चाडवाड मनाउन, चाडवाड मनाउने अवसरमा भाइचारा र सद्भाव बाँड्ने कुरामा हामी नेपाली निकै अगाडी छौं । हरेक वर्ष जस्तै यो वर्षका चाडबाड पनि धमाधम आउन थालेका छन् । सोमबार मात्र हामीले कुशे औंशी अर्थात बुबाको मुख हेर्ने पर्व मनायौं ।
यही दिन नेपाली साहित्यमा युगकवि नामले सुपरिचित मोतीराम भट्टको जन्म भएको दिन पनि हो । वि.सं १९२३ भाद्र २५ गते शनिबार काठमाडौँको भोसिको टोलमा कुशे औंशीको दिन पण्डित दयाराम भट्ट र रिपुमर्दिनीदेवी भट्टका माइला सुपुत्रका रूपमा जन्मेका मोतीले खासगरी आदिकवि भानुभक्तलाई आमनेपाली माझ परिचित गराउने काम गरे । भानुभक्तको जीवनी लेख्ने देखि उनका फुटकर कविताहरू र अन्य कृतीका बारेमा मोतीरामले अध्ययन, उत्खनन गरी नेपाली समाजमा उजागर गरेका हुन् ।
नेपाली साहित्यमा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व मोतिरामले नेपाली भाषामा गजल लेखनको प्रारम्भ गर्दै श्रृंगार रसले भरिएका गजलहरु लेख्ने गर्दथे । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने व्यक्तिका रुपमा समेत परिचित मोतीरामले आफ्नो जीवनको छोटो कालखण्डमा नेपाली साहित्यमा मलजल मात्र गरेनन् यसको विकासमा उत्तिकै योगदान दिए । नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक उनै मोतीका प्रति उनको जन्मदिनको अवसरमा हाम्रो सम्मान सहित सम्झना !
अब संघारमा आएको पर्व तिजको कुरा गरौं । भोली नेपाली महिलाको महत्वपूर्ण पर्व तिज । तिज नजिकिँदै गर्दा वितेका वर्षहरुमा जस्तै यो वर्ष भड्किलो बन्दै गएको र यसले आफ्नो मौलिकता गुमाएकोमा चिन्ता व्यक्त हुन थालेका छन् । पछिल्लो समयको कुरा गर्ने हो भने तीजको सादगी र मौलिकता हराएको छ । साउन महिना लाग्दै देखि तीजको दर खाने कार्यक्रम सरु हुन्छ । त्यो पनि मदिरा र मासु मिश्रित अनि महंगा होटल र पार्टी प्यालेसहरुमा । अब दरखाने भनेर तीजको अघिल्लो रात अबेला परिवारका सबै जम्मा भएर करेला र भिण्डीको अचार अनि तामाको तरकारीसंग केराको पातमा ध्यूले लचप्प भएको खाजा खाने कुरा कथा भएको
छ ।
भड्किलो र विकृत बन्दै गएको तीजलाई सादगीपूर्ण अनि हाम्रो सभ्यता, संस्कृति र परम्परा बचाउने गरि मनाउन जरुरी छ । यो कुराको नेतृत्व पढेलेखेका र समाज सुधारमा लागेका महिलाहरुले गर्ने हो । उनीहरुले चाहेमा तीजबाट भड्किलोपन र विकृति हटेर जान्छ । आउनुहोस् दिदी बहिनी सबैले हाँसी खुसी मनाउन सक्ने पर्व बनाउने अभियानमा आजैबाट लागि परौं । तीजको सबै नेपाली आमा, दिदी तथा बहिनीहरुमा शुभकामना ।
मोतीको सम्झना तिजको शुभकामना-सम्पादकीय
previous post