प्रदेश–५को राजधानी र नामको विषयमा सत्ताधारी दल नेकपाले जवरजस्ती गर्न खोजेको भन्दै असोज १९ मा कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्यहरु कुर्सी, टेबुल तथा माइक भाँच्ने कार्यमा उत्रिय । प्रदेश सरकारले उक्त विषयमा आफुहरुसंग कुनै सल्लाह नगरेकोले आक्रोषित कांग्रेस सभा सदस्यहरु आफुहरुको अवरोधलाई वेवास्ता गर्दे छलफल अगाडी बढाउन लागेका कारण अझ आक्रोषित बनेका देखिन्थे । अझ आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले आफुहरुलाई घिसारेर बाहिर निकाल्न मर्यादापालकलाई आदेश दिएपछि थप आक्रोषित बने र तोडफोडमा उत्रिए ।
फरक विचार राख्नेहरुका प्रति अमर्यादित व्यवहार र भाषाको प्रयोग तथा जोर जवरजस्ती नेपालका कम्युनिस्टका लागि कुनै नयाँ र अस्वाभाविक काम होइन । त्यही स्वाभाविक व्यवहार प्रदेश सभामुख र मन्त्रीले प्रदेश सभामा गरे । संसदको कुर्सी भाँच्नु, संसदमा हतियार लिएर जानु, मन्त्री तथा सांसदलाई कुट्नु, सडकका रेलिङ र टेलिफोनका बुथ भाँच्नु वा विगार्नु, मतपत्र च्यात्नु कमसेकम असोज १९ अघिसम्म नेपालका कम्युनिस्ट नेता कार्यकर्ताको एकल कर्म थियो । उनीहरको एकाधिकार कायम थियो, यसमा । तर कम्युनिष्टको एकाधिकारमा कांग्रेसका प्रदेश सभा सदस्यहरु वसीउद्धिन खाँ, बैजनाथ कलबार,अष्टभुजा पाठक लगाएतले धावा बोलको छन् । अब यस्ता कर्महरुमा कम्युनिस्ट एकाधिकार समाप्त भएको छ । बजारका सम्बन्धमा एकाधिकार समाप्त भएको भए एकाधिकारी क्रुद्ध हुन्थ्यो तर नागरिकले तुलनात्मक रुपमा सहज र सस्तो सामान पाउने आशा गर्न सकिन्थ्यो र अरुहरु खुसी हुने ठाउँ रहन्थ्यो । तर यहाँ अवस्था ठिक उल्टो छ । जसको एकाधिकार तोडिएको छ, उ खुसी छ किनभने त्यो उसको निधारमा कालो टिका थियो र अब उसले अर्काको निधारमा पनि सोही टिका देख्न पाएको छ । उता एकाधिकार तोड्नेहरुमा जिम्मेबारी र आदर्शको लेस मात्र पनि आभाष भएको भए, शायद लज्जित छन् । तोडिएको एकाधिकारले सात दशक लामो प्रजातान्त्रिक इतिहास बोकेको अनि लाखौ नेपालीको आस्थाको केन्द्रको रुपमा रहेको एउटा दलको आदर्शको अवसान हुन खोज्दैछ , जुन चिन्ताको विषय हो ।
कांग्रेसको आरोप छ, प्रदेश सभाको कार्यव्यवस्था समितिमा पनि जानकारी नगराई प्रस्ताव ल्याइएको
छ । उसको असहमति प्रक्रियामा भएको देखिन्छ । प्रक्रिया नमिलेको विषय उठाएर जुन अराजकता कांग्रेसका सदस्यहरुले गरे त्यो पार्टीको आदर्श अनुकुलको आचरण पटक्कै होइन । कुकुरले मान्छेलाई टोक्यो भन्दैमा मान्छेले कुकुरलाई टोक्न त जाँदैन । यदि प्रतिक्रिया स्वरुप टोक्न गयो भने त्यसले मानविय गुण गुमाएको हुन्छ । अनि कांग्रेस सदस्यहरुले नेकपाले जवरजस्ती ग¥यो त्यसैले हामी तोडफोडमा उत्रियौं भन्नु कुकुरलाई टोक्न जानु जस्तै हो । जुन कांग्रेसको नैतिकता, आदर्श भित्र त पर्दैन नै एउटा जनप्रतिनिधका रुपमा सार्वजनिक सम्पत्तीको तोडफोड र क्षती कुनै हालतमा सम्यक कुरा होइन । आफुलाई लोकतन्त्रको हिमायति दावी गर्ने कांग्रेसले प्रदेश सभामा देखाएको चरित्रको जति आलोचना गरेपनि पर्याप्त हँदैन । विरोध गर्न पाउनु विपक्षीको अधिकार हो तर विधिको शासनको कुरा गर्ने अनि विधिमा प्रश्न उठाउने कांग्रेसले विरोधका नाममा प्रदेशसभामा गरेको तोडफोडले उसको आदर्शमाथि प्रश्न उठाउने मौका दिएको छ ।
असोज १९ मा बुटवलमा प्रदर्शित व्यवहारले कांग्रेस कार्यकर्तालाई कति चिन्तित र आक्रोषित तुल्याएको छ भन्ने थाहा पाउन नेवि संघकी नेतृ एलिजा ढकालको ट्वीट पढे पुग्छ । उनले घटना लगतै लेखेकी छन्,‘बेथिती, अनियमितताका मुद्दामा आवाज समेत उठाउँदैनन्, प्रदेशको राजधानी सर्ने बित्तिकै कुर्सी उठाएछन् ।’ ढकाल मात्र होइन लोकतन्त्रमा विश्वास राख्ने कसैले पनि त्यो घटनालाई स्वाभाविक लिन सकेको छैन । देशमा भएका ठूला ठूला अनियमितता, भ्रष्टाचारका विषयमा अनि दिनदिनै बढ्दै गएको बलात्कार तथा हिंसाका सम्बन्धमा केही नबोल्ने वा बोलेप नि झिनो स्वरमा बोल्ने कांग्रेसका सभा सदस्यहरु प्रदेश राजधानीको विषयमा त्यो पनि प्रक्रियाको निर्णयमा लाने प्रक्रियाको विषयमा जसरी तोडफोडमा उत्रिय, त्यसले ढकाल जस्ता लाखौं युवामा तिनीहरुका प्रति आक्रोष उत्पन्न गराएको छ ।
नेकपाकी केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीलाई उक्त घटना इतिहासमा गरेका भुलबाट पाठ सिकेर अगाडि बढ्ने भनि राजनैतिक दलहरुले आम नागरिकसंग गरेको संकल्पमा धोका भएको अर्थमा लिएकी छन् । समाजिक सञ्जाल ट्वीटरमा झाँक्रीले भनेकी छन्, ‘प्रदेश ५ को संसदमा जे भयो महाभूल भयो । इतिहासमा जे भएको थियो त्यसमा माफ मागेर अगाडी बढ्ने संकल्पमा धोका भयो ।’ हुन पनि २०६२६३ को आन्दोलन होस् या त्यस पछिका निर्वाचन हरेक पार्टीले विगतमा भएका गल्ती नदोहो¥याउने र आगामी दिनमा जनहितका काममा आफुहरुको सम्पूर्ण ध्यान रहने भनेर दलहरुले कसम खाएका थिए । तर दलहरुले आफुलाई सुधार्ने लक्षण देखाएका छैनन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले, रोष्टम भाँच्ने र संसदीय पद्धति नै मास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपमान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघन गर्ने स्वायत्तता विल्कुल नदिइएको उल्लेख गरेका छन् । शर्माको विचारमा कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरित छ । आफ्नो पार्टीको नीति र संस्कृति विपरितको कार्य गर्ने सांसदहरुलाई कस्तो कारवाही कांग्रेसले गर्छ, त्यो त हेर्न बाँकी छ तर तोडफोडको क्षतिपूर्ति तिनै सांसदबाट असुलउपर गर्नुपर्ने माग जनस्तरबाट उठेको छ ।
हिंसा, आतंक, सार्वजनिक तथा नीजी सम्पत्तिको तोडफोड कांग्रेसको आदर्श होइन । आवेग र उत्तेजनापनि कांग्रेसको आदर्श होइन । र यस्ता आदर्श प्रतिकूल आचरण गर्ने सदस्यलाई कांग्रेसले कारवाही गर्नुपर्छ र आफ्नो आदर्शको क्षयिकरण हुनबाट जोगाउनु पर्छ । यसै त खरायो गतिमा क्षय हुँदै गएको कांग्रेस अझ यस्ता घटनालाई वेवास्ता गरेर छाड्न थाल्यो भने क्षयिकरणको गति चितुवाको जस्तै हुने पक्का छ ।
बुटवल बबन्डर कांग्रेस आदर्शको क्षयिकरण
previous post