दमौली/सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष इश्वरप्रसाद खतिवडाको प्रमुख आतिथ्यतामा मेलमिलापकर्ता अभिमुखीकरण कार्यक्रम मंगलबार दमौलीमा सम्पन्न भयो ।
मेलमिलापको महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्थानीयतहका न्यायीक समिति, नागरिक समाज, मानव अधिकारी संगठन समेतको सहभागितामा शुरु भएको अभिमुखीकरणको छलफलको आधारपत्रका रुपमा तनहुँ जिल्ला अदालतका माननीय न्यायाधीश दुर्गाप्रसाद ढुंगेलले ‘नेपालको सन्दर्भमा मेलमिलापः कानून, अभ्यास र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सयौंको संख्यामा रहेका सहभागिहरु मध्ये करिब पन्ध्रजनाले आफ्नो धारणा राखेका थिए । सहभागिहरुले राखेका जिज्ञासा, आक्रोस र समस्याप्रति परिषद अध्यक्षले सभ्य र शिष्ट शैलीमा समाधानका उपाय बताउँदै शान्त पार्नुभएको थियो । उच्च अदालतका पूर्व मुख्य न्यायाधीश एवं मेलमिलाप विज्ञ समूहका केशरीराज पण्डितले पनि सहभागिहरुले प्रस्तुत गरेका समस्या समाधानका उपायहरु सुझाउनु भएको थियो ।