु भन्दा अनुकूलको निकाश त्यही ‘विघटन’ थियो ।
विव्यस विघटन, नियमावली र वैद्यता
previous post