दमौली/कांग्रेस भित्रको सदावहार रोगको रुपमा रहेको क्रियाशील सदस्यता विवाद चौंधौं महाधिवेशनको सन्दर्भमा भने सल्टिएको छ । १७० भन्दा बढी वडाहरुको विवादलाई अर्काे महाधिवेशनसम्मको लागि स्थगित गरेर विवाद समाधान भएसंगै महाधिवेशनका लागि चौथोपटक प्रकाशित तालिका अनुसार महाधिवेशन हुने सम्भावना बढेको छ ।
क्रियाशील सदस्यता विवाद समाधानका लागि झण्डै १९ महिना लामो प्रयत्नले आकार ग्रहण गरेसंगै भदौं १८ गते वडा अधिवेशन गर्ने र क्रमशः अन्य तहको अधिवेशन गर्दै गएर मंसिर ९–१३ मा काठमाण्डौंमा केन्द्रीय महाधिवेशन गर्ने भनि पछिल्लो पटक प्रकाशित कार्यतालिकामा भने महाधिवेशन हुने सम्भावना बढेको हो ।
पहिलो पटक २०७६ माघ १३ मा २०७७ फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर उक्त समयमा क्रियाशील सदस्यको विवादकै कारण महाधिवेशन हुन सकेको थिएन । नयाँ क्रियाशील सदस्यता वितरणका लागि सदस्यता फारम नै सम्बन्धित ठाउँमा नपुगेको र पहिल्यैदेखि थाँती रहेको विवाद समाधान गर्न समिति समेत नबनेको अवस्थामा तोकिएका समयमा महाधिवेशन हुने कुरै थिएन । यही कारण महाधिवेशन सार्नुपर्ने अवस्था आयो ।
दोस्रो पटकका लागि भदौं ७–१०, २०७८ का लागि महाधिवेशनको मिति तोक्यो तर विवाद समाधान हुन नसक्दा तेस्रो पटक भदौं १६–१९ का लागि मिति तोकियो । तर विवाद नमिल्दा त्यो मितिमा पनि महाधिवेशन हुन सकेन ।
अन्ततः कृष्णप्रसाद सिटौला, मीनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित कार्यदलले सदस्यता विवाद किनारा लगाउँदा अब चौथो पटक प्रकाशित कार्यतालिकामा भने अधिवेशन हुने संभावना बढेको छ ।
कांग्रेसको चौधौं महाधिवेशनका लागि पछिल्लो पटक प्रकाशित कार्यतालिका अनुसार २०७८ भदौ १८ मा वडा अधिवेशन हुनेछ भने गाउँ÷नगर पालिका अधिवेशन सोही २७ मा हुनेछ । यसैगरी प्रदेश क्षेत्रको अधिवेशन असोज १ मा तथा संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ मा सम्पन्न हुनेछ । जिल्ला अधिवेशन असोज १० मा, प्रदेश अधिवेशन कार्तिक १० देखि १२ र केन्द्रीय अधिवेशन मंसिर ९ दखि १३ सम्म हुनेछ ।
सोमबार कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा क्रियाशिल सदस्यहरुको नामावलाी सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसको केन्द्रिय कार्यालय काठमाण्डौ सानेपामा संस्थापन इतरधारका जिल्ला सभापतिहरुले रिले अनसन शुरु गरेका छन् । कार्यदलका सदस्य रमेश लेखकको भनाई अनुसार क्रियाशिल सदस्यहरुको नामावली प्रकाशित गरिहाल्न नेपाली काँग्रेसमा समाहित भएका सुनिल थापाहरुको दलका कार्यकर्ताको क्रियाशिल सदस्यताको टुंगो लागेपछि एकैचोटी नामावली प्रकाशित गर्ने योजनामा संस्थापन पक्ष रहेको छ । तर संस्थापन इतरपक्षले क्रियाशिल सदस्यहरुको नामावली प्रकाशित नगरेर धाँदली गर्न खोजेको आशंकाका साथ मंगलबारबाटै रिले अनसन सुरु गरेका छन् । यसमा नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोईराला समेतको नैतिक समर्थन रहेको विभिन्न सञ्चार माध्यमहरुले जनाएका
छन् ।
यो दृष्यले नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तरगतको भाद्र १८ गते शुरु हुने भनिएको अधिवेशनको सुनिश्चिता गरेको छैन ।
महाधिवेशन सम्भावनाको नजिक कांग्रेस क्रियाशील सदस्यता विवाद सकियो
previous post