भिमाद/भिमाद नगर कार्यपालिकाको कार्यालयले भिमाद नगरपालिका क्षेत्रमा पशुवस्तुहरुको आवतजावत र ओसारपसार बन्द गरेको जनाएको छ ।
मंगलबार एक सूचना जारी गर्दै नपाले छिमेकी जिल्ला कास्कीका विभिन्न स्थानहरुमा पशुवस्तुहरुमा लाग्ने संक्रामक रोग खोरेत फैलिरहेको र भिमादकै वडा नं ८ मा खोरेतसंग मिल्दोजुल्दो लक्षण देखिने रोग देखापरेको भन्दै पशुवस्तुहरुको आवतजावत र ओसारपसार बन्द गरेको जनाएको हो । सूचनामा जनाइए अनुसार पौष १३ देखि ३० गते सम्मका लागि खोरेत रोग लाग्न सक्ने पशुवस्तुहरु गाई, भैसी, भेंडा, बाख्रा, सुंगुर तथा बंगुरको ओसारपसार र आवतजावत पूर्ण रुपमा बन्द गरिएको छ ।
पशुहरुको संक्रामक रोग नियन्त्रणमा स्थानीयको सहयोगको अपेक्षा गर्दै नपाले गोठमा जैविक सुरक्षाका उपायहरु अबलम्बन गर्न, अनावश्यक रुपमा अरुको गोठमा फर्ममा नजान र पशुवस्तु नल्याउन, गोठको काम गर्दा लागाएको लुगाकपडा र जुत्ताचप्पल अरुबेला प्रयोग नगर्न र गोठको काम सकेपछी हातखुट्टा राम्ररी धुन स्थानीयलाई आग्रह गरेको छ ।
यसैगरी नपाले केही समयका लागि पशुहरुको ओसारपसार पूर्ण रुपमा बन्द गर्न, गोठमा पालिएका वशुवस्तुमा कुनै किसिमको स्वास्थ्य समस्या देखिएमा तुरुन्तै सम्बन्धित निकायमा खबर गर्न तथा नियमित रुपमा गोठ र फर्म वरपर चुन, साईट्रिक एसिड वा भिर्काेन छर्न समेत आग्रह गरेको छ ।