परीक्षा केन्द्रमै उत्तर पुस्तिका परिक्षण, एक महिनामै नतिजा प्रकाशन तयारी
दमौली/गत माघ ७ मा राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित गरेको समय तालिका अुनसार देशभर र जापानको एभरेष्ट स्कुलमा माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट सञ्चालन हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य गरी कुल ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । जापानको एक सहित १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता व्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाईएको छ । अपांगता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्नसक्ने व्यवस्था पनिकाले गरेको छ ।

यता तनहुँमा नियमित तर्फ ४ हजार ९ सय ४० र ग्रेडवृद्धि तर्फ १ हजार २ सय १५ गरी कुल ६ हजार १ सय ५५ परीक्षार्थी एसईईमा सहभागी हुँदैछन् । परीक्षा सञ्चालनका लागि शिक्षा विकास तथा समन्वय इकाइले जिल्ला भर १८ परीक्षा केन्द्र तोकेको छ । इकाइले उपलब्ध गराएको तथ्याङ्क अुनसार दमैलीको सत्यवती मावि केन्द्रबाट सबैभन्दा धेरै नियमित तर्फका ३ सय ४० र ग्रेडवृद्धि तर्फका ५३ गरी कुल ३ सय ९३ परीक्षार्थीले परीक्षा दिँदैछन् । यसैगरी सबैभन्दा थोरै परीक्षार्थी भने घिरिङको चन्द्रज्योति मावि केन्द्रमा रहेका छन् । यस केन्द्रबाट नियमित तफ १ सय १ र ग्रेडवृद्धि तर्फ ५६ गरी कुल १ सय ५७ जना परीक्षामा सामेल
हुँदैछन् ।
यस पटकको एसईईमा नियमितमा सामुदायिक विद्यालय तर्फ सत्यवती मावि दमौलीबाट सबैभन्दा धेरै ३ सय १४ विद्यार्थी सहभागी हुँदैछन् भने सबैभन्दा थोरै अरुण मावि हुस्लाङबाट ३ जना सहभागी हुँदैछन् । निजी विद्यालय तर्फ सबैभन्दा धेरै व्यासदिव्यज्योति आमावि दमौलीबाट ६७ जना सहभागी हुँदैछन् । निजी तर्फ दिपशिखा बन्दिपुर ई. बोर्डिङ स्कुल डुम्रेबाट सबैभन्दा थोरै ५ जना सहभागी छन् । निजी तर्फकै तनहुँ मनाकामना बोर्डिङ स्कुल भानु, न्यू भिजन पब्लिक एकेडेमी म्याग्दे, लोटस वड स्कुल ढोरफिर्दी र आदर्श विद्यागृह दमौलीबाट एसईईमा सहभागिता छैन ।
यसैबिच एसईईको नतिजा एक महिनामै प्रकाशन गर्ने तयारी थालिएको छ । शिक्षा मन्त्रालयको निर्देशनमा राष्ट्रिय परीक्षा बोर्ड एक महिनामै नतिजा प्रकाशन गर्ने गरी कार्यविधि बनाउन लागेको छ । बोर्डले शिक्षा मन्त्री सस्मित पोख्रेलको निर्देशन अनुसार उत्तरपुस्तिका र नतिजा प्रकाशनसम्बन्धी कार्यविधि तयार पारेर एक साताभित्र मन्त्रालयमा पेस गर्ने छ । मन्त्रालयले कार्यविधि पास गरेपछि बोर्डले सोहीअनुसार नतिजा प्रकाशनका लागि काम थाल्नेछ । मन्त्री पोखरेलले सोमबार राष्ट्रिय परीक्षा बोर्डलाई एक महिनामै परीक्षाफल प्रकाशन गर्न सक्ने गरी योजना बनाउन निर्देशन दिएका थिए ।
एक महिनामै परीक्षाफल सार्वजनिक गर्न सम्बन्धित परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउन पनि बोर्डलाई निर्देशन छ । योजना बनाएर सबै परीक्षा केन्द्रबाटै उत्तरपुस्तिका परीक्षण गर्ने हो भने एक महिनामै नतिजा सार्वजनिक गर्न सम्भव देखिन्छ ।
