दमौली/राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हिजो देशभर उम्मेदवारहरुले मनोनयन गरेका छन् । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।
राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ । यो निर्वाचनमा प्रदेशसभा र स्थानीय तहका प्रमुख एवम् उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष मतदाता रहने व्यवस्था छ । हालको व्यवस्था अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्ष को मतभार १९ कायम गरिएको छ ।
कोशी प्रदेशमा ३४८ मतदाता रहेका छन् । उनीहरुको कूल मतभार १०,१३५ हुन्छ । मधेश प्रदेशमा ३७९ मतदाता र १०,८३९ मतभार, बागमतीमा ३४७ मतदाता र १०,३३३ मतभार, गण्डकीमा २२९ मतदाता तथा ६,४१० मतभार, लुम्बिनीमा ३०५ मतदाता र ८,७५३ मतभार, कर्णालीमा १९६ मतदाता र ५,१२२ मतभार तथा सुदूरपश्चिममा २२९ मतदाता र ६,१५३ मतभार रहेको आयोगले जनाएको छ ।

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, नेकपा एमाले र जसपा/लोसपाबीच गठबन्धन भइ सोही अनुसार बुधबार उम्मेदवारी दर्ता भएको छ ।
चार दलबीच भएको सहमती अुनसार कांग्रेसले ९, एमालले ८ र जसपा/लोसपालाई १ सिट हुनेगरी बाँडफाँड गरिएको छ । नेपाली कांग्रेसले कोशी प्रदेशमा सुनिलबहादुर थापा , मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा , गण्डकी प्रदेशबाट जगत् तिमिल्सिना लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजङ्ग शाही तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती लाई उम्मेदवार बनाइएको छ ।
एमालेको तर्फबाट लीला भण्डारी (सुदूरपश्चिम), मीना रखाल (कर्णाली), रामकुमारी झाक्री (लुम्बिनी), सम्झना देवकोटा (गण्डकी), प्रेम दङ्गाल (बागमती), रेखा झा (मधेश), रोशनी मेचे (कोशी), र सोम पोर्तेल (कोशी) उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपाले कोशी प्रदेशबाट खेमराज सुन्दास, र नमिता न्यौपाने, मधेसबाट रामनन्दन प्रसाद, लक्ष्मण पौडेल, शम्भु पासवान र समिकुमारी अग्रवाल, बागमतीबाट प्रेमप्रसाद सापकोटा र सरोज कुमारी झाले मनोनयन दर्ता गराएका
छन् ।
यसैगरी, गण्डकीबाट कपिल लामा, लुम्बिनीबाट दुर्गा भण्डारी, बृहस्पति, अधिकारी र सर्जन बिक, कर्णालीबाट बुद्धिप्रसाद शर्मा र अन्जु महतरा तथा सुदूरपश्चिमबाट टीकाराम जैशी र रोजी बस्नेत सुनारले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।
यसैबीच नेपाली कांग्रेसका कोशी प्रदेशका अन्य तर्फका उम्मेदवार सुनिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन् । नेकपाका उम्मेदवार हेमराज घिमिरे निर्धारित समयमा मनोनयन दर्ता गर्न नपुगेपछि उनी निर्विरोध भएका हुन् ।
