चाडबाड मनाउन तथा चाडवाड बनाउने अवसरमा भाइचारा र सद्भाव साटासाट गर्न हामी नेपाली संसारका अन्य देशका नागरिकभन्दा सायद धेरै अगाडि छौं ।
हरेक वर्ष जस्तै यो वर्षका चाडबाड पनि धमाधम आउन थालेका छन् । शनिबार हामीले कुशे औंशी अर्थात बुबाको मुख हेर्ने पर्व मनाउँदै छौं । यही दिन नेपाली साहित्यमा युवा कवि नामले सुपरिचित मोतीराम भट्टको जन्म भएको थियो । वि.सं. १९२३ भाद्र २५ गते शनिबार काठमाण्डौमा कुशे औंशीकै दिन पण्डित दयाराम भट्ट र माता रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रुपमा मोतीको जन्म भएको थियो । मोतीले भानुभक्तलाई आम नेपालीमाझ चिनाउने काम गरे । भानुभक्तको जीवनी लेख्नेदेखि उनका फुटकर कविताहरू र अन्य कृतिका बारेमा भट्टले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर गरेका हुन् । नेपाली साहित्यमा भानुभक्त आचार्यपछि आउने सशक्त व्यक्तित्व मोतीरामले नेपाली भाषामा गजल लेखनको सुरुवात गर्दै श्रृङ्गार रसले भरिएका गजलहरू लेखे ।
नेपाली साहित्यमा समालोचना लेखनको प्रारम्भ गर्ने व्यक्तिको रुपमा समेत परिचित मोतीरामले आफ्नो तीन दशकको छोटो जीवनकालमा नेपाली साहित्यको मलजल मात्र गरेनन् यसको विकास र विस्तारमा उत्तिकै योगदान गरे । नेपाली साहित्यमा प्रथम गजलकार, जीवनी लेखक, समालोचक तथा माध्यमिक कालका प्रवर्तक उनै मोती हुन् । मोती जयन्तीको अवसरमा उनकाप्रति हाम्रो सम्मान र सम्झना ।
अब अर्काे नजिकै आएको नेपाली नारीको महत्वपूर्ण पर्व तीजको कुरा गरौं । अर्काे मंगलबार देशभरका महिला दिदीबहिनीहरु हर्षाेल्लासका साथ तीज पर्व मनाउँदै छन् । तीज नजिकिँदै गर्दा आममानिसमा भने भड्किलो बन्दै गएको र मौलिकता गुमाउँदै गएको कुराले चिन्ता थपिन्छ । साँच्चै नै पछिल्लो समयका तीज मनाउने तरिकालाई नियाल्ने हो भने तीजले सादगी र मौलिकता गुमाउँदै गएको सहजै देख्न सकिन्छ । युट्युवमा साउन नलाग्दै आउन थाल्ने तीज गीतका भिडियोसँगै दर खाने कार्यक्रमहरु सुरु हुन्छन् । अब मदिरा, मोबाइल, मासु र मस्ती तीजको पर्यायवाची जस्तै बनेका छन् । दर खान कसैको घर होइन महंगा पार्टी प्यालेसहरु रोजाइमा पर्न थालेका छन् । अब दर खाने भनेर तीजको अघिल्लो रात अबेला परिवारका सबै जम्मा हुने अनि करेला र भिण्डीको अचार तथा तामाको तरकारीसँग केराको पातमा घ्युले लचप्प भएको खाजा खाने कुरा कथा भएको छ ।
भड्किलो बन्दै गएको तीजलाई मौलिकतायुक्त सादगी बनाउँदै हाम्रो सभ्यता, संस्कृति र परम्परा जोगाउनु पर्ने भएको छ । तीजलाई सबैले हाँसीखुसी मनाउन सक्ने मौलिक, चेलीबेटी मैत्री पर्वकै रुपमा रहन दिने अभियानको थालनी दिदी–बहिनीहरुबाटै शुरु गरौं भन्ने प्रेरणा जागोस् । तीजको सबै आमा, दिदी, बहिनीहरूमा शुभकामना ।
मोतीको सम्झना, तिजको शुभकामना-सम्पादकीय
previous post