रमेश विकल
पार्टी महाधिवेशन फागुन–२१ मा हुने प्रतिनिधि सभा निर्वाचन अगाडि गर्ने कि पछाडि भन्ने कुरामा सहमति नहुँदा नेपाली कांग्रेस भित्र कलह कै स्थिति सिर्जना भएको छ ।
पार्टी संस्थापन पक्ष निर्वाचन अगाडि महाधिवेशन गर्न नहुने पक्षमा छ भने इतर समूह महाधिवेशन सम्पन्न गरेर नयाँ अनुहार, कार्यक्रम र उर्जा सहित निर्वाचनमा जानु पर्ने पक्षमा छ ।
मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औं महाधिवेशन पुष १६–१९ मा गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले संस्थापन पक्षको प्रतिनिधित्व गर्दै २०८३ बैशाख २७–३० मा महाधिवेशन गर्ने गरी अर्काे कार्यतालिका प्रस्तुत गरेका थिए । यसपछि कांग्रेसभित्रको कलहले अझ चर्काे रुप लिने देखिएको छ ।

नेपाली कांग्रेसका अनुसार चौधौं महाधिवेशनका लागि ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि थिए । त्यसमध्ये ५० प्रतिशतभन्दा बढी अर्थात २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि हस्ताक्षर समेत बुझाईसकेका छन् । कांग्रेस विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन गर्नु पर्ने व्यवस्था छ । तर संस्थापन पक्ष महाधिवेशन प्रतिनिधिको म्याद सकिएको तर्क गर्दै आधाबढी महाधिवेशन प्रतिनिधिको विशेषाधिकार मिचेर आसन्न निर्वाचनलाई नकारात्मक असर पर्ने बहानामा महाधिवेशन पछाडि सार्ने प्रयत्नमा छ ।
बहुमत महाधिवेशन प्रतिनिधिको मतको अवहेलन गर्न नहुने तर्क गर्दै संस्थापन इतर पक्ष महाधिवेशन प्रतिनिधिको म्याद सकिने तर तिनै महाधिवेशन प्रतिनिधिले निर्वाचित गरेका केन्द्रीय सदस्य तथा पदाधिकारीको म्याद भने बाँकी नै छ भन्नु गलत हुने तर्क गर्दैछ ।
निर्वाचन अगाडि महाधिवेशन हुनुपर्छ भन्ने तर्क गर्दै आएका महामन्त्री गगन थापा महाधिवेशनलाई आत्मसमीक्षा र पुनर्जन्मको अवसर लिनु पर्ने बताउँदै विगतमा गल्ती गरेको तर अहिले जनआवाज सुनेको र सोही अनुकूल सुधार गर्न तयार भएको सन्देश लिएर जान पनि निर्वाचन अगाडि महाधिवेशन अनिवार्य भएको मत राख्छन् । युवा पुस्तासंग कांग्रेसको संवाद टुटेको स्वीकारेका गगनले छिटो छरितो संरचना सहितको युवाको आवाज बोकेको कांग्रेस आजको आवश्यकता भएको तथा त्यसका लागि महाधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेर निर्वाचनमा जानु पर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समितिमा निर्वाचन पछि महाधिवेशन भन्नेहरुको बहुमत भएकाले गगनले प्रस्ताव गरेको मितिमा महाधिवेशन होला भन्न सकिने अवस्था छैन । तर कांग्रेसलाई जीवन्त पार्टीको रुपमा राख्ने हो र आगामी निर्वाचनमा सकारात्मक नतिजाको अपेक्षा गर्ने हो भने बहुमत शुभेच्छुक, समर्थक, मतदाता, कार्यकर्ता तथा नेताहरुको भावना अनुसार कांग्रेस अगाडि बढ्नु जरुरी छ ।
