
नासो पूर्बजको जोगाउन बडो गाह्रो भएको पल
लाग्ने दिक्क,प्रहार हुन्छ दिनहुँ गर्दै पराई छल
भाषा धर्म परम्परा र घरका संस्कार भुल्दै गए
आमा भन्न लजाउने किन अहो मान्छेहरू के भए?
पुस्ता एक बरालियो मुलुकमा बिग्र्यो भने बेसरी ।
अन्धाकार बन्यो भबिश्य अधुरो उम्कन्छ खै के गरी
पक्कै जान्छ समाज खाडल तिरै संजाल यस्तै रहे
यस्मा ध्यान गएन उच्च तहका मान्छेहरू के भए?
ध्यानै मात्र चुनाव जित्नु कसरी सत्ता बन्यो तागत
खुम्चे ब्यर्थ भए लगानी जनका के गर्नु खै स्वागत।
साच्चैँ देश बनाउने सफरमा चिप्लेर चुक्दै गए
यस्मा ध्यान गएन उच्च तहका मान्छेहरू के भए?
सुन्दैनन तलका कथा बिरहका यस्तै छ ऐले जव
भोभो ब्यर्थ नबोल न्यून तहका मान्छेहरू हो अब।
जन्ताका सपना र चाह मनका वैलेर मर्दै गए
उत्रेनन ब्यबहारमा किन अझै सत्ताहरू के भए?
रोए जून र घाम बृक्ष फलका खोला र पाखा बन
रोए कृषक कर्मबीर जनका आँसी हथौडा घन।
गाथा गौरवको र सान घरको वैलिन्छ यस्तै रहे
उत्रेनन ब्यबहारमा किन अझै सत्ताहरू के भए?
दुब्लो देश बन्यो पदासिनहरू मोटा भए देशमा
यस्तै कारणले बिकल्प जनले खोजे इतिहाँसमा।
राम्रोको अनुभूत गर्न नसके के भन्नु ब्यर्थै जए
को देला यसको जवाफ सजिलै मान्छेहरू के भए?