दमौली/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा साउन ६ मा नेपाली कांग्रेस तनहुँ, नेपाल विद्यार्थी संघ तथा बीपी विचार समाजले छुट्टा छुट्टै कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली कांग्रेस तनहुँले मंगलबार विहान व्यास नगरपालिका–३, दमौली स्थित स्थित बिपी पार्कमा रहेको बीपीको प्रतिमामा माल्यार्पण, फूल र विरुवा गोडमेल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न ग¥यो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस तनहुँका सभापति जितप्रकाश आलेले बीपीले देखाएको मार्ग अहिले उत्तिकै सान्र्दभिक रहेको उल्लेख गर्दै सोही मार्गमा हिंड्न सके मात्रै कांग्रेस बलियो हुने बताए । नेका तनहुँका निर्बतमान सभापति एवं व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले सत्ताको पछि लाग्दा कांग्रेस कमजोर हुँदै गएको बताए । कार्यक्रममा नेकाँ पूर्व सभापति रघुनाथ पौडेल, नेपाल महिला सङ्घ तनहुँकी अध्यक्ष पवित्रा पौडेल, महासमिति सदस्यहरु प्राडा कृष्णप्रसाद गौतम, सरिता गुरुङ, नेपाली काँग्रेस व्यास नगर सभापति सूर्यचन्द्र हड्खले, सचिव खेमराज पोख्रेल लगायतले विपीको प्रतिमामा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्मृति दिवसकै अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेको नेपाली कांग्रेस तनहुँले जनाएको छ । यसैगरी नेपाली कांग्रेस साहित्य उपसमितिको आयोजनामा “वर्तमान सन्दर्भमा जननायक बीपी कोइराला” शीर्षक खुल्ला कविता प्रतियोगिता समेत सम्पन्न भएको छ । प्रतियोगितामा २१ प्रतियोगी सहभागी भएकामा व्यास–४ की नारायणी अधिकारीले प्रथम स्थान हासिल गर्दै नगद पुरस्कार रु १० हजार तथा प्रमाणपत्र प्राप्त गरिन् । यसैगरी लक्ष्मी पौडेलले द्वितीय स्थान हासिल गर्दै नगद रु पाँच हजार र प्रमाणपत्र प्राप्त गरिन् ।
नेवि संघ भानुभक्तको वृक्षारोपण कार्यक्रम
स्मृति दिवसकै अवसर पारेर नेपाल विद्यार्थी संघ भानुभक्त क्याम्पस बेलचौताराले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कल्कि, गुलमोहर, वेल, कपुर, धुपि, अमला लगायतका विरुवाहरु लगाइएको नेविसंघले जनाएको
छ । बृक्षारोपण अघि नेविसंघ क्याम्पस एकाई सभापति एजिना महतको अध्यक्षतामा आयोजित कार्यक्रममा नेका क्षेत्रिय सभापति चुडामणी खनाल, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दुर्गाकुमार श्रेष्ठ तथा नेविसंघ जिल्ला प्रवक्ता सरिन आलेले बीपीको व्यक्तित्व र कृतित्वबारे बोलेका थिए ।
नेविसंघ जनज्योतिको पुस्तक हस्तान्तरण कार्यक्रम
नेपाली राजनीति र साहित्यका शिखर पुरुष कोइरालाको स्मृति दिवसको अवसर पारेर नेविसंघ जनज्योति क्याम्पस एकाईले क्याम्पस पुस्तकालयलाई पुस्तक हस्तान्तरण गरेको छ । पुस्तकालयलाई बीपीका कृतिहरु तीन घुम्ती, नरेन्द्र दाई, हिटलर र यहुदी लगाएका पुस्तक हस्तान्तरण गरिएको हो ।
बीपी विचार समाजको विचार गोष्ठी
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर बीपी वचार समाज तनहुँले “वर्तमान नेपालको राजनीतिक सन्दर्भ र वीपीको विचार” विषयक एक दिवसीय विचार गोष्ठी सम्पन्न गरेको छ ।
विपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङको प्रमुख आथित्यता एवं समाजका तनहुँ सभापति हरिशरण पण्डितको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा समाजका गण्डकी प्रदेशका पूर्व सचिव परशुराम गिरी, उपसभापति क्या. रेशमबहादुर गुरुङ, सचिव पञ्चबहादुर गुरुङ, सदस्य इन्द्रप्रसाद पौडेल, प्रतापसिंह अधिकारी लगायतले बोल्दै विपीले प्रतिपादन गरेको सिद्धान्त अनुसार काँग्रेस नचलेकोले देश झनै गरिब बनेको र अनिर्णयको बन्दी हुन पुगेको तथा जनताको अवस्थामा झनै नाजुक हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।
