दमौली/नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको ४०औं साधारण सभा तथा १३औं अधिवेशनले आगामि दुई बर्षको लागि नयाँ नेतृत्व सर्वसम्मत रुपमा चयन गरेको छ । नेपाली काँग्रेसको बर्चस्व रहेको यो अन्तराष्ट्रिय प्रकृतिको संस्थामा नेतृत्व चयन पनि नेपाली काँग्रेसको पार्टी कार्यालयबाट निर्देशित हुने गरेको एक सय ६८ सभासदलाई भएको छ । कुनै नेतृत्व पार्टीको निर्देशनमा बसिदिन परेको र कति नेतृत्व मैले उम्मेदवारी दिन्छु भन्दा पनि दिन नपाएको अवस्था सामाजिक सञ्जालमा आएको क्रियाप्रतिक्रियाबाट झल्किएको छ ।
तनहुँ शाखाको १३औं अधिवेशनले प्रा.डा. कृष्णप्रसाद गौतमको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । नेपाली काँग्रेस तनहुँको सभापति पदका लागि पटक पटक चुनावी प्रतिष्पर्धामा उत्रेका, नेपाली काँग्रेसका पूर्व सचिव, महासमिति सदस्य गौतमले पछिल्लो पटक नेपाल रेडक्रस सोसाईटी तनहुँ शाखाको सभापतिको कार्यभार सम्हाल्नका लागि लालायित हुनुको रहस्य नेपाली काँग्रेस जिल्ला कार्य समितिको तनहुँको सभापतिको अगामि निर्वाचनमा विजयी बन्ने पृष्ठभूमिको बनाएको भनेर तनहुँ काँग्रेसबृत्तमा चर्चा गर्न थालिएको छ ।
गौतमको नेतृत्वमा रहेको शाखा समितिको उपसभापतिद्वयमा कमलभक्त पोखरेल र नारायणी अधिकारी चयन भएका छन् । त्यसैगरी मन्त्री र कोषाध्यक्षमा सूर्यचन्द्र हड्खले र प्रतापसिं अधिकारी चयन भएका छन् । उपमन्त्रीमा केशब भट्टराई र उपकोषाध्यक्षमा हरि सिग्देल चयन भएका छन् । सदस्यहरुमा चिनु पोखरेल, मथुराकृष्ण श्रेष्ठ, केशबराज पोख्रेल, विपीन्द्र सेन ठकुरी, सुमन थापा, विवेक न्यौपाने, विमल गिरी, कृष्णराज न्यौपाने, केशमायाँ गुरुङ्ग, सरस्वती थापा समेत गरी अधिवेशनले १७ जनाको कार्यसमितिलाई निर्वाचित गरेको छ । यो समितिमा निवर्तमान सभापति कृष्णहरि वाग्ले, गण्डकी प्रदेश महासचिव रामदत्त पौडेल, सदस्य कृष्णचन्द्र पाण्डे समेत गरी २० सदस्य रहने विधानसम्मत व्यवस्था छ ।
मंगलबार पदभार ग्रहण गरेको नयाँ समितिले पुसको १८ र १९ गते हुने भनिएको केन्द्रिय अधिवेशन प्रतिनिधि छनौट गर्न असफल रहेको छ । १२ गतेको पहिलो बैठकले केन्द्रिय प्रतिनिधि चयन गर्न असमर्थ भएपछि कार्य समितिले सभापति गौतमलाई एकल अधिकार दिएको कुरा बाहिर आएको छ । सभापति कृष्णप्रसाद गौतमले कतिदिन भित्र त्यो निर्णय दिने हुन् प्रतिक्षाको विषय बनेको छ ।