दमौली/व्यास नगरपालिकाको नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा मंगलबार सम्पन्न विशेष नगरसभाले भूमिहिनका लागि सहजीकरण समिति बनाउने निर्णय गरेको छ ।
नपाका अनुसार भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित वसोवासीको पहिचान र प्रमाणिकरणका लागि सहजीकरण समिति बनाउने निर्णय भएको हो । तिनीहरुको पहिचान र प्रमाणिकरणको आधार र मापदण्ड २०७७ ले गरेको व्यवस्था बमोजिम वडा स्तरीय सहजीकरण समिति बनाउने र उक्त समितिका सदस्य तथा राजनैतिक दलका प्रतिनिधि सम्मिलित हुनेगरी नगर स्तरीय सहजीकरण समिति गठन गर्ने निर्णय भएको हो ।
यसैगरी नगरसभाले सार्वजनिक निजी साझेदारी सम्बन्धी विधेयक समेत पारित गरको छ । विधेयक पारित भएसंगै सार्वजनिक निजी साझेदारीको माध्यमबाट नगरपालिकामा पूर्वाधार संरचनको निर्माण,सञ्चालन तथा सार्वजनिक सेवा प्रवाहमा सहजता आउने छ । नगरको वृहत्तर सामाजिक तथा आर्थिक विकास गर्न तथा सर्वसाधारलाई भरपर्दाे,किफायती र सर्वसुलभ सेवा–सुविधा उपलब्ध गराउन सहज हुने विश्वास नपाले लिएको छ । नगरसभाले नगरपालिकाको आर्थिक ऐन २०७७ पारित गरको छ ।