काठेकोट/तनहुँ जिल्लाको दक्षिण पश्चिम स्थित काठेकोट भन्ने गाउँमा जन्मेका वेमबहादुर/चित्रा थापा हाल बेलायत निवासी हुन् । उनले विदेशमा बसेर कमाएको रकमले आफ्नो जन्मस्थानको सेवा गरेका छन् । साविक गजरकोट हालको घिरिङ गा.पा. वडा नं. २ मा यो दशैं मनाउन घर आउने क्रममा विभिन्न विकास, निर्माण समेतका काममा झण्डै १४ लाख बराबरको काम गरेको काठेकोटबाट होमबहादुर थापाले बताए ।
होमबहादुर थापाले बताए अनुसार थापा परिवारले गजरकोट स्थित नाहुँ थानको मन्दिर बनाउनका लागि दश लाखको चेक समितिका अध्यक्ष दयाराम श्रेष्ठलाइ असोज १३ गते हस्तान्तरण गरेका छन् । सोही दिन थापा दम्पत्तीले काठेकोटको चण्डी आधारभूत विद्यालयका सम्पूर्ण विद्यार्थीहरुलाइ स्पोर्ट ड्रेस सेट र स्टेशनरी सामाग्री समेत करिव ६६ हजारको सामान उपलब्ध गराएका छन् । उनले गाउँका किसानहरु भारी बोकेर आएर थकित अवस्थामा विश्राम गर्ने काठेकोट स्थित जिर्ण बनेको भञ्ज्याङ सितल चौतारीलाइ मर्मत गरी प्लास्टर गरी पिउने पानीको धारा समेतको व्यवस्था गरेका छन् । यो कार्यमा थापा दम्पत्तीले करिब ८५ हजार खर्च गरेको समाजसेवी होमबहादुर थापाले बताए ।
जिर्णोद्वार गरिएको सितल चौतारीमा करिव डेढ लाख खर्च गरेर सो क्षेत्रको सम्पूर्ण समाजकै तर्फबाट समाजलाइ सहभागि गराएर पितृपुजा कार्य सम्पंन्न गरी साँझ लाख बत्ती बालेको पुरोहित ब्रम्हमण कमल अधिकारीले बताए । थापा परिवारले काठेकोटको श्रीचण्डी आमा समूहमा आवद्ध झण्डै ६० जना महिलालाइ जनही एक लुंगी र समितिलाइ नगद नौ हजार चन्दा दिएको छ । यसको साथै गाउँ समाजमा रहेको नौमति बाजा समूहलाइ थापा दम्पत्तीले १२ हजार नगद सहयोग गरेको छ ।
थापा दम्पत्ती धन मात्रै होइन मन समेत भएको समाजले टिप्पणी गरेको छ । थापा दम्पत्ती प्रायः २/२ बर्षमा नेपाल आउने गर्दछ । नेपाल आएको समयमा र कति ठाउँमा त विदेश रहेकै समयमा समेत पैसा दिएर सामाजिक तथा धार्मिक काम गरेको छ । थापा दम्पत्तीले काठेकोटमा सत्यसाइ कोष खडा गरेर सो कोषका लागि तीन लाख रुपयाँ दान गरेको छ । विगतका बर्षहरुमा पनि वेम दम्पत्तीले पिउने पानी पँधेरा मर्मत, पँधेरा जाने बाटोमा सिडी निर्माण, साहिली कमला बाराही मन्दिर निर्माण गरेका छन् । चण्डी आधारभूत विद्यालयमा आफ्ना पितामाता खिमानसिं÷मायाँदेवीको नाममा दुइ लाख पचास हजारको अक्षयकोष स्थापना गरेर गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाइ सहयोग पुर्याइ रहेका छन् ।
थापा दम्पत्ती गाउँमा आएका बेला ८/१० लाख बराबरको भौतिक निर्माण तथा सामाजिक संघ संस्थालाइ दान गर्ने गरेका छन् । गाउँका बासिन्दा प्रभावित भएर उनको स्वागतका लागि नौमति बाजा बजाएर स्वागत गर्ने गरेको काठेकोटका बासिन्दाहरु बताउँछन् ।