शिक्षण सिकाईमा प्रविधिको प्रयोगमा जोड
दमौली/नयाँ शैक्षिक सत्र२०७७ को सिकाईलाई कोभिड–१९ को संक्रमणले प्रभावित पारेपछि विद्यालय शिक्षाको विकल्पको खोजी हुन थालेको छ । त्यो विकल्प खोजी विद्यालय शिक्षासंग सरोकार भएका विशेष गरी स्थानीय तहका शिक्षा शाखा प्रमुखहरु, शिक्षक महासंघ तनहुँ, शिक्षकका पेशागत संस्थाका प्रमुखहरुले खोज्ने छन् ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा २०७७ जेठ १९ गते बसेको बैठकले शिक्षण सिकाईका विकल्पको खोजी गर्दै सूचना र प्रविधिको प्रयोगमा संम्भाव्यता अध्ययन गर्न खोजेको छ । शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन भैसकेको अवस्थामा विभिन्न विद्यालयहरुले बालबालिकाको शिक्षण सिकाईलाई निरन्तरता दिन गरेका राम्रा प्रयासहरुको अनुभव आदान प्रदानबाट बैठकले विकल्पका विभिन्न स्वरुपहरुको समेत समिक्षा गरेको छ ।
बालबालिकाको हातहातमा नयाँ पाठ्यापुस्तक पु¥याउने प्रतिबद्धता सहित बालबालिका सिकाईलाई निरन्तरता दिन बालबालिकाको अवस्था, पहूँच र आवश्यकता अनुसार सिकाईलाई निरन्तराता दिन एफ एम रेडियो तथा टि भि को माध्यम प्रभावकारी हुन्छ भने त्यसलाई प्रयोगमा ल्याउन सुझाएको छ । त्यसैगरी डिजितल पहूँचमा रहेका बालबालिकालाई अनलाईन डिजिटल माध्यमको प्रभावकारी सिकाई हुन सक्दछ भने त्यसलाई निरन्तरता दिन सकिने विकल्प खुला गरेको छ ।
तनहुँका सबै विद्यालयका शिक्षकहरुमा वर्तमान अवस्थामा शिक्षणको फरक क्षमताको विकास गर्नु पर्ने आवश्यकतालाई महसुस गरी क्षमता विकासका लागि पहल गर्ने तत्परता देखाएसंगै हरशिक्षकले सूचना र प्रविधिको प्रयोग गरी शिक्षण गर्न सक्ने आफ्नो क्षमताको विकास गर्नुपर्ने तर्फ पनि सजग गराएको छ । शिक्षकको क्षमता विकास गर्नका लागि स्थानीय तह, शिक्षा विकास तथा समन्वय इकाइ, शिक्षकका पेशागत सस्था, र विद्यालय समेतको पहल गर्नेछन् । कोभिड १९ को माहामारीले ल्याएको लकडाउनको अबस्थामा शिक्षकहरुलाई डिजिटल साक्षर तथा शिक्षण सिकाइमा सूचना तथा संचार प्रविधिको प्रयोग गर्न सक्ने गरी क्षमता विकासका कार्यक्रम सञ्चालन गरिने शिक्षा विकास तथा समन्वय इकार्यका प्रमुख रमाकान्त शर्माले बताउनु भयो । कक्षा एक देखि तीन सम्मका बालबालिकाको शिक्षालाई विशेष चासो देखाई एकिकृत नयाँ र स्थानीय पाठ्यक्रमको अभिमुखीकरण गर्ने कार्यको थालनी गर्नेमा सरोकार वालाहरुले प्रतिबद्धता जनाएका छन् । शिक्षण सिकाईलाई प्रभावकारी बनाउन टोल टोलमा सिकाइ समुह निर्माण गरी स्थानीय शिक्षकले सिकाइलाई निरन्तरता दिने तर्फ विशेष जोड दिइएको छ ।